भारतीय स्कुलमाथि शिक्षक शिक्षिकाको श्रमशोषण गरेको आरोप

भारतीय स्कुलमाथि शिक्षक शिक्षिकाको श्रमशोषण गरेको आरोप

धरानस्थित दिल्ली पब्लिक स्कुल (डिपिएस) ले शिक्षकहरुमाथि चरम ज्यादती गरेको आरोप लागेको छ । नाम चलेको विद्यालयले नै शिक्षक शिक्षिकालाई तलबभत्ता नदिएर उनीहरुको श्रमशोषण गरेको बताइएको छ । 

सन् १९९६ मा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट इजाजत लिएर सञ्चालनमा आएको विद्यालयले विभिन्न बहानामा शिक्षक शिक्षिकाको तलबभत्ता कटौती गर्ने, महिनौंको तलब नदिने कार्य गर्दै आएको छ । समयमै तलब नपाउँदा र पाए पनि आधा मात्र हात पर्दा उनीहरु जागिर छाड्न बाध्य भएका छन् । 

डिपिएसमा विगत १६ वर्षदेखि प्राइमरी टिचरका रुपमा कार्यरत शिक्षिका अनुपमा बरुवाले तलब नपाएपछि जागिर नै छाडेकी छन् । सन् २००७ मार्च १८ गतेदेखि डिपिएससँग जोडिएकी उनले २०२२ डिसेम्बर ९ का दिन राजीनामापत्र त्यहाँका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसमक्ष बुझाएकी हुन् । 

अनुपमाले हालसम्म सन् २०२१ अक्टोबर महिना देखिको तलब पाएकी छैनन् । कोरोना महामारीमा समेत दिल्लीस्थित आफ्नै घरमा बसेर भर्चुअल कक्षा लिएकी उनले त्यतिबेला पनि आधा मात्रै तलब पाइन् । 

उनीसहित अन्य चार शिक्षकले पनि आधा मात्र तलब पाएको बताए । यता, अनलाइन कक्षा नै नलिएका शिक्षकहरुले भने पूरै तलब पाएका छन् । नेपालसहित भारतलगायत अन्य मुलुकमा लकडाउन चलिरहेको बेलामा डिपिएसका प्रिन्सिपल पिके शंकरलिङ्घमले उनीसहित अन्य केहीलाई विद्यालयमै पुगेर अनलाइन कक्षा लिन निर्देशन दिएका थिए । 

आफ्ना परिवारका सदस्यमासमेत कोरोना संक्रमण देखिएको र खोप लगाउन बाँकी रहेको उल्लेख गर्दै अनुपमाले घरबाटै अनलाइन कक्षा लिने जानकारी गराउँदै प्रिन्सिपलसँग उक्त आग्रह गरेको बताइन् । अनलाइन वा भौतिक रुपमा उपस्थित भएर कक्षा लिँदा आफ्नो कर्तव्य निष्ठापूर्वक निर्वाह गरेको अनुपमाको भनाइ छ । संकटको समयमा विद्यालयलाई सहयोग गर्दासमेत तलब नपाएकोमा उनी दुःखी बनेकी हुन् । 

‘संकटको समयमा इमान्दारितापूर्वक काम गर्दा पनि तलब दिइएन । तलब नै नदिने हो भने काम किन लगाउनु ? त्यस्तो अप्ठ्यारो समयमा समेत विद्यालय आउन किन दबाब दिइयो ?’, उनले प्रतिप्रश्न गरिन् । 

यता, सन् २०२० मा आफूहरुले गर्मी छुट्टीसमेत नलिएको उनको भनाइ छ । शिक्षक भर्नाको क्रममा दिने भनिएको भत्ता र सेवासुविधासमेत नदिएको बताइन्छ । डिपिएसले केही वर्षदेखि भत्तासमेत कटौती गर्दै आएको छ । 

त्यस्तै, विद्यालयले तोकेभन्दा न्यून तलब दिएको तथ्य पनि खुलेको छ । प्राइमरी तहका शिक्षक शिक्षिकाहरुको तलब पटकपटक बढाउने भनिए पनि हालसम्म पनि पुरानै स्केल कायम छ ।

लेखा अधिकृत अरविन्द मल्लिक र प्रिन्सिपल शंकरलिङ्घले आफ्नो तलब बढाउनुपर्ने मागलाई अस्वीकार गरेकोमा अनुपमाले असन्तुष्टि जनाएकी हुन् । लगभग मासिक ४० हजार भारतीय रुपैयाँमा काम गर्दै आएकी उनी भन्छिन्, ‘मेरो बढ्नुपर्ने तलब के आधारमा अस्वीकार गरियो ?’

विद्यालयले झण्डै दुई वर्षदेखि कर्मचारीको तलबबाट नागरिक लगानी कोषका लागि रकम कट्टा गर्दै आएको छ । तर, बिना जानकारी आफ्नो नागरिक लगानी कोषमा रकम जम्मा नभएकोमा उनी आश्चर्यचकित भएकी छन् ।

आफूलाई चित्त नबुझेपछि उनले उक्त विषय लेखा अधिकृत मल्लिकसामु राखेको बताउँछिन् । तर कुराकानीको क्रममा मल्लिकको अशिष्टता र अपमानजनक व्यवहारले आफूलाई थप निराश तुल्याएको अनुपमाको भनाइ छ । 

सोही विषय प्रिन्सिपल शंकरलिङ्घमसमक्ष राख्दा कुनै चासो नदेखाएपछि उनले बाध्य भएर राजीनामा दिएकी हुन् । प्रिन्सिपलले विभिन्न आर्थिक र राजनीतिक कारण देखाएर वर्षौंदेखि तलब नबढाएको धारणा राख्दै आएका छन् ।

प्रिन्सिपल  शंकरलिङ्घमले आफ्नी श्रीमती कार्तिकालाई समेत सोही विद्यालयको जागिरे बनाएका छन् । ‘विद्यालय साँच्नै नै आर्थिक संकटमा छ भने प्रिन्सिपल र उनको श्रीमतीको तलब कति छ ? यत्रो वर्षदेखि उनीहरु पनि पुरानै तलबमा काम गरिरहेका छन् ? उनीहरुले कुनै पनि सुविधा र वृद्धि रकम लिएका छ्रैनन् ?,’ उनले प्रश्न गरिन् । 

विद्यालयको प्रतिष्ठा खस्कँदो क्रममा 

धरानमा सञ्चालित दिल्ली पब्लिक स्कुल कुनै समय निकै प्रतिष्ठित शैक्षिक संस्था थियो । कुनै समय यो विद्यालयको चर्चा अत्यधिक हुने गरेको थियो । अभिभावकमाझ उक्त विद्यालय निकै प्रख्यात थियो । यहाँ भारतीय र नेपाली विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयमा नेपाली र भारतीयमूलका शिक्षक शिक्षिकाले अध्यापन गर्छन् ।

डिपिएस भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्डसँग आवद्ध छ । विद्यार्थीको नतिजा प्रकाशनदेखि प्रमाणपत्र वितरणसमेत बोर्डले गर्दछ । केही समय अगाडिसम्म डिपिएसमा अध्ययन गर्न जाने विद्यार्थीहरुको संख्या धेरै थियो ।

तर, शंकरलिङ्घमले प्रिन्सिपलको भूमिका निर्वाह गरेपछि विद्यालयको स्तर खस्किँदै गएको धेरैको बुझाइ छ । उनको व्यवहार अन्य शिक्षकसँग पनि सुमधुर नभएको शिक्षकहरु बताउँछन् । 

विद्यालयको शर्तमा शिक्षकहरुले अनिवार्य बि.एड गरेकै हुनुपर्छ । यद्यपि, अधिकांश शिक्षक बि.एड नगरी पठनपाठनमा संलग्न भएको पाइएको छ । अनुभव नभएका शिक्षकलाई भर्ती गर्ने कार्य प्रिन्सिपलले नै गर्दै आएका छन् । 

बाँकी रहेका पूराना शिक्षक शिक्षिकासमेत प्रिन्सिपलको कार्यशैलीदेखि सन्तुष्ट देखिँदैन । शिक्षाको गुणस्तर खस्किँदै गएपछि विद्यार्थीको आकर्षण पनि खस्केको बताइन्छ । विद्यालयमा विराटनगर, वीरगञ्जलगायत धेरै क्षेत्रका विद्यार्थीहरु अध्ययन गर्दैै आएका थिए । 

यता, प्रिन्सिपल शंकरलिङ्घमले भने उक्त आरोपलाई पूर्ण रुपमा असत्य भनेका छन् । उनले सबैको तलब तोकिएको दिनमा दिने गरेको ठोकुवा गरे । ‘विद्यालयको प्रशासनबाट हेर्न सकिन्छ, हामीले सबैको तलब समयमा दिने गरेका छौं’, उनले भने, ‘कोही विद्यालय आउनुभएन होला त्यो अवधिको तलब कटौती गरिएको होला ।’

टिप्पणीहरू