परराष्ट्रतिर यस्तो पनि सुन्न पाइन्छ

परराष्ट्रतिर यस्तो पनि सुन्न पाइन्छ

धुन्धुकारीहरूको ध्यान नै कस्तो हुन्छ भने, चाहिनेभन्दा नचाहिने कुरामा मन ज्यादा जाने ! अहिले राजदूत भएर जापान गएका सहसचिव दुर्गाबहादुर सुवेदी (दुबसु) ले पहिला बेलायतमा राजदूत हुँदा त्यस्तो गरेका रहेछन् ।

आयरल्याण्डको समेत कार्यभार सम्हालेका उनले त्यहाँका राष्ट्रपति माइकल डि हिगिञ्सलाई ‘तिम्रो कविता नेपालीमा अनुवाद गरिदिन्छु’ भन्दै फकाए । एउटा किताबजस्तो पनि निकालेर फोटो खिचाए । एउटा सार्वभौम देशको कर्मचारीले राजदूतजस्तो गरिमामय जिम्मेवारी पाएर अर्काको देशमा जाँदा त्यसरी किताब लेखिदिन्छु भन्नु वा कुनै न कुनै बहानामा चाकडी गर्नुलाई कूटनीतिक मर्यादाविपरितको कार्य मानिन्छ । 

अर्कातिर, दिल्ली र चीनस्थित नेपाली दूतावासमा राजदूतपछिको डिसिएम पद रिक्त भएको छ । सहसचिवमध्येबाट पठाइनुपर्ने हो । अहिले परराष्ट्र मन्त्रालयमा त्यो जिम्मेवारी वहन गर्नेहरूको अभाव छ । तर, केही समयमै हुने बढुवा र लिखित परीक्षाबाट पदपूर्ति भएपछि तीमध्येबाट छानेर पठाइने भएको छ । त्यसरी दिल्ली र बेइजिङका सम्भावित डिसिएमहरूमा दिलिपकुमार पौडेल, खड्ग दाहाल र प्रकाशमणि पौडेलमध्येका हुने छन् । यीबाहेक लिखित परीक्षा उत्तीर्ण गरेर बाहिरका दुई र परराष्ट्रकै एक उपसचिव सहसचिव हुँदैछन् । तीमध्ये पनि जाने सम्भावना छ । 

उता, उनै दुबसुका भाइ चक्रबहादुर सुवेदीले अन्ततः बढुवाबिरुद्ध दायर गरेको रिटउपर सर्वोच्चबाट आफू अनुकूलको आदेश फुत्काएरै छाडेका छन् । अब उनीसहित १२ जनाको बढुवा हुने गरी सामान्य प्रशासन मन्त्रालयले नयाँ दरबन्दी मिलाउनुपर्ने हुन्छ । पहिला लोकसेवाले ११ जनाको लागि मात्रै सूचना निकालेको थियो । त्यही अदालतले थारुहरूको क्लष्टर पुगेन भनेर सेना, प्रहरी सबैको भर्ना रोकिदिएको छ ।
 

टिप्पणीहरू