संसदभित्र माओवादी क्रमशः सोत्तर

संसदभित्र माओवादी क्रमशः सोत्तर

राज्यको ‘टप सिक्स’ भित्र पर्ने शक्तिशाली पद सभामुखको कुर्सीमा बस्ने व्यक्तिको दलीय आवद्धता संविधानले स्वीकार गरेको छैन । जननिर्वाचित सर्वोच्च संस्थाको मुख्य नेताका रूपमा सभामुखको भूमिकालाई स्वतन्त्र बनाउन संविधानमा यस्तो व्यवस्था गरिएको हो । त्यसकारण राजनीतिक दलका तर्फबाट उम्मेदवार बने पनि निर्वाचित भएपछि सभामुखले सम्बन्धित पार्टीको सम्पूर्ण जिम्मेवारी त्याग्ने गर्छन् ।

संविधानको बाध्यकारी प्रावधानले सभामुखको कुर्सीमा पुगेपछि लोकलाजका लागि सार्वजनिकरूपमा दलीय आबद्धता त्यागेको घोषणा गर्ने अभ्यास भएपनि त्यसअनुसारको व्यवहार र कार्यसम्पादन भने देखिंदैन । अहिलेका सभामुख देवराज घिमिरेमाथि दल त्यागेको घोषणा गरेकै दिन संसद सचिवालयमा खोजी–खोजी एमालेनिकट कर्मचारीलाई ‘च्यापेको’ आरोप लागेको छ । 

सत्तारुढ गठबन्धनको साझा उम्मेदवार भएर सभामुख जितेका पुराना कम्युनिष्ट नेता घिमिरेले कार्यभार सम्हालेलगत्तै सचिवालयमा केही कर्मचारी हेरफेर गरेका छन् । त्यसक्रममा माओवादी पृष्ठभूमिका केही कर्मचारीलाई हटाएर एमालेमा आवद्ध भएकाहरूलाई नियुक्ति दिएको बताइन्छ । जानकार स्रोतका अनुसार सचिवालयका उपसचिव सञ्जय दाहाललाई हटाएर उनको ठाउँमा ओमबहादुर कार्कीलाई ल्याइएको छ । अग्नि सापकोटाको पालामा त्यहाँ लगिएका दाहाललाई माओवादी निकट ठानेर एकाएक हटाइएको स्रोत दावी गर्छ । सभामुख घिमिरेको रोजाईमा परेका कार्की भने एमालेको प्रतिबद्ध कार्यकर्ताका रूपमा कर्मचारीमाझ परिचित छन् । 

कार्यभार सम्हालेलगत्तै सभामुखले शाखातिर पनि हात हालेका छन् । प्रवक्ता डा. रोजनाथ पाण्डे सचिवमा बढुवा रिक्त भएर रिक्त प्रशासन शाखामा वरिष्ठताका हिसाबले सुरजकुमार दुरा हकदार थिए । तर, सभामुखको रोजाइमा सुरेन्द्र अर्याल परे । जानकारहरूका अनुसार सिनियरलाई छोडेर जुनियरलाई प्रशासन जिम्मा लगाउनुको कारण पनि दलीय निकटता नै हो । दुरा माओवादी समर्थक भएका कारण सभामुख घिमिरेले नजर अन्तै घुमाउँदा अर्यालले प्रशासन पाएको बताइन्छ । त्यस्तै, प्रवक्ता बनाइएका एकराम गिरीको भने अहिलेसम्म दलीय आवद्धता र समर्थन खुलेको छैन । यसअघि कार्यव्यवस्थामा रहेका उनी अग्नि सापकोटाले पनि विश्वास गरेको इमान्दार कर्मचारीका रूपमा चिनिन्छन् ।

सामान्य नजरले हेर्दा राष्ट्रपतिजस्तै सभामुख पद पनि आलंकारिक लाग्छ । संवैधानिक परिषदमा भाग लिनेबाहेक अरु थप नियुक्तिलगायतमा सभामुखको प्रत्यक्ष भूमिका देखिंदैन पनि । तर, संसद सचिवालयका कर्मचारीको खटनपटनमा भने सभामुख एकलौटी हावी हुने गरेको पाइन्छ । विगतमा एमाले र माओवादीबीच ‘काटाकाट’ को अवस्था हुँदा त्यतिबेलाका सभामुख अग्नि सापकोटाले कर्मचारी सरुवामा एकलौटी गरेको भन्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना रुष्ट भएको चर्चा थियो । 

तर, अहिले माओवादीसङ्ग मिलेर सभामुख बनेका घिमिरेले भटाभट आफूनिकट कर्मचारीलाई फाल्न थालेपछि माओवादीका कर्मचारी नेताहरूले भने मन दुखाएका छन् । ‘उहाँहरू हामीले माओवादीलाई प्रधानमन्त्री बनाइदियौँ भन्नुहुन्छ । त्यसो हो भने हामीले पनि त सभामुख बनाएको होला नि !’, एक कर्मचारी नेताले भने, ‘तर, उहाँले त आउनेबित्तिक्कै हाम्रा साथीहरूलाई कर्नरमा पार्न खोजेको देखियो । यसले राम्रो सन्देश गएको छैन ।’

 

टिप्पणीहरू