आफ्नो उद्देश्यमा अविरल उवासंघ–चितवन

आफ्नो उद्देश्यमा अविरल उवासंघ–चितवन

उद्योग वाणिज्य संघ चितवनको ६३ औं स्थापना दिवस हिजो मनाइएको छ । अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा संघको सभाहलमा ६३ वटै दीप प्रज्वलन गरी कार्यक्रम समुद्घाटन गरिएको थियो । पूर्वअध्यक्ष केएल भूषण कार्यक्रमको प्रमुख अतिथि थिए । 

सो अवसरमा संघका पूर्वअध्यक्ष लगायतका अग्रज उद्योग–व्यवसायीहरु, वर्तमान कार्यसमितिका पदाधिकारी सदस्यहरु, वस्तुगत संघका पदाधिकारी, कर्मचारीलगायत भेला भएर संघ स्थापनाको उद्देश्य, यसको भूमिका, प्राप्त उपलब्धि, वर्तमान अवस्था र भावी कार्यदिशाबारे समीक्षात्मक बहस गरिएको थियो । 

उद्योगी, व्यवसायीको हकहित साथै यहाँको आर्थिक, सामाजिक एवम् भौतिक पूर्वाधारहरुको विकासका लागि २०१६ सालमा नारायणगढ व्यापार संघको रुपमा एउटा धर्मशालामा संस्था स्थापना गरिएको थियो । अहिले संस्थाको आफ्नै ठूलो भवन छ, जिल्लाभरिका उद्योगी, व्यवसायीहरु समेटिएका छन् । उद्योग, व्यवसायको प्रवर्धन र आर्थिक, सामाजिक, सांस्कृतिक एवम् चितवनको समग्र विकासमा निजीक्षेत्रको तर्फबाट संघले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । देशभरिका उवासंघहरुमा चितवनको उपस्थिति सधैं सशक्त रहने गरेको छ । 

संघलाई आजको यो अवस्थासम्म ल्याइपुर्याउन अग्रज एवम् पूर्वअध्यक्षहरुको ठूलो योगदान रहेको सम्झँदै उवासंघ चितवनका अध्यक्ष श्रेष्ठले भने, ‘हामीलाई यसको सदस्य र नेतृत्व हुनुमा गर्व छ ।’ हिजोको मिसन, भिजन, प्लानिङ र गोल अनुसार नै आफूहरु अगाडि बढिरहेको उनले बताए । 

कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा जस्ता आर्थिक क्षेत्रहरुको विकासमा संघ निरन्तर लागिपरेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘उद्योगी, व्यवसायीहरुको हकहितको कुरा होस् वा आर्थिक, सामाजिक, भौतिक विकासका खाका, नीतिगत सुधार, कर लगायत हरेक क्षेत्रमा हाम्रो महत्वपूर्ण उपस्थिति रहेको छ ।’ समयको आवश्यकता अनुसार अब संघलाई लर्निङ सेन्टरको रुपमा पनि विकास गरिने उनले बताए ।

पछिल्लो समय देखिएको आर्थिक मन्दी, मौद्रिक नीति, नगद तरलताको अभावजस्ता समस्या समाधानका लागि पनि सरकार र सरोकारवाला निकायहरुसँग संघको तर्फबाट जोडदार पहल भइरहेको कार्यक्रममा जानकारी गराइएको थियो । त्यसका लागि चरणबद्ध रुपमा आन्दोलित संघका प्रतिनिधिहरु हालै काठमाडौं गई प्रधानमन्त्री प्रचण्डलाई नै भेटेर आएका छन् । सो भेटमा उनीहरुले भरतपुरमा सडक विस्तारका क्रममा घरहरु भत्काउँदा व्यापारी–व्यवसायीहरुलाई मरेको मर्काबारे पनि प्रधानमन्त्रीसामु कुरा राखेका थिए । 

स्थापना दिवसको अवसरमा संघमा हिजो आयोजित कार्यक्रममा बजारका घरहरु भत्काइँदा मारमा परेका व्यवसायीहरुलाई एक महिनाको भएपनि घरभाडामा छुटको लागि पहल गरिदिन फेन्सी व्यवसायी संघको तर्फबाट अध्यक्ष शंकरप्रसाद घिमिरेले उवासंघका पदाधिकारीहरुलाई आग्रह गरे । 

बैंकको ज्यादति र आत्महत्याको कदम चाल्नसमेत उद्योगी, व्यवसायीहरु बाध्य हुनुपरेको अहिलेको डरलाग्दो अवस्थामा थप सम्भावित दुर्घटना हुन नदिन छिटोभन्दा छिटो समस्या समाधान गर्नुपर्ने उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य समेत रहेका उवासंघ चितवनका पूर्वअध्यक्ष सहनलाल प्रधान बताउँछन् । यस्ता कुरामा पहिल्यैदेखि उवासंघको भूमिका जहिले पनि सशक्त रहँदै आएको चर्चा गर्दै पूर्वअध्यक्ष प्रचण्डलाल प्रधानले भने, ‘अब पनि कसैले डगमगाउन नसकोस् ।’

संघका कार्यकारी निर्देशक नील केसीद्वारा सञ्चालित कार्यक्रममा निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, पूर्वअध्यक्षहरु रमेशकुमार पिया, उदयकुमार श्रेष्ठ, उत्तमलाल चुके, कल्याण जोशी, संघका वरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठ, प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदी, द्वितीय उपाध्यक्ष राजेन्द्र वली, तृतीय उपाध्यक्ष शिरिष पन्त, कार्यक्रम अधिकृत गणेश सुवेदी लगायतका कर्मचारी एवम् संघ अन्तर्गतको विभिन्न समिति उपसमितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । स्वर्गीय अध्यक्षहरु हिरालाल प्रधान, सूर्यनारायण पिया, कृष्णबन्धु पिया, श्रीनारायण पिया र चन्द्रलाल पियाको तस्बीर पनि राखेर सम्झना अनि सम्मान गरिएको थियो । 

सो अवसरमा उपस्थित उद्योगी–व्यवसायी एवम् संघका पदाधिकारी–कर्मचारीहरुका लागि नेशनल सिटी हस्पिटलको संयोजनमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम समेत आयोजना गरिएको थियो । 

गत वर्ष कोभिडका कारण बीचमै रोकिएको चितवन महोत्सव वर्तमान कार्यसमितिले भर्खरै सफलतापूर्वक सम्पन्न गरिसकेको छ । स्थापना दिवसकै अवसरमा आयोजित कार्यक्रममा चितवन महोत्सवका सहभागीहरु तीनजनालाई टिकट नम्बरको आधारमा लक्की ड्रद्वारा प्रथम, द्वितीय र तृतीय छनौट गरिएको थियो । 

टिप्पणीहरू