राजा बेच्नुपर्छ मन्त्री बन्नलाई ?

राजा बेच्नुपर्छ मन्त्री बन्नलाई ?

गणतन्त्र र संघीय व्यवस्था बलियो बनाउन सहीछाप गरेर राजेन्द्र लिङ्देन मन्त्री खान गएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र उकुसमुकुस र असन्तुष्टि चुलिएको छ । पार्टीको साख बचाउन राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्छ भन्ने जनमत राप्रपामा निर्माण हुन थालेको छ । ‘राप्रपा बचाउन राजेन्द्र लिङ्देनलाई अध्यक्ष बनाएको हो, केही आशा थियो तर उनले कुर्सीको लोभमा पार्टी, धर्म र राजा बेचे । निश्चित रुपमा राजेन्द्रजी कमल थापाभन्दा गएगुज्रिएको सावित भएका छन् । त्यसकारण राष्ट्रपति निर्वाचनमा राप्रपा कतै लाग्न हुन्न, तटस्थ बस्नुपर्छ भन्ने माग र जनमत देशव्यापी तयार भएको छ । राप्रपा बचाउने, पार्टीको मर्यादा जोगाउने एकमात्र उपाय हो यो, राजतन्त्र पक्षधरले गणतन्त्रको प्रतिक राष्ट्रपति छान्दै हिँड्ने होइन,’ राप्रपाका एक पदाधिकारीले भने ।

मूलतः अध्यक्ष लिङ्देनले घोषणापत्रमा लेखाउने बाहेक राजसंस्था, हिन्दूराष्ट्र र संघीयता खारेजीको उच्चारण नै गर्न बिर्सिएका छन् । संसदमा, मन्त्रिपरिषदमा राप्रपाका यी आधारभूत मुद्दा उठाउन, निर्णय गराउन सुझायो भने लिङ्देन रिसाउने गरेको पार्टी स्रोतको भनाइ छ ।एक नेता भन्छन्, ‘सरकार बनाउने बेला संसदमा लिङ्देनले देश र जनताको पक्षमा भिजन देलान् भन्ने अपेक्षा थियो तर शुभकामनाबाहेक केही बोल्न सकेनन् । पार्टी र समर्थकलाई लाजैमर्दो बनाए । अनुहार नै खस्केको थियो, पानीमा रुझेको मुसाजस्तो । राजा, धर्म, प्रदेश खारेजी सबै पोलेर खाए पार्टी अध्यक्षले, कार्यकर्तालाई सरुवाबढुवामा पैसा नखाऊ भनेर हेप्छन्, आरोप लगाउँछन् । आफूचाहिँ मञ्चमा खुट्टा हल्लाउन्न भन्छन् । देश बनाउँछु, कांग्रेस, कम्युनिष्टको विकल्प दिन्छु, नविन राप्रपा बनाउँछु भन्ने मान्छेको बोली यस्तै हुन्छ ?’

राप्रपामा असन्तुष्टि चुलिएको छ । नवनियुक्त मन्त्रीहरूलाई स्वागत गर्ने कार्यक्रममा सम्मानित नेताहरू कोही पनि उपस्थित थिएनन् । लोकेन्द्रबहादुर चन्द, पशुपतिसमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी, हरिबहादुर बस्नेत, नवराज सुवेदी, बुद्धिमान तामाङ, धवलसमशेर राणा, जयन्त चन्द, अर्जुन राई, विक्रम थापा, रामकुमार सुब्बालगायत कोही गएनन् । कोही नगएपछि दीपक बोहरालाई पाँचपटक फोन गरेर आउन अनुरोध गरिएको थियो ।
– उत्तम पाठक

टिप्पणीहरू