उपेन्द्रलाई बालकोटमा यसरी उडाइयो

उपेन्द्रलाई बालकोटमा यसरी उडाइयो

चुनावदेखि नै फलदायी सहकार्य भएन, अझ अहिले त ‘किन एकतामा जान खोजिस् ?’ भन्दै खोचे थापिँदा जसपाका नेताहरू एमालेसँग हैरान छन् । गत शनिवार केपी ओलीलाई भेट्न बालकोट पुगेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई माधव नेपालको पार्टीसँग एकता गर्न लागेकामा आपत्ति जनाउँदै त्यही कारण सरकारमा नलगिएको बताइयो ।

तर, जसपा नेताहरू भन्छन्, ‘त्यो त बहानामात्रै हो ।’ पुस १० गते १२ बजे प्रचण्डले कांग्रेससँगको सहकार्य तोड्नेबित्तिकै बालकोटमा ‘हलो’, ‘घण्टी’ र ‘छाता’ लाई बोलाइसकिएको थियो । ‘छाता’, अर्थात् जसपाबाट अशोक राई जानुभयो । अशोक पुग्नुअघि नैराष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसम्मका भागबण्डा टुंगिसकेको रहेछ । मात्रै, प्रचण्डलाई प्रधानमन्त्री बनाउने कागजमा दस्तखत गर्न बाँकी थियो । आफू एक्लैले निर्णय गर्न नसक्ने भन्दै अशोक पार्टी बैठकका निम्ति त्यहाँबाट निस्कनुभयो । सुनाउनुभयो, ‘सबैथोक बाँडिसकेका रहेछन्, समर्थनमा सहीमात्रै गराउन बाँकी रहेछ । मैले पार्टीमा निर्णय गरेर आउँछु भनेँ ।’ त्यसपछि उपेन्द्रले हातैले लेखेर राष्ट्रपति भवनान समर्थनको कागज दिनुभयो, त्यही दिन भएको सहमतिभित्र जसपाको भागमा केही थान मन्त्री मात्रै थियो ।

उपराष्ट्रपतिको प्रसंग निकाल्दा पहिल्यै टुंगिसकेको भनियो । मन्त्रिपरिषद् विस्तारअघि पनि ‘राजनीतिक नियुक्तिको कुरा पछि गरौँला, अहिले कम्तीमा तीन मन्त्री दिने’ भनियो । जसपालाई शुरुमा वन र कृषि दिने भनिएकोमा पछि खेलकुदतिर सारियो । तर, पार्टी सरकारमा गएनमात्रै हैन, मन्त्रिपरिषद् विस्तारअघि नाम पठाउनसमेत भनिएन । किन यसरी किनारामा पारियो भन्दै शनिबार उपेन्द्र आफँै बालकोट पुग्दा केपीले भन्नुभयो, ‘माधव नेपालको पार्टीमा के देखेर एकता गर्न जानुभएको ? त्यता एकता गर्ने भए यता सरकारमा किन मन्त्री चाहियो भन्नुहुन्छ ? त्यो वार्ता नगरेको भए अस्ति नै सरकारमा गइसक्नुहुन्थ्यो । त्यही कारणले तपाईंहरूमाथि शंका भयो ।’

उपेन्द्रले आफ्नो पार्टीले कोसँग एकता र सहकार्य गर्ने भन्ने कुरा आफूमै निहित रहेको भन्दै न्यायोचित व्यवहार भए सरकारमा सामेल हुनसक्ने सुनाउनुभयो । ‘माधवजीहरू पनि ठोस प्रस्ताव आओस्, विश्वासको वातावरण बनोस् भन्दै हुनुहुन्छ’, माधव नेपालहरूले एमालेसँग एकताको आधारबारे सुनाएको प्रसंग झिक्दै उपेन्द्रले भन्नुभयो, ‘यी कुरा मान्नुभयो भने उहाँहरू पनि सरकारमा जानुहुन्छ, समर्थन पनि गर्नुहुन्छ । तर, नाम सुन्नै नमान्ने कुराले कहाँबाट राजनीति चल्छ ?’ उपेन्द्रका कुरा केपीले सुनेको नसुन्यै गर्नुभयो । फेरि भन्नुभयो, ‘त्यस्तो वार्ता सार्ता गर्नुपर्दैन !'

उपेन्द्र बालकोट जानुअघि, अर्थात् शुक्रवार भएको जसपा र एकीकृत समाजवादीबीचको एकता वार्तामा दस्तावेज आदानप्रदान भयो । एकता गर्न सकिएन भने मोर्चा बनाउने सहमति भयो । ‘एकता नै गरौं भन्ने छ’, शनिबार उपेन्द्रले ओलीलाई सुनाउनुभयो । भनिन्छ, जसपा र एकीकृत समाजवादीबीचको एकतामा नाम र नेता व्यवस्थापनको व्यवधान छ । वैचारिक कुरा मिलाउनमा झन् जटिलता छ ।
उता, मधेस प्रदेशमा सरकारको आधा कार्यकाल जसपाले जनमत पार्टीलाई दिने सल्लाह छ । जसपाले प्रदेश १ र लुम्बिनीमा एक–एक मन्त्री पनि पाउँदै छ । 

टिप्पणीहरू