पूर्वमा खस्कँदो कमरेडी प्रभाव
झापा आन्दोलनको जगमा उभिएको नेकपा (एमाले) को प्रभाव क्षेत्र मानिन्छ, पूर्वी नेपाल । २०४६ को परिवर्तनपछि पहिलो संसदीय चुनावमा पूर्वबाट अप्रत्यासित जित हात पारेको एमाले त्यसयता त्यस क्षेत्रमा प्रभावशाली देखिँदै आएको छ । मालेकालको रापतापले राष्ट्रिय राजनीतिमा यसरी जरा गाडेको सो पार्टीको आज पनि झापा, मोरङलगायत कोशी प्रदेशका पहाडी जिल्लामा पकड गुमेको छैन ।
पूर्वमा कुनै बेला प्रभाव जमाएको ऊ पछिल्लो समय भने नेताहरूको गलत कार्यशैलीका कारण बद्नाम भइरहेको छ । लीलावल्लभ अधिकारी र रूपनारायण श्रेष्ठको काण्ड सेलाउन नपाउँदै अर्का नेता ऋषिकेश पोखरेल पनि ठगी प्रकरणमा जोडिएका छन् । श्रीमतीमाथि सहकारी ठगीको बात लागेसँगै नैतिक संकटमा परेका उनी स्वकीय सचिव अनिलकुमार पोखरेलको ठगी धन्दा बाहिरिएपछि झनै बदनाम छन् ।
एमबिबिएसमा नाम निकालिदिने प्रलोभनमा पारेर ३८ लाख दम्पच पार्ने प्रयास गरेको विषय बाहिर आएपछि पिएबाट पन्छाइएका अनिलकुमार एमाले मोरङका नेता पनि हुन् । बताइएअनुसार दीक्षा चौधरी नामक युवतीलाई एमबिबिएसको प्रवेश परीक्षामा पास गराइदिने भन्दै निजका बाबु बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रूपैयाँ लिएका थिए । तर, छोरीको नाम ननिस्किएपछि पैसा फिर्ता माग्न जाँदा ‘माथिको पहुँच’ देखाएर उल्टै ५० लाख ऋण लिएको लिखत गराई चौधरीलाई डस्ने योजना बनाए ।
प्रहरी प्रशासनसँग हारगुहार माग्दासमेत सहारा नपाएपछि बौवालाल अदालत पुगे । उच्च अदालत विराटनगरको आदेशले अनिलकुमारलाई पक्राउ गरी प्रहरीले यो प्रकरणको अनुसन्धान गरिरहेको छ । संसद्को सार्वजनिक लेखा समितिका सभापति पोखरेलले त्यसपछि बल्ल नैतिकताको हवाला दिँदै स्वकीय सचिव पोखरेललाई पदबाट हटाएका हुन् ।
जानकारहरूका अनुसार अनिलको गतिविधिबारे ऋषिकेशलाई जानकारी हुँदै नभएको होइन । अनिल यसअघि आधा दर्जन बढी लफडामा परिसकेका पात्र हुन् । चार वर्षअघि एउटा यस्तै लेनदेन विवादमा दुबै पक्षलाई सँगै राखेर ऋषिकेशले नै मिलाइदिएका थिए । तर, स्वकीय सचिवको आनीबानी थाहा नभएको उनको दावी रहँदै आएको छ ।
ऋषिकेशको यस्तो दावी उच्च अदालत विराटनगरको परमादेशसँगै स्वतः खण्डित भएको छ । अदालतले गत भदौमै अनिलमाथि ठगीमा अनुसन्धान गर्न भनेको थियो । त्यसपछि तत्काल पदबाट हटाउनुपर्नेमा त्यसो नगरी उल्टै काखी च्याप्दै पिएको जिम्मेवारीमा निरन्तरता दिइएबाट पनि धेरै कुरा अनुमान लगाउन सकिन्छ ।
यता, सहकारी ठगीमा बेकार मेरो नाम जोडिएको भन्दै आएका सभापति पोखरेलमाथि प्रहरीको फरार सूचीमा रहँदासम्म पत्नी अञ्जला कोइरालालाई लुकाएको आरोप थियो । मोरङको धनपालथान गाउँपालिका– ४ स्थित श्री उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा सेटिङमा उम्काइएको भनिएकी उनी केही दिनअघि धरौटीमा रिहा भइसकेकी छन् ।
पक्राउ पुर्जी जारी भएपछि लामो समय बेपत्ता भएकी उनी थुनछेक बहसको दिन अदालतमा हाजिर भएर सोही दिन धरौटीमा छुटेकाले सेटिङको आशंका गरिएको हो । सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारले गरेको फट्याइँका कारण लेखा समितिका सभापति पोखरेल र निजकी धर्मपत्नी अञ्जलालाई ‘नखाएको विष लागेको’ एमालेपंक्तिको दावी छ ।
तर, रौनियारलाई सहकारी सञ्चालन गर्न सघाउने र अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने वातावरण तयार गर्ने काम ‘पावर र पहुँच’ दुबै भएका पोखरेलले नै गरेको दावी गर्नेहरू पनि उत्तिकै छन् । रौनियारले चुनावका बेला पोखरेललाई १० देखि १५ लाख नगदै सहयोग गरेको चर्चा गर्नेहरू भन्छन्, ‘उनी आफैँले सहकारीबाट पैसा निकालेर खाएको चैं होइन ।’
सभापतिपत्नी अञ्जला सो सहकारीको उपाध्यक्ष पदमा दुई कार्यकाल थिइन् । सञ्चालक समितिमा बसेकाले वैधानिक दायित्व रहने हुँदा कानुनतः उम्कने स्थिति छैन । मुद्दाको अन्तिम किनारा लाग्दा अदालतले यसबारे थप व्याख्या गरिदिने आशा पीडितहरूको छ ।
यता, अर्का काण्डधारी अखिल उपाध्यक्षसमेत भइसकेका रूपनारायणलाई मोरङबाट सारेर ललितपुरमा पार्टी संगठनको जिम्मेवारी दिइएको छ ।
टिप्पणीहरू