बाटोका क्रसर ज्यान लिने एम्बुस
बिपी राजमार्ग हुँदै गुड्ने सवारी–साधन र त्यसमा सवार यात्रु जोखिममा छन् । एम्बुस जस्तै राजमार्गका खानी र क्रसरबाट उत्पादित सामग्रीका कारण सर्वसाधारण मात्रै होइन स्वंय खोला र सडकसमेत संकटमा परेको छ । दलका नेताहरूको पहुँचमा सञ्चालित उद्योगहरूले पु¥याएको क्षति न्यूनीकरणका लागि तत्काल गृहमन्त्री परिवर्तन भएसँगै बन्द उद्योग यही अवस्थामा खुल्ने हो भने अर्काे विध्वंश निम्तिने खतरा छ । ‘बिपी राजमार्गका अधिकांश उद्योग मापदण्डविपरीत, अव्यवस्थित र जोखिमपूर्ण अवस्थामा छन्,’ जिल्ला समन्वय समिति काभ्रेका समन्वय अधिकारी शान्तिराज प्रसाईंले भन्नुभयो, ‘खोला, सडक, सार्वजनिक जग्गा अतिक्रमण गरेर खोलिएका अधिकांश उद्योगले बस्तिसमेत जोखिममा पारेका छन् ।’ प्रसाईं अनुगमन समितिका संयोजकसमेत हुन् । अनुगमन प्रतिवेदनमा उल्लेखित संक्षिप्त विवरणमा राजमार्गमा जोडिएका उद्योग एम्बुसजस्तै रहेको दाबी गरिएको छ । विशेषगरी बिपी राजमार्गसमेत जोखिममा पारेर उद्योगले दादागिरी देखाएको अध्ययन प्रतिवेदनले प्रष्ट पारेको छ ।
खरिद–बिक्री वितरण अनलाइन प्रणालीमार्फत नगरेको, उद्योगमा कार्यरत कर्मचारी, मजदुर तथा मेसिनको बिमा नगरेको, वृक्षरोपण नगरेको, घेराबार नलगाएको, उत्पादित फोहोरजन्य सामग्रीको उचित व्यवस्थापन नगरेको, जसकारण राजमार्ग, नदी तथा खोला र सार्वजनिक स्थल अतिक्रमण भई जोखिममा पारेको, बस्ती तथा पानीका मुहान संकटमा परेको, विद्यालय, स्वास्थ्य संस्थालगायत संरचनामा असर पु¥याएको अनुगमन समितिको निश्कर्ष छ । नमोबुद्ध नगरपालिकाका चार वटा र रोशी गाउँपालिकाका आठ वटा उद्योगले बिपी राजमार्गलाई झनै असुरक्षित बनाउँदै लगेको अनुगमन समितिको निश्कर्ष छ । पूर्वदेखि आउने सवारी साधन तिनै उद्योगका कारण हरेक पटक सडकमा रोकिएका मात्रै छैनन् जोखिममा पनि परेका छन् । केही वर्षअघि मंगलटारमा यसबाट कार पुरिएको थियो । लास्कोट, नार्के, खार्पाचोक, मंगलटारको आसपास हरेक वर्ष सडक अवरोध हुने गरेको छ । नमोबुद्ध नगरपालिका ५ लास्कोटस्थित मनकामना एग्रिगेट उद्योग (क्रसर उद्योग) का सञ्चालक कृष्णकुमार राठी र द्वारिकाप्रसाद ढुंगाना हुन् । जिविसमा उद्योग दर्ता भएर सञ्चालित उक्त उद्योगले अन्य खानीबाट कच्चा पदार्थ ल्याएर क्रसर सञ्चालन गरेको छ । क्रसरबाट उत्पादित खेर जाने सामग्रीका कारण बिपी राजमार्ग पटक पटक अवरोध हुने गरेको अनुगमन समितिको प्रतिवेदनमा उल्लेख छ । वर्षात र हिउँद १२ महिना नै उक्त उद्योगले राजमार्गलाई असर पु¥याएको छ । राजमार्गमा निर्वाध गुड्ने सवारी साधनसमेत जोखिममा छन् । उद्योगले अन्य मापदण्डसमेत पुरा गरेको छैन ।
पशुपति रोडा ढुंगा ग्राभेल खानी प्रालिका सञ्चालक कृष्णकुमार राठी हुन् । नमोबुद्ध ५ लास्कोटमा रहेको उक्त उद्योगको कच्चा पदार्थको श्रोत आफ्नै खानी हो । ब्लु साइन रोडा तथा ढुंगा उद्योगका सञ्चालक मुकुन्द अधिकारी र कुन्साङ लामा हुन् । नमोबुद्ध ६ खरिबोटमा रहेको उक्त उद्योगका कारण खानीभन्दा माथि रहेको बस्ति जोखिममा परेको छ । क्रसर उद्योग दर्ता गरेर खानी अवैध रुपमा सञ्चालन गरेको उक्त उद्योगले पारेको असरबारे स्थानीय मुखसमेत खोल्न सक्दैनन् । रोशीको गौरीशंकर रोडा–ढुंगा उद्योगका सञ्चालक प्रवीण लामालगायत ६ जना छन् । रोशी ८ नार्के खोलामा रहेको उक्त उद्योग रोशी खोलाको किनार र बिपी राजमार्गसँगै जोडिएको छ । क्रसर उद्योग पनि सञ्चालित छ तर गाउँपालिकाको अनुमति छैन । खानीबाट उत्पादित खेर जाने सामग्री जथाभावी राखिएकाले वातावरणमा समेत असर पु¥याएको छ । नाङसाल ढुंगा तथा रोडा उद्योगका सञ्चालक दीपक कुँवर हुन् । उनी शक्तिशाली मानिन्छन् ।
नेपाली कांग्रेसका अधिकांश नेताले शक्तिका आडमा रोशी ८ खार्पाचोकमा उक्त उद्योग सञ्चालन गरिरहेका छन् । राजमार्गको बहावसमेत परिवर्तन गरेर उद्योग सञ्चालन गरिरहेका कुँवरले खानीबाट उत्पादित सामग्री रोशी खोलामा राखेर खोलाको समेत बहाव परिवर्तन गरिरहेका छन् । पटक–पटक राजमार्ग जोखिममा पारेको उद्योगले न धार परिवर्तन गरेको छ न सुरक्षाका कुनै उपाय अपनाएको छ । बरु शक्ति र पहुँचका आधारमा सर्वसाधारणलाई दैनिक एम्बुस थापिरहेको छ । ओम सत्य साई स्टोन क्रसर उद्योगका सञ्चालक राजेन्द्रप्रसाद अर्याल हुन् । रोशी ७ कटुन्जेमा रहेको उक्त उद्योग क्रसरमा दार्त भएर खानीसमेत सञ्चालन गरिरहेको छ । घना बस्ती, नदी र खोला किनार तथा राजमार्ग सँगै रहेको उद्योगले उत्पादित काम नलाग्ने धुलो रोशी खोलामा मिसाउने गरेको छ । मंगल रोडा ढुंगा उद्योगका सञ्चालक पवन लामासहित ४ जना छन् । रोशी ७ डिक्सामा रहेको उद्योगले सार्वजनिक जग्गासमेत मिचेको छ । उत्पादित सामग्रीबाट बिपी राजमार्ग जोखिममा पर्नुका साथै धुलोका कारण वातावरण र सर्वसाधारण थप जोखिममा परेका छन् । पवन लामाका तीन वटा उद्योगमध्ये जय नेपाल सप्लायर्स खानी रोशी ८ नार्के खोलामा रहेको तेश्रो उद्योग हो । माँ चण्डेश्वरी एग्रिगेट स्टोन प्रालि हाल बन्द छ । रोशी ७ भीमखोरीमा दर्ता भएको क्रसर घरेलु तथा साना उद्योग कार्यालयमा ०६३ सालमा दर्ता भएको थियो । पलाञ्चोक भगवती बालुवा तथा ढुंगा उद्योग प्रालिका सञ्चालक सुदन लामा हुन् । रोशी ८ कुम्पा खोल्सी र कार्तिक खोल्सामा सञ्चालित उद्योगले समेत सामान्य मापदण्ड पूरा गरेको छैन ।
नमोबुद्ध नगरपालिकामा मनकामना एग्रिगेट उद्योग(क्रसर उद्योग), पशुपति रोडा ढुंगा ग्राभेल खानी प्राली र ब्लु साइन रोडा तथा ढुंगा उद्योग खतराको सूचीमा छन् भने रोशी गाउँपालिकामा गौरीशंकर रोडा ढुंगा उद्योग, नाङशाल ढुंगा तथा रोडा उद्योग, ओम सत्य साई स्टोन क्रसर उद्योग, मंगल रोडा ढुंगा उद्योग, जय नेपाल सप्लायर्स खानी, माँ चण्डेश्वरी एग्रिगेट स्टोन प्रालि र पलाञ्चोक भगवती बालुवा तथा ढुंगा उद्योग प्रालि एम्बुसजस्ता छन् । हरेक क्षण यी उद्योगले नागरिकको जीवन जोखिममा पारेका छन् । तर क्रसर र खानीका अवैध गतिविधिविरुद्ध कसैले बोल्न सक्दैन ।
– मोतीराम तिमल्सिना
टिप्पणीहरू