भाइरल मात्रै भएर सधैं, सबैतिर भ्याइएला ?
‘नेपाली नागरिकता’को नयाँ प्रमाण–पत्र बोकेर हिँडिरहेका ‘भाइरल म्यान’ रवि लामिछानेप्रति अनेकौं प्रश्न जन्मिएका छन् । तर उनी सुशासन र नैतिकताको प्रश्नबाट उम्किरहेका छन् । उनी लामिछानेतन्त्र कायमै राख्न चाहन्थे । कानुनी राजमा त्यो सम्भव भएन । नेपाली राजनीतिमा नयाँ ‘फण्डा’ प्रयोग गर्दागर्दै लामिछाने ‘सर्वोच्च कानुन’को कसीमा बाँधिए । सांसद पद गयो । ३३ दिने गृहमन्त्रीको कुर्सीबाट निस्किए ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले पुरानो नागरिकता कायम नरहेको आदेश दिएपछि अब राहदानीबारे अनुसन्धान गर्न बाटो खुलेको छ । राहदानी ऐन, २०७६ को दफा २१(क)मा झुटा विवरण दिई राहदानी लिएमा कसुर गरेको मानिने व्यवस्था छ । त्यसको पुष्टि भएमा २ देखि ५ लाख जरिवाना, १ देखि ३ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । लामिछानेलाई यो कानुन आकर्षित हुने देखिन्छ । उनी सकेसम्म त्यो कानुन छल्न लागिपरेका छन् । फेरि गृह नै ताकेका छन् । सके आफू, नसके आफ्नो पार्टीबाट त्यहाँ पठाउन चाहन्छन् ।
लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गएलगत्तै फेरि सभापति पदमा फर्किए । लाग्छ– ‘रास्वपा’ पार्टी होइन, एउटा ‘क्लब’ हो । त्यसका सदस्यहरू निर्वाचन आयोगको नीति–विधि मान्दैनन् । उनीहरूको बेग्लै विधान छ । विधिको शासन र सुशासनको कुरा गर्ने लामिछानेले सर्वोच्च अदालतले गतिलो पाठ सिकाएको दुई दिन नबित्दै पार्टी विधान उल्लंघन गरेका छन् ।
विधानअनुसार रास्वपाको पदाधिकारी हुन कम्तीमा एक वर्ष साधारण सदस्य हुनुपर्ने कुरालाई लामिछानेले लत्याएका छन् । भो..! त्यतातिर धेरै नबोलौँ, त्यो रवि लामिछाने अमेरिकी नागरिक हुँदाताका खोलेको उनकै पार्टी हो । तर उनले नेपाली नागरिकता पुनः प्राप्ति गरेलगत्तै किन गृह प्रशासन ताकेका छन् ? यो मुख्य चासोको विषय हो । उनी सत्ता र शक्तिको आडमा जे गर्दा पनि उन्मुक्ति पाउँछु भन्ने पुरानै ‘ह्याङ’मा बाँचिरहेका छन् । यो उनको सबैभन्दा ठूलो कमजोरी हो ।
सांसद, मन्त्री, पार्टी सभापति र नागरिकताको अन्यौल सल्टिए पनि राहदानी दुरूपयोगको विषय बाँकी नै छ । उनी दोहोरो राहदानी लिएको कसुरबाट भाग्न सक्दैनन् । अमेरिकी राहदानी बोकिरहेका बेला नेपाली राहदानी पनि सँगै बोकेका लामिछाने गम्भीर फौजदारी अपराधबाट लुक्न सक्दैनन् । त्यसकारण पनि उनी फेरि गृहमन्त्रालय फर्किनुहुँदैन । त्यसो त भीडले जन्माएको रवि लामिछानेलाई कानुनले तह लगाएको छ । उनी आजपनि आफूलाई समर्थकको आडमा कानुनभन्दा माथि र नैतिकताभन्दा परै ठान्छन् । यो उनको सबैभन्दा ठूलो महाभ्रम हो । रवि लामिछानेबारे यसो भनौँ– अब उनीसँग एकमुठ्ठी पनि नैतिकता छैन । उनी अनैतिक भइसके । जुन दिन आफूमाथि राज्य प्रशासनले छानविन गरिरहेको थियो, त्यही दिन गृह मन्त्रालय रोजे । गृह प्रशासन रोजेर ‘स्वार्थको द्वन्द्व’ निम्त्याए । प्रमुख जिल्ला अधिकारीदेखि न्यायाधिवक्ता स्वाभाविक रूपले उनीसँगै लाग्थे, अन्ततः लगाए पनि ।
रवि प्रकरणमा यी पात्र कुनैपनि कोणबाट राजनीतिको रंग सफा गर्छु भन्दै हिँडिरहेका ‘नयाँ रवि लामिछाने’ देखिएनन् । उनी पुरानै बोतलका नयाँ रक्सी मात्रै रहेछन् । लामिछाने कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजस्तै देखिए । उनले गृहमन्त्री पाउनुमा सबैभन्दा ठूलो हात ओली र प्रधानमन्त्री प्रचण्डको छ । सत्ता स्वार्थमा रुमल्लिएका ओली–प्रचण्डले सही समयको उपयोग गरेर लामिछानेको भागमा शक्तिशाली मन्त्रालय सुम्पे । नागरिकता र राहदानी विवाद चलिरहेकै बखत एउटा अनैतिक पात्रलाई अदालत, मन्त्रालय, प्रशासनसँग मनपरी गर्न दिने यिनै दुई पात्र हुन् । ओली र प्रचण्डले गरिरहेको फोहोरी राजनीति सफा गर्न भन्दै चिच्याएका लामिछाने आफैँ फोहोर दलेर फर्किएका छन् । उनी यतिसम्म गिरेका छन् कि दोहोरो राहदानीबारे अनुसन्धान भइरहेका बेला फेरि गृहमन्त्रालय माग्दै प्रधानमन्त्री निवास बालुवाटार आज दोस्रोचोटि पुगे ।
आइतबार बेलुकी बालुवाटार गएका लामिछानेले ‘लाजघिन’ पचाएर फेरि त्यही मन्त्रालय खोजे । प्रधानमन्त्री दाहालले अनुहार अमिलो बनाएपनि लामिछानेको समर्थमा एमाले अध्यक्ष ओली उत्रिएका छन् । निर्वाचनताका नेपाली कांग्रेस र शेरबहादुर देउवालाई प्रचण्डीकरण भएको आरोप लगाउँदै हिँडिरहेका एमाले र ओली आजकल रविकरण भइरहेको छ । एमाले अध्यक्ष ओली मात्रै होइन, त्यो पार्टीका महासचिव शंकर पोखरेल पनि आँखामा कालो पट्टी बाँधेर लामिछानेको बचाउमा लागेका छन् । मानौँ– यी रवि लामिछाने भनेका एमालेका गोकुल बाँस्कोटा, महेश बस्नेत वा भानुभक्त ढकालको नयाँ रूप नै हुन् ।
‘भाइरल म्यान’ रवि लामिछाने र उर्लिँदो भीडको सहानुभूति बटुलने नाउँमा केपी शर्मा ओली सबैभन्दा अघि देखिएका छन् । गृह प्रशासन लामिछानेको काँधमा राखेर ‘पृथ्वीबहादुर शाह’जस्ता कैयौं पात्र ताकिरहेका ओली बढी नै भावनामा डुबिरहेका छन् । ओलीतन्त्र, दाहालतन्त्र र लामिछानेतन्त्र सत्ता र शक्तिको आडमा जे पनि गर्न सकिन्छ भन्ने ध्याउन्नमा छन् । विधिको शासन र कानुनी राज मान्नेहरूका लागि यो बिल्कुल स्वीकार्य छैन ।
सत्तासीन दलका नाइकेहरू ओली, प्रचण्ड र लामिछानेसँग पछिल्लो सन्दर्भ हेर्दा एक इञ्च पनि सुशासन र नैतिकता देखिएन । उनीहरूले कहिँ न कहीँ स्वार्थको द्वन्द्व निम्त्याइरहेका छन् । सत्ता स्वार्थमा चुर्लुम्मै डुबेकाहरू नेपाली नागरिकलाई अनेकौं तमाशा देखाउँदै ‘हामी तीन भाइ’ भन्दै हिँडिरहेका छन् । राजनीति यस्तै हो, यात्रा चलिरहोस्, शुभयात्रा ‘तीन भाइ’...!
– सुहन श्रेष्ठ
टिप्पणीहरू