खेल हो, हुन्छ नै खतरा
एकातिर मतभारको स्थिति जटिल छ, अर्कातिर राजनीतिक समझदारीहरू जस्ताको तस्तै पालना होला/नहोला, संशय जारी छ । यसर्थ, बहालवाला राष्ट्रपति आफैँ भावी राष्ट्रपतिका निम्ति नेताहरूको नाडी छाम्दै हिँड्न थाल्नुभएको छ ।
माघ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारी अचानक भक्तपुर, कमलविनायकस्थित घरमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलाई भेट्न जानुको कारण रहेछ, आगामी राष्ट्रपति निर्वाचन । नेमकिपाका नेताहरूले गरेको चर्चाअनुसार, बिजुक्छे पत्नी शोभा प्रधानको क्यान्सर रोगका कारण निधन हुँदा समवेदना व्यक्त गर्न प्रायः राजनीतिक दलका नेता र अन्य क्षेत्रका मानिसहरू पुग्दा राष्ट्रपति जानुभएन । तर, अहिले उहाँको रुचीका उम्मेदवार (सार्वजनिक गरिएको छैन )। लाई राष्ट्रपति बनाउने र, नेमकिपाले विपक्षी दलको हैसियत मागेको पृष्ठभूमिबीच त्यहाँ पुग्नुभएको ती नेताले निकटस्थहरूसँग भन्ने गरेका छन् ।
राष्ट्रपति चयनका क्रममा संघीय र प्रदेश सांसदहरू मतदाता हुन्छन् । त्यसक्रममा संघीय सांसद र प्रदेश सांसदका हकमा फरक–फरक मतभार तय गरिएको छ । विद्यमान मतभारका आधारमा एउटा उम्मेदवारले एक्लै ५० प्रतिशत मत काट्न मुश्किल छ । त्यसमाथि गोप्य मतदान हुने कारण सत्ता गठबन्धनभित्रैका सांसदहरूले अरु उम्मेदवारलाई मतदान गरिदिए भने एमालेले उठाउने उम्मेदवारलाई अप्ठेरो पर्ने छ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति बनाउने कुरामा राष्ट्रिय सहमति जुटाउन प्रयास गरिने भनेपछि एमाले सशंकित भएको छ ।
विश्वासको मत लिने नाममा कांग्रेससँग प्रचण्डको निकटता बढेको र उहाँ आफैँले समीकरण बद्लिएको अवस्था भयो भनेकाले सबैसँग कुरा गर्ने एमालेको नीति छ । पुस १० मै सबै हिसाव किताव सकिएको भनेर एमाले अध्यक्ष केपी ओलीले भन्नु त भयो । तर, उहाँ आफैँ त्यो टिक्नेमा विश्वस्त हुनुहुन्न । त्यसमाथि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ‘राष्ट्रपति हामीले प्रस्ताव गरेको व्यक्ति नै बन्छ’ भन्नुले पनि शंकाको सुविधा दिएको छ । विश्वप्रकाशले ‘मेरो गोरुको बाह्रै टक्का’ को शैलीमा आफ्नै पार्टीको उम्मेदवार हुन्छ भनेका छैनन् । त्यसैले राजनीतकबृत्तमा नयाँ घटनाको विकास भइरहेको बुझ्न सकिन्छ । कूल ५६ हजार मतभार हुँदा करिब २२ हजार सेरोफेरो अहिलेको समीकरणसँग छ । ४ हजारको सेरोफेरोमा अरुको तानतुन गर्दा बल्ल ५० प्रतिशत मत कट्ने हो । त्यसमाथि माओवादीले एमालेको प्रतिस्पर्धीलाई गुपचुप सहयोग गरिदियो भने त्यतै बहुमत पुग्छ । भनिन्छ, त्यस्तो सम्भावना प्रवल छ ।
ओलीका अप्ठ्यारा
जसैगरी पनि राष्ट्रपति आफ्नो मान्छेलाई बनाउनुपर्ने र त्यसपछि धारा ७६ को उपधारा ३ हैन, २ बमोजिम नै नयाँ प्रधानमन्त्रीको आह्वान गरिदिने राष्ट्रपति केपी ओलीको आवश्यकता हो । त्यसका लागि सीता पौडेल, डोरमणि पौडेल, गुरु बराल, सत्यनारायण मण्डलजस्ता नामहरू ओलीका खल्तीमा छन् । यस प्रयोजनका लागि माओवादी नेता वर्षमान पुनको सक्रियता खड्किएको छ । चीनमा उपचार पूरा नहुँदै नेपाल फर्किएर प्रचण्ड–ओलीको मिलाप गराएका वर्षमान कहिले ललितपुर, धापाखेलस्थित सुमेरु अस्पताल त कहिले थप उपचारका निम्ति चीन जाने तयारीमा छन् । यसबीच पार्टी र सरकारलाई राम्रोसँग चलाएर जाऔँ भनी जनार्दनलाई प्रचण्डले भनेको तर उनको लाइन एमालेसँग भन्दा काँग्रेससँगै मिलेर जानु उपयुक्त हुने छ ।
प्रचण्डलाई पाँच वर्ष
पहिलो दुई वर्षे कार्यकालको प्रधानमन्त्री दिन आनाकानी गर्ने नेपाली कांग्रेस अब प्रचण्डलाई पाँचै वर्षको प्रधानमन्त्री दिएर अन्य भागबण्डामा सामेल हुने प्रयत्न गर्दैछ । ओलीले आधा कार्यकाल, अर्थात् ‘अढैया’ प्रधानमन्त्री दिने गरी समर्थन जनाएको तर दुई–चार महिनामै तलमाथि गरिदिन सक्ने खतरा पनि छ । त्यसैले, ओलीको साथ छोड्ने गरी प्रचण्डलाई पाँच वर्षे प्रधानमन्त्री बनाउने कसरत भित्रभित्रै जारी छ ।
ओलीचाहिँ विभिन्न प्रदेशका प्रमुखहरू फिर्ता गराएर आफ्ना मान्छे पठाउन हतारिनुभएको छ । प्रदेश प्रमुखहरूलाई संविधानको जुन धाराले नियुक्त गर्ने हो, त्यही धाराले नै विस्थापित गर्ने व्यवस्था छ । नियुक्ति पाँच वर्षका लागि हुने, तर राष्ट्रपतिले बोलाएको अवस्थामा फिर्ता हुनुपर्ने प्रावधान छ । उनीहरूलाई मन्त्रिपरिषद्ले सिफारिस गरेबमोजिम राष्ट्रपतिले फिर्ता बोलाउने हो । पुरानो सरकारका सम्पूर्ण राजनीतिक नियुक्ति बदर हुने भनियो भने स्वतः फिर्ता हुनुपर्छ । एमालेलाई खतरा के छ भने, संघीय सरकारमा समीकरण बदलिने बित्तिकै प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको सरकार तुरुन्तै ढल्छ ।
टिप्पणीहरू