डलर अर्बपति विनोद चौधरीद्वारा जनआस्थाविरुद्ध दायर मुद्दा खारेज

डलर अर्बपति विनोद चौधरीद्वारा जनआस्थाविरुद्ध दायर मुद्दा खारेज

मुलुकका डलर अर्बपति तथा नेपाली काँग्रेस सभासद् विनोद चौधरीले जनआस्था साप्ताहिक तथा जनआस्था डट कमविरुद्ध दायर गरेको मुद्दा खारेज भएको छ । उच्च अदालत, पाटनमा दायर गरिएको निषेधाज्ञा र अवहेलनाका मुद्दा श्रीमानद्वय सुवास पौडेल र रमेश ढकालको संयुक्त इजलासले क्रमशः खारेज र दाबी नपुग्ने आदेश गरेको छ । 

गत असोज ७ गते दायर निषेधाज्ञा र सोही महिनाको २८ गते दायर भएको अवहेलनाको मुद्दामा इजलासले उक्त आदेश दिएको हो । जनआस्थाको तर्फबाट अधिवक्ताहरु माधवकुमार बस्नेत, बद्रिप्रसाद भुसाल, अनन्तराज लुईंटेल र भक्ति घिमिरेले बहस गर्नुभएको उक्त मुद्दाको आदेशबाट मुलुकको प्रेस स्वतन्त्रता र न्यायिक लडाईंको विजय भएको छ । अधिवक्ताहरु लुईंटेल र घिमिरेले क्रमशः प्रेस काउन्सिल प्रतिनिधि र पत्रकार महासंघ प्रतिनिधिको रुपमा बहस गर्नुभएको हो । 

चौधरीले दायर गरेको निषेधाज्ञा मुद्दामा निवेदक तथा निवेदक सम्बद्ध कम्पनी÷व्यक्तिको व्यावसायिक ख्यातिमा धक्का पुर्याउने गरी कुनै समाचार प्रकाशन गर्ने, सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा प्रकाशन, प्रशारण कार्य नगराउन विपक्षीको नाममा आदेश माग गरेका थिए । उनले निवेदनमा जनआस्थाले प्रकाशन गरेका समाचार सबै झुठ्ठा र भ्रामक भएको जिकीर लिएका थिए ।

त्यसैगरी असोज २७ गते दायर गरिएको अवहेलनाको मुद्दामा चौधरीले निषेधाज्ञा र गाली बेइज्जती मुद्दाको टुंगो नलागेसम्म निवेदकको सम्बन्धमा कुनै पनि व्यहोरा, समाचार वा सामाग्री प्रकाशन नगर्न नगराउन भन्दै विपक्षीहरुको नाममा उपयुक्त आज्ञा आदेश जारीको माग गरेका थिए । 

चौधरीले योजनाबद्ध रुपमा जनआस्थाविरुद्ध मुद्दा दायर गर्नुको उद्देश्य सञ्चार माध्यमको मुख बन्द गराएपछि जसले जे गरे पनि हुने अवस्था उत्पन्न हुने विश्लेषण गरेको सहजै अनुमान लगाउन सकिन्छ । राज्य संयन्त्रदेखि निजी क्षेत्रले गरेका भ्रष्टाचार र धेरै कैफियतका घटना बाहिर आउनुको प्रमुख आधार नै मिडिया हुन् । तर मिडियालाई चौधरीको मागबमोजिम सिध्याइदिने हो भने त्यस्ताको मनोबल र बदमासीको स्तर झन् बढ्ने निश्चित थियो । आजको आदेशले राज्यलाई दुहुनो गाई बनाएर दुहुने डलर अर्बपतिहरुको अर्को असफल प्रयासमा ब्रेक लागेको छ ।

टिप्पणीहरू