वसन्त चौधरीले ‘भ्यालेन्टाइन डे’ लाई थप प्रेमिल बनाउने

वसन्त चौधरीले ‘भ्यालेन्टाइन डे’ लाई थप प्रेमिल बनाउने फाइल फाेटाे

यो वर्षको ‘भ्यालेन्टाइन डे’ को दिन प्रेमिल कवि तथा गीतकारका रुपमा चिनिएका वसन्त चौधरीको एकल कविता वाचन गरिने भएको छ ।

कवि चौधरीले आगामी फागुन २ गते राजधानीको मण्डला थिएटरमा गर्ने ‘कवितासँग वसन्त’ नामक एकल कविता वाचनको थिम ‘लभ इज इन दि एयर’ राखिएको छ । अपरान्ह पौने ४ बजेदेखि सुरु हुने उक्त कार्यक्रममा प्रेमसँग सम्बन्धित कविता सुनाइने छ । 

भ्यालेन्टाइन डेलाई विशेष बनाउन प्रेमका कविता तथा रचना प्रस्तुत गर्दै एकल कविता वाचन कार्यक्रम आयोजना गरिनु नेपाली साहित्यमै नौलो कार्य हो । सो कार्यक्रममा कवि चौधरीले एक दर्जन बढी प्रेमिल कविताहरु प्रस्तुत गर्ने बताइएको छ ।

त्यसदिन उनका दुईवटा पुस्तक ‘मेरा गीत’(गीतहरुको संग्रह) तथा ‘जीवनमन्त्र–२’ (सुक्ति संग्रह) समेत लोकार्पण गरिँदैछ । कार्यक्रममा सहभागिता जनाउन चाहनेले ९८१९१४०४९० मा सम्पर्क गरेर आफ्नो स्थान सुरक्षित गर्न आयोजकले जानकारी दिएको छ । 

वसन्त चौधरी नेपाली साहित्यमा प्रेमसँग सम्बन्धित कविता तथा रचनाका लागि स्थापित नाम हो । उनले केही वर्षअघि नेपाली साहित्यको उन्नतिका लागि विश्व काव्ययात्राको आयोजना गर्दै विभिन्न देशमा पुगेर प्रेमिल कविताहरु वाचन गरेका थिए ।

नेपाली भाषाका साथै हिन्दी भाषामा समेत कवि चौधरीका सशक्त सिर्जनाहरु सार्वजनिक भइसकेका छन् । केही समयअघि उनका ८५ वटा कविता संग्रह ‘तिमीबिनाको म’ सार्वजनिक भएको थियो । यसमा संग्रहित अधिकांश रचना प्रेमसँग सम्बन्धित छन् । 

त्यसअघि हिन्दी काव्य संग्रह ‘अनेक पल और मैं’ सार्वजनिक भएको थियो भने ‘मेघा’ देखि ‘तिमी बिनाको म’ सम्म उनका एक दर्जन कृतिहरु प्रकाशित भइसकेका छन् । चौधरीका अधिकांश कविता समकालीन मनुष्यका सुख दुःख, हास्य एवम् रोदन अर्थात प्रेमानूभूतिसँग सम्बन्धित छन् । उनले कवितामा प्रयोग गर्ने बिम्ब र प्रतीक अरुभन्दा पृथक पाइन्छ ।
 

टिप्पणीहरू