वर्षमानलाई एकान्तवास

वर्षमानलाई एकान्तवास

अस्पतालबाट हालै डिस्चार्ज भएका माओवादी उपमहासचिव वर्षमान पुनलाई स्वास्थ्यलाभका लागि एकान्तस्थलमा पुर्‍याइएको छ । केही हप्ता पूर्ण आराम गर्न चिकित्सकहरूले दिएको सल्लाहबमोजिम उनलाई बूढानीलकण्ठस्थित डाँडाको एउटा रिसोर्टमा लगिएको छ ।

अस्पतालबाट निस्केको एक–दुई दिन स्वास्थ्यलाभको कामना भन्दै नियुक्ति, सरुवा, बढुवालगायत निजी काम भन्न आउनेको लर्को लागेपछि गुप्तबास रोज्न बाध्य हुनुपरेको स्रोतले जनाएको छ । यस्ता व्यक्तिबाट हुनसक्ने इन्फेक्सनलगायत कारण स्वास्थ्यमा झनै गम्भीर संकट आउन सक्ने खतरा बढेपछि गुप्तबास रोजिएको स्रोतले बताएको छ ।

चिकित्सकले कलेजो र मिर्गौला फेर्नुपर्ने अवस्था रहेको सार्वजनिक गर्दै स्वास्थ्य निकै गम्भीर रहेको जानकारी गराएका थिए । यसैबीच गरिएको एक परीक्षणमा भने कलेजोले काम गर्न थालेको जानकारीसँगै पुनले केही राहत अनुभव गरेको बताइन्छ । कलेजोले काम शुरु गरेपछि ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था हटेको श्रोतको दाबी छ । 

टिप्पणीहरू