कुखुरा रोक्ने आदेशसँग जोडिएको काण्ड
अब आइजिपीले फोन उठाउलान् ?
कुरा ‘कुखुरा’ को थियो, लाइभ भइदियो आइजिपीलाई गरिएको फोन ! यस्तो हुँदा केटौले पाराका गृहमन्त्रीको फोन अब उठाउने कि नउठाउने भन्नेमा पुगेका छन्, नेपाल प्रहरी र सशस्त्रका आइजिपीहरू !
टेलिभिजन प्रस्तोता हुँदा बेला न कुवेला डिएसपी र सिडिओहरूलाई फोन गरेर ‘लाइभ हान्ने’ रवि लामिछानेको बानी नसुध्रिँदा ‘यस्ता पात्रलाई अब कति दिन थेग्न सकिएला’ भनी प्रहरीका धीरजप्रताप सिंह र सशस्त्रका राजु अर्याल एकापसमा गुनासो गर्छन् । त्यसमाथि प्रहरीले १ महिनापहिले नै संसदलाई चिठी लेखेर पक्राउका निम्ति तदारुकता देखाइसक्यो, गृहमन्त्रीले विज्ञप्ति निकालेर प्रहरीको हुर्मत लिइदिए । सशस्त्रका असई थमन बिक हत्याको अभियोगमा सजायँ तोकिएका महोत्तरीका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्नेबारे प्रहरी हेडक्वार्टरबाट संसद सचिवालयलाई चिठी लेखेको पुस ७ गते । संसद अधिवेशन आह्वान भइसकेको अवस्थामा उक्त सदनका सदस्यलाई नियन्त्रणमा लिनका निम्ति अनुमति लिनुपर्छ । संसदका मूली सभामुख हुन्छन् । सभामुख नहुँदा त्यो काम महासचिवले गर्ने हो । सभामुख चयन नहुँदै संसद सचिवालयलाई प्रहरीले चिठी लेख्यो र कोइरीलाई पक्राउ गर्न चाह्यो ।
तर, महासचिव भरतराज गौतमले पक्राउ अनुमति दिएनन्, बरु २६ गते हुने सभामुख निर्वाचनको मतदाता नामावलीमा नाम राखिदिए, गृहमन्त्रीभन्दा ठीक मुन्तिर । अख्तियारमा भ्रष्टाचार मुद्दा विचाराधीन भएका, अर्थात् कसुरदार ठहर नभएका कांग्रेस सांसद टेकबहादुर गुरुङको हकमा ‘निलम्बन’ लेखिदिने गौतमले हत्या अभियोगमा अदालतद्वारा थुनामा राख्नु भनिएका कोइरीलाई अभियुक्त देखेनन् । स्वाभाविक हो, सदनमा यसबारे कुरा उठ्यो । गृहमन्त्रीले जवाफ दिए, ‘पक्रिन्छु’ भन्ने । समात्न खोजेजस्तो देखाउनलाई विज्ञप्ति निकाले, गृहमन्त्रीले प्रहरीलाई विज्ञप्तिमार्फत आदेश दिँदैनन्, दिन मिल्दैन । त्यसमाथि प्रहरीले केही कामै गरेन भन्ने आशयको विज्ञप्ति छ । अहिले सुरक्षाकर्मीहरू हैरान छन्, गृहमन्त्रीका यिनै केटौले कार्यशैलीबाट ।
यो घटनाभन्दा अघि सशस्त्रका आइजिपी राजु अर्याललाई ह्यान्डस् फ्रीमा फोन गरे, गुणचन्द्र विष्टसहित बोइलर कुखुराका व्यापारीलाई सँगै राखेर † नेपाल ह्याचरी संघले भारतीय सीमापारिबाट कुखुरा ल्याउने र नेपालमा बेचबिखन गर्ने कार्यले व्यवसाय संकटमा परेको गुनासो गरेको थियो । रविले ‘अबदेखि बोर्डरबाट एउटा पनि कुखुरा नेपाल ल्याउन नदिनु’ भन्नलाई त्यसरी ‘लाइभ’ फोन गरेका थिए ।
जबकि, नेपालका सीमावर्ती क्षेत्रमा भारततिर सय रूपैयाँ किलोले १०–१२ केजी पाइने कुखुराका भरमा भोज–भतेर चल्ने गर्दछ । त्यही कुखुरालाई यताका व्यवसायीले दुई–अढाई सय रूपैयाँ तिराउँछन् ।
भारतमा निर्वाध रक्सी बेचबिखन नहुँदा कतिपय मदिरा सेवन गर्न नेपाली भूमि छिर्ने गरेका छन् । भारतमा विवाह, ब्रतबन्धजस्ता सामाजिक कार्य खर्चालु हुँदा कतिपय भारतीय परिवार आफ्नो हैसियतअनुसार नेपाल आइरहेका छन् । रविको आदेशअनुसार भारतबाट कुखुरा ल्याउन रोकियो भने नेपालकै विपन्न स्थितिका जनताले चाडपर्व र भोजभतेर चलाउन सक्दैनन् । जसरी अहिले ढुंगा, गिट्टी, बालुवा र क्रसरसम्बन्धी आदेशका कारण विकास निर्माण प्रभावित भएको छ । त्यसमाथि दुई–चार किलो चिनी, कुखुरा ल्याउने सर्वसाधारणलाई नाकामा नियन्त्रणमा लिएर साध्ये पनि चल्दैन ।
टिप्पणीहरू