जनयुद्ध दिवस मनाउन कर्णालीमा सार्वजनिक बिदा

जनयुद्ध दिवस मनाउन कर्णालीमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र स्थानीय तहका सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

क्याविनेट बैठकले प्रदेशमा कार्यरत प्रदेश सचिवहरुले साविकको कार्य जिम्मेवारीअनुसार कार्यक्षेत्रमा कामकाज गर्ने र एक अर्काको अनुपस्थितमा कार्यसम्पादन गर्ने पनि निर्णय गरेको छ । त्यस्तै, सरकारको प्रवक्ताका रुपमा आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीलाई जिम्मेवारी दिने बैठकको निर्णय छ ।

बैठकले भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई चालुआर्थिक वर्षको असार मसान्तभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालय र मातहतमा रहने संरचना र दरबन्दीको निर्क्यौल गर्ने जिम्मेवारी सुम्पिएको छ । 

मन्त्रिपरिषद्को नियमित बैठक आगामी फागुनदेखि प्रत्येक महिनाको दोस्रो र चौथों हप्ताको बुधबार दिउँसो ४ बजे बस्ने प्रदेश सरकारको निर्णय छ ।

टिप्पणीहरू