त्यो कांग्रेसी श्रोत भनेको को हो ?

त्यो कांग्रेसी श्रोत भनेको को हो ?

कांग्रेस सभापति शेरबहादुर देउवासँगै नेविसंघको राजनीति गरेका पुराना नेता हुन् गोपालजीजंग शाह । त्रिचन्द्र कलेजबाट अंग्रेजी साहित्य र राजनीतिशास्त्रमा स्नातक तह पूरा गरेका उनले सानैदेखि जेल जीवन भोगे र गृहजिल्ला रुकुम फर्किए र आफैँले पढेको स्कुल त्रिभुवन जनता माविमा अंग्रेजी विषयको शिक्षक बने करिब चार वर्ष । ०२९ सालमा खंलगा गाविसको प्रधानपञ्च, ०३५ सालमा जिल्ला पञ्चायत सभापति, ०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्य, ०३९ सालमा सूर्यबहादुर थापा सरकारको श्रम तथा समाजकल्याण सहायकमन्त्री चलाएका उनी रुकुम जिल्लाबाटै मन्त्री हुने पहिलो व्यक्ति हुन् । ०४८ सालको निर्वाचनमा उनीसँग प्रतिस्पर्धामा थिए जनार्दन शर्मा, संयुक्त जनमोर्चाबाट । जनार्दनलाई हराएर निर्वाचित भएका उनी ०५१ मा पुनः चुनाव जितेर उद्योग सहायक र उद्योग राज्यमन्त्री भए, देउवाकै क्याबिनेटमा । ०५६ सालमा एमालेकी तीर्था गौतमसँग हारेयता सांसद हुन सकेका छैनन् । ०६४ मा समानुपातिकको बन्दसूचीमा परे पनि सांसद बन्न पाएनन् । ०७० र ०७४ मा जनार्दनसँग पराजय भोगेका उनै शाहको टाउकोमा यसचोटि जनार्दनलाई जिताउने अभिभारा आइलाग्यो । पूर्वराजा ज्ञानेन्द्र शाहका सैनिक सचिव विवेक शाहदेखि पूर्वनिर्वाचन आयुक्त सुधीर शाहसम्म उनका इष्टमित्र हुन् ।

– हरि गजुरेल

भुइँको टिप्न खोज्दा कांग्रेसले पोल्टाको समेत गुमाएकोमा कत्तिको खुशी हुनुहुन्छ ? 

– लोकतान्त्रिक र वाम गठबन्धन बनाएर हाम्रो पार्टी सभापतिको नेतृत्वमा स्थानीय र संघीय निर्वाचन सम्पन्न भयो । संघको निर्वाचनपछि परिस्थिति १८० डिग्रीमा उल्टियो । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ‘म हुनुपर्छ’ भन्ने आवाज चर्काे ढंगले उठाउन थाल्नुभयो । हामीलाई लागेको थियो कि उहाँहरूबीच प्रशस्त संवाद भइरहेको छ र आपसी सहमतिमै कुरा टुंगिन्छ । राष्ट्रपतिले सरकार निर्माणका लागि दिनुभएको समयसीमा पुस १० भित्र प्रधानमन्त्री, सभामुख र राष्ट्रपतिको कुरा मिल्छ । तर, प्रचण्डजीको अत्यन्त ठूलो महत्वाकांक्षालाई हामीले बुझ्न सकेनौं । जसरी भए पनि गठबन्धन जोगाउनुपथ्र्याे÷ मिलाउनुपथ्र्याे । प्रधानमन्त्री, सभामुख, राष्ट्रपति कांग्रेसले नछाड्ने अडानले प्रचण्डजी संशकित हुनुभयो । समयको गति र परिस्थितिलाई हामीले सही तरिकाले आकलन गर्न सकेनौं ! यसमा हाम्रा साथीहरूको केही कमीकमजोरी भएको छ । 

अहिले तपाइँहरूको पार्टी सभापतिमाथि यस्तै हुस्सुपनका कारण कांग्रेसी वृत्तबाटै हिलो छ्याप्ने काम भइरहेको छ । यो परिस्थिति निर्माण हुनुमा उहाँ मात्र जिम्मेवार हो वा अरुको पनि केही भूमिका छ ? 

– वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा हुन् वा शेखर कोइरालालगायतले बेलैमा गम्भीर ढंगले छलफल गरेर यो परिस्थिति निर्माण हुनबाट रोक्नुपथ्र्याे । प्रचण्डलाई सहमत गराउन र मनाउन सकेको भए आज यसरी चुक्चुकाउनुपर्ने थिएन । शेरबहादुर दाइलाई मात्र हिलो छ्यापेर हामी पानीमाथिको ओभानो हुन मिल्दैन ।

कांग्रेसको यो स्थिति निर्माण हुनुमा शेखर कोइराला र गगन थापा समूहको भूमिका कत्तिको देख्नुहुन्छ ? 

– गगनजी संसदीय दलको चुनाव लड्नुभयो, पराजित हुनुभयो । शेरबहादुर दाइ राजनीतिको करिब–करिब उत्तरार्धमा हुनुहुन्छ । उहाँलाई सर्वसम्मत संसदीय दलको नेता बनाउनु उपयुक्त हुन्थ्यो । प्रचण्ड र शेरबहादुरबीच भएका गम्भीर छलफललाई उहाँहरूले पनि गम्भीर ढंगले लिएर फलोअप गर्नुपथ्र्याे तर बालुवाटारबाट फोन आएन भनेर पन्छिने काम गर्दै पोखराको साहित्य महोत्सवतिर रमाउन पुग्नुभयो ।

संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले आफ्नै सरकार त बनाउन सकेन नै ! प्रचण्डलाई विश्वासको मत दिएर अहिले प्रमुख प्रतिपक्षीको सुविधा पाऊँ भन्दै हारगुहार गर्नु  शर्मनाक भएन र ? 

– विश्वासको मत पाउनुअघि कांग्रेस सभापति र प्रधानमन्त्रीबीच भेटघाट भएको छ । उहाँहरूबीच केही समझदारी भनौं वा कमीकमजोरी र गल्ती महसुस भएको हुन सक्छ । विगतको गल्तीलाई सकारात्मक ढंगले सच्याउने अन्डरस्टयान्डडिङ भएको हुनुपर्छ । विश्वासको मत दिँदैमा प्रमुख प्रतिपक्षी रहेनौं भन्न त नमिल्ला । ठूलो पार्टी भएका नाताले गुण र दोषका आधारमा सहमति वा आलोचना गर्न छुट अवश्य छ ।

अब कांग्रेस पार्टी कसरी अगाडि बढ्छ ? 

– पोहोर मंसिरमा १४औं महाधिवेशन सकिएलगत्तै स्थानीय निर्वाचनको परिचालनतर्फ ध्यान केन्द्रित रह्यो । त्यो लगत्तै प्रदेश र संघीय निर्वाचनतर्फ लाग्यौँ । अब पार्टीलाई कसरी संगठित गरेर अगाडि बढाउने, भ्रातृसंगठनलाई तदर्थ समिति बनाएर महाधिवेशनमार्फत कसरी फुलफिल गर्नेलगायत नीति निर्माणको महाधिवेशन गर्न बाँकी नै छ । 

०४८ मा तपाईले चुनाव हराएका, ०७० र ०७४ मा तपाईंलाई हराएका नै जनार्दनलाई यस पटक जिताउन निर्वाचन परिचालन कमिटीको संयोजक हुनुभयो । यसमा कत्तिको पीडादायक अनुभूति रह्यो ? 

– राजनीतिमा सबै कुरा थाती राखेर भए पनि पार्टीको निर्देशन मान्नैपर्छ । रुकुममा नेपाली कांग्रेसले नै टिकट पाउनुपर्छ भनेका थियौं तर अर्थमन्त्री पनि रहेका र गठबन्धनका कारण टिकट जनार्दनलाई दिने परिस्थिति निर्माण भयो । रुकुम जिल्ला विकास सभापति हरिभक्त ओली, सदस्य गणेश शाहलगायत ८३ जना साथीहरूको द्वन्द्वमा माओवादीबाट हत्या भयो । सयौं कांग्रेसी कार्यकर्ता द्वन्द्वमा पिल्सिएर अपांग छन्, हजारौंको सम्पत्ति लुटिएको छ । हजारौं बालबालिका टुहुरा छन्् । रुकुम सदरमुकाम खलंगास्थित मेरो घरमा बम बिस्फोट गराए । त्यतिखेर म काठमाडौंमा थिएँ । मलाई लाग्छ, मेरो यो जिन्दगी बोनसको हो । पार्टीले भनेपछि विगतका सबै राजनीति आग्रह वा पूर्वाग्रह बिर्सिएर चुनाव परिचालन कमिटीको संयोजक भई सँगसँगै गयौं, भाषण ग¥यौँ र जितायौँ पनि ।

माओवादीको गढ रुकुममा कांग्रेसको बीउ कसरी जोगाइरहनुभएको छ ? 

– ०१५ सालको पहिलो आमनिर्वाचनमा त्यो जिल्लाबाट कांग्रेस उम्मेदवारले जित्नुभएको हो । म पञ्चायतमा लागे पनि उदारवादी पञ्च थिएँ । उदारवादी भयो भनेर तत्कालीन जिल्ला पञ्चायतले मलाई प्रधानपञ्च पदबाट निलम्बन गरेको हो । मैले अदालतबाट सफाइ लिएर पुनः बहाली भएँ । रुकुम जिल्लाका साथीहरूको इच्छा र आकांक्षा प्रजातन्त्रप्रति आस्था भएकाले बहुदल घोषणापश्चात् हामीले महामन्त्री सुशील कोइरालालाई लगेर ०४७ साल असारमा तदर्थ समिति गठन गरी गाउँ बस्तीमा कमिटीहरू गठन ग¥यौं । सो अभियानमा म, तत्कालीन तदर्थ समितिको सभापति माया गिरी, पूर्वसांसद कृष्णप्रसाद गौतमलगायत खटिएका थियौं । सोही सन्दर्भमा मलाई तत्कालीन संयुक्त जनमोर्चाका कार्यकर्ताले रुँघा गाविसमा भौतिक आक्रमण गर्ने धम्कीसहित मोसो, जुत्ताको माला लगाई करिब ५ किमि हिँडाएर भलाक्चाको बैरागीठाटीमा ल्याइपु¥याउँदा यो घटनाबारे थाहा पाएर हाम्रा साथीहरूको बहुमत देखेपछि उनीहरू भागेका हुन् । त्यस्तै, पुर्तिमकाँडाको जंगाल गाउँमा मलाई भौतिक आक्रमण गर्न खोज्दा करिब चार घण्टा घरमा लुकेर ज्यान बचाएको र कतिसम्म यो अवस्थामा बस्ने भनेर आक्रमणकारीसँग वार्ता गरी तपाईं यहाँबाट सदरमुकाम फर्कने हो भने शान्तिपूर्ण ढंगले जान दिन्छाँै नत्र आक्रमण गर्छाैं भन्दै जुत्ताको माला लगाएर लखेटेका थिए । यस्तै, घटनाका कारण कांग्रेसप्रति साथीहरूको आस्था झन् गहिरिँदै गयो र मलाई जित्न पनि सहज भयो । ०५१ को मध्यावधिमा दुवै सिट कांग्रेसले जित्यो । ०५६ सालमा सशस्त्र द्वन्द्वमा गएको माओवादी, राप्रपा र एमालेले संयुक्त गठबन्धन गरेर मलाई ४९६ मतले पराजित गराए । अर्काे सिट कांग्रेसले नै जितेको हो । साथीहरूको हत्या हुँदा पनि हामीले हाम्रो संगठनलाई सक्रिय रूपमा अगाडि बढाइरह्यौं । जसकारण हामीले रुकुममा अहिलेसम्म पनि दोस्रो पार्टीको रूपमा बचाइरहेका छौं ।  

जनार्दनलाई संघीय सांसदमा जिताएबापत तपाईंलाई प्रदेश प्रमुख बनाइने कहीँ–कतै वचनबद्धता भएको थियो ?

– ७७ जिल्लामध्ये रुकुम पश्चिममा मात्र कांग्रेसले स्वच्छ प्रतिस्पर्धा गर्ने निर्णय भएअनुसार केन्द्रमा केन्द्रीय सदस्य मानबहादुर नेपाली र प्रदेश क मा कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकाय, ख मा नेपाली कांग्रेस रुकुमका सभापति प्रेमप्रकाश ओलीज्यूहरूले उम्मेदवारी दिनुभयो । सभापति शेरबहादुर देउवाले बोलाएर फिर्ता लिनुप¥यो र गठबन्धनका उम्मेदवार जनार्दनजीलाई सहयोग गरी जिताउनुहोस् भन्नुभयो । जनार्दन शर्माले पनि ‘दाइ, परिस्थितिवश उम्मेदवार भएँ, सहहृदयका साथ सहयोग गर्नुपर्छ है’ भन्नुभयो । म प्रधानमन्त्रीलाई भेट्न जाँदा उनलाई पनि बोलाउनुभएको रहेछ । उहाँले जनार्दनलाई जिताउन सहयोग गर्नुहोस् भन्नेबाहेक मलाई कहीँ कतैबाट प्रदेश प्रमुख बनाइने भन्ने विषयमा कुराकानी भएको छैन । 

जनार्दनलाई निर्वाचन जिताउनकै लागि तपाईंसहितको समूहले राम्रै रकम लिएको आरोप लागिरहेको छ । यसको खण्डन कसरी गर्नुहुन्छ ? 

– पुस १३ गते गोपालजी कुन दुलोमा, जनार्दनको पैसा क–कसको गोजीमा ? शीर्षकमा पाठकपत्र छापिएको रहेछ । जनार्दन शर्मासँग मैले ३० लाख, केन्द्रीय सदस्य मानबहादुर नेपालीले ३० लाख, कांग्रेस सभापति प्रेमप्रकाश ओलीले २८ लाख ९५ हजार र प्रदेशका महामन्त्री कृष्णबहादुर रोकायाले ९५ हजार, जिल्ला उपसभापति हर्कसिङ खत्री र कांग्रेस कोषाध्यक्ष मोहवीर खड्कासहित ६ वटा स्थानीय तह र ७३ वटै वडामा राम्रै रकम बाँडिएको भनिएको रहेछ । गोपालजी आजसम्म बाँचेको छ त निस्कलंक ढंगले बाँचिरहेको छ । कसैको एक पैसा तल–माथि गरेको छैन । यस सन्दर्भमा जनार्दनलाई सँगै राखेर बोल्न तयार छु । त्यसमा म खरो उत्रन नसके जिल्लाको राजनीतिबाट पूर्ण सन्यास लिन्छु । कांग्रेसी स्रोतको हवाला दिँदै पत्र आएका छन् । को हो त्यो कांग्रेसी ? यस्ता कुरा कहाँबाट, कसरी आयो ? 

तपाई त रुकुम जिल्लाबाटै पहिलोपटक मन्त्री बन्नुभएको व्यक्ति, जिल्लामा गर्नुभएका मुख्य–मुख्य विकास निर्माणका काम के–के हुन् ? 

– संसद्मा तीन पटक आएँ । राष्ट्रिय पञ्चायतमा एक पटकसमेत गरी १५ वर्षको दौरान जिल्लाको विकास निर्माणका लागि प्रशस्त योगदान गरेको छु । सयौं स्कुल खोलें, पचासौं झोलुंगे पुल बनाएँ । सयौं गोरेटो, घोडेटो बाटो बनाएँ । मुख्यचाहिँ ०२६ सालमा रुकुमकोटदेखि मुसिकोट खलंगामा सदरमुकाम सार्ने तत्कालीन सरकारले गरेको निर्णय कार्यान्वयन भएको थिएन । ०२९ साल पुसमा म प्रधानपञ्चमा निर्वाचित भएको तीन महिनापछि तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य ध्रुवविक्रम शाहलगायत साथीहरूको सहयोगमा ३० वैशाख ३ गते सदरमुकाम मुसिकोट सार्ने काम भयो । आज गुल्जार भएको शहर भएको छ, त्यो ठाउँ । ०३७ सालमा जिल्ला पञ्चायत सभापति थिएँ । सदरमुकाममा मुसिकोट खंलगा क्याम्पस स्थापना भयो । ४२ वर्ष पुरानो त्यो क्याम्पसमा आज मास्टर्ससम्म पढाइ हुन्छ । सल्ले गाउँमा एयरपोर्ट निर्माण गरियो । हरेक जिल्ला जिल्लामा एक–एकवटा स्टल विमानस्थल बनाउने तत्कालीन सरकारको नीति थियो । सल्ले भन्ने ठाउँमा ३०औं हजारले जनश्रमदानबाट एयरपोर्ट खन्न थाले । तर, अत्यन्त कडा चट्टान निस्किएका कारण सम्भव भएन र अधुरै रह्यो । अर्काे एयरपोर्ट थियो चौरजारीमा । त्यहाँ पुग्न सदरमुकामबाट  डेढ दिन लाग्थ्यो । तत्कालीन प्रम सूर्यबहादुर थापालाई भेट्न गयौं । एउटै जिल्लामा दुईवटा एयरपोर्ट किन ? भन्ने प्रश्न पनि उठ्यो । ०४० सालमा राजा वीरेन्द्र सुर्खेत सवारी हुँदा यही प्रश्न उठाए । वीरेन्द्र कन्भिन्स नभएका कारण बजेट काटियो । ०४७ सालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री र नीलाम्बर आचार्य पर्यटनमन्त्री हुँदा हामीले कन्भिन्स गराएर पुनर्निर्माण प्रारम्भ भयो । ०५१ सालदेखि यो विमानस्थल पूर्णरूपमा सञ्चालित छ । अहिले चौरजहारीको एयरपोर्ट बन्द भएको दुई वर्ष भइसकेको छ । सल्ले अटुट रूपमा चलिरहेको छ । 

सुधीर शाहदेखि विवेक शाहसम्म तपाईंको नातेदार । उहाँहरूसँग तपाईंको सम्बन्ध कस्तो छ ?  

– विवेक र सुधीर जेठी फूपुका नातिहरू । विवेकका बुवा ध्रुवविक्रम र माइलो भाइका छोरा सुधीर । ०३८ सालमा म प्रधानपञ्च, सभापति हुँदा हाम्रो राजनीति एउटै थियो । ०३८ सालमा ध्रुवविक्रमसँगै चुनाव लडें । भाग्यवश, मैले जितें र रुकुमबाटै पहिलो मन्त्री भएँ । ०४३ सालमा मलाई ध्रुवविक्रमले हराउनुभयो । ०४८ मा उहाँ राप्रपामा जानुभयो, म नेपाली कांग्रेसमा । ०५१ सालमा फेरि मसँग चुनाव लड्नुभयो, मैले हराएँ । राजनीतिमा दाजुभाइ, इष्टमित्र, नातागोता नहुँदो रहेछ ।

इमानको राजनीति गरेर टिक्न कतिको सहज हुँदो रहेछ ? 

– ठकुरीलाई शोषक शासक ठान्छन्, मान्छेहरू । म मध्यम वर्गीय परिवारको मान्छे । शोभान शाही, पृथ्वीनारायण, नरनारायण हाम्रो पुर्खा । १८४६ मा जुम्ला गोर्खा राज्यले जितेपछि डोल्पा, जुफाल, ठूलीभेरी नदीको किनार किनार हुँदै आठबिसकोटको चौरगाउँमा मेरो पुर्खा प्रभुनारायण शाह रहँदै बस्दै आएकोमा तत्कालीन राजाले अत्यन्त ठूलो अन्याय, अत्याचार गरेको अवस्था रहेछ र त्यहाँका मानिस आएर उहाँलाई लगी मुसिकोटको राजालाई हटाएर हाम्रो पुर्खालाई १८९१ देखि राजा बनाएका रहेछन् । त्यहाँका राजा प्रभुनारायणको म छैटौं पुस्ता । म र कुमार खड्ग दुई बाजेका नाति हौं । त्यति धेरै सम्पत्ति, बन्दोबस्ती भएका होइनौँ । इमान र चरित्रको राजनीति गर्दा बाउ बाजेले कमाएका सम्पत्ति यसमा खर्च गरें । तीन वटा सन्तान, जेठो कतार एयरवेजको क्याप्टेन, माइलो सामान्य बिजनेस, कान्छो आर्मीको मेजर, छोरी बेलायत बसेको २० वर्ष भइसक्यो । आनन्दसँग जीवन व्यतित गरिरहेको छु । ७६ वर्षमा लागेको छु । अझै जिल्लाको सेवा गर्ने, साथीहरूको भावनाअनुसार काम गर्ने प्रवल इच्छाशक्ति छ ।
 

टिप्पणीहरू