क्लवको जग्गा व्यक्तिलाई सुटुक्क पास गराउने मालपोतका हाकिम भ्रष्टाचारमा तानिए

क्लवको जग्गा व्यक्तिलाई सुटुक्क पास गराउने मालपोतका हाकिम भ्रष्टाचारमा तानिए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय पर्साका तत्कालिन कार्यालय प्रमुख कमोद तिवारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

युवा स्पोर्टस क्लबको १ कट्ठा ५ धुर जग्गा व्यक्तिको नाममा गैरकानूनी रुपमा दर्ता गरेको आरोपमा तिवारीसँगै नायब सुब्बा शम्भु साह रौनियार र खरिदार शिवप्रसाद साह तेलीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

त्यस्तै, वीरगञ्ज महानगरपालिका–३१ का शेषसफि अहमद र शेखसाजिद एकबाल भ्रष्टाचारको मतियार बनेको भन्दै उनीहरुलाई पनि अख्तियारले मुद्दा चलाएको छ । शेषसफी अहमदले उक्त जग्गा आफ्नो नाममा लैजाने क्रममा गलत श्रेस्ता कायम गरेको पाइएको अख्तियारले जनाएको छ ।

उक्त जग्गा गैरकानूनी तरिकाले व्यक्तिको नाममा श्रेस्ता कायम गरेको भन्ने उजुरीको आधारमा अख्तियारले अनुसन्धान गर्दा भ्रष्टाचार गरेको पाइएकोले आरोपित ६ जनाविरुद्ध मुद्दा चलाइएको अख्तियारले जानकारी दिएको छ ।

टिप्पणीहरू