ग्याङहरुले युवालाई इमोशनल ब्ल्याकमेलिङ गर्न थाले
तत्कालीन एमालेको गाउँ कमिटीबाट शुरु गरेको राजनीतिक यात्रालाई नरेश शाहीले अहिले नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीसम्म ल्याइपुर्याएका छन् । उनी उक्त पार्टीसम्बद्ध युवा संघका अध्यक्ष पनि हुन् । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा बाजुराबाट गठबन्धनबिनै उम्मेदवारी दिए र जिते पनि । अर्थात्, आफू जिल्लाको लोकप्रिय युवा नेता भन्ने प्रमाणित गरिदिए । राजनीतिशास्त्रमा स्नातकोत्तर नरेश लामो समयदेखि माधव नेपालपक्षीय हुनुका कारणले युवा संघको राजनीतिमा पछाडि पर्दै आए । ०६९ सालमा बुटवलमा सम्पन्न महाधिवेशनमा उक्त प्यानललाई महेश बस्नेत नेतृत्वको ओलीपक्षीय प्यानलले सोत्तर पारिदियो । त्यो खडेरीमा पनि नरेशले सचिव जिते । त्यसपछि युवा संघको महाधिवेशन भएन । तर, बालकोटले आफू पक्षधरहरूलाई छानीछानी संघको अध्यक्ष बनायो । स्वाभाविक थियो, नरेश कहिल्यै अगाडि आएनन् । उनीभन्दा जुनियर पनि युवा संघको अध्यक्ष भइसकेपछि पार्टी विभाजन भयो र अहिले समाजवादीतिरको युवा अध्यक्ष छन् ।
– हरि गजुरेल
० अघिल्लो शनिवार प्रधानमन्त्री प्रचण्डसँग भेटेर के कुरा राख्नुभयो ?
– अछामका सिद्धार्थ आउजीले होस् वा हालै नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेम आचार्य– दुबैले उठाएका समस्या साझा र एकै प्रकृतिका हुन् । यो विषयमा राज्यलाई सम्झाउनुपर्छ भनेर युवा संघ नेपालको तर्फबाट २९ सूत्रीय मागसहितको ज्ञापनपत्र बुझाउन गएका हौं । दोश्रो, नागरिकताविहीनलाई उपप्रधानसहित गृहमन्त्री बनाइएको थियो । यस्तै राज्यले सम्पत्ति छानबिन गरिरहेको व्यक्ति शहरी विकानुनमन्त्री नियुक्त भए, उनले लिएका दर्जनौं ठेक्का अलपत्र छन् । यसरी पेशाको स्वार्थ बाझिने व्यक्तिलाई मन्त्री बनाइएकोमा आपत्ति प्रकट गर्यौं ।
० मूलधारको राजनीतिक दलका युवाहरूमाथि पुरानो पुस्ताको दास बनेको आरोप छ, त्यसैले गैरदलीय व्यक्तिहरू विभिन्न नाममा जनताबाट चुनिएको कुरा स्वीकार गर्नुहुन्छ ?
– लिडिङ पार्टीबाट इच्छा, आकांक्षा र सपना पूरा नभएपछि अहिले जनताले ‘वार्निङ घण्टी’ बजाइरहेका छन् । युवा पंक्ति दास भएका होइनन् । युवा संघ नेपालले यो विषयलाई गम्भीरतापूर्वक लिएर बहस, पैरवी चलाइरहेको छ । आन्दोलनलाई कसरी नयाँ बाटोबाट उचाइमा लैजान सकिन्छ भनेर छलफल भइरहेको छ ।
० एमालेबाट विद्रोह गरेर फेरि उही पुस्ताका नेतालाई अगाडि सारेपछि विद्रोहको औचित्य कसरी पुष्टि हुन्छ ?
– जसको नेतृत्वमा विद्रोह सम्पन्न भयो, विद्रोहलगत्तै ऊप्रतिको सान्दर्भिकता सकिन्छ भन्ने होइन । नयाँ परिवेशमा जाने, बदलाव दिने ढंगले सोच्नुपर्ने हुन्छ ।
० जीवन नै राजनीतिमा लगाउँदा पनि तपाईं बल्ल प्रदेशको सांसद हुनुभएको छ । तीन महिनाअघि पार्टी खोलेकाहरू उपप्रधानमन्त्रीसहित सरकारमा हावी भए । यसमा के भन्नुहुन्छ ?
– चुनावभन्दा पहिला जनताले रवि लामिछानेका कार्यक्रमलाई धेरै नजिकबाट हेरे । उनको पार्टीका चुनावी धेरै कार्यक्रममा उपस्थितहरूको स्क्रिनसट गरेर राखेर हेर्दा मञ्चमा बस्ने सीमित अनुहारबाहेक दोहोरिएको पाइएन । वैकल्पिक शक्ति भनेर उदाएका यी पार्टीप्रति युवा पंक्तिमा स्वाभाविक लगाव र उभार देखिएको बुझेपछि म यो विषयमा मौन रहें । त्यो एक प्रकारको इमोसनल एट्याचमेन्ट मात्र हो । जुन दिगो र स्थायी रूपमा अगाडि जाँदैन । उहाँहरूको आइडियोलोजिकल ग्राउण्ड निकै कमजोर छ । तत्कालका लागि बहार र शक्ति त आर्जन गर्नुभएको छ तर जुन ढंगबाट मुभ गर्नुभएको छ, त्यो अल्पकालीन हो । दीर्घकालीन रूपमा अहिले स्थापित पार्टीकै बोलबाला रहन्छ भन्ने मेरो बुझाइ हो ।
० कुनै समय वाइसिएल, तरुण दल र युवा संघको नाम लिनेबित्तिकै भ्रष्ट, दलालहरूको मुटु काँप्थ्यो, यस्तो धारिलो संगठन आज किन भुत्ते भयो ?
– तपाईंले उठाएको विषयको वरपर रहेर हामीले लामो समय छलफल चलायौं, हिजो एमालेमै हुँदा । युवा आन्दोलनलाई नयाँ ढंगबाट लैजानुपर्छ भन्ने बहस चलाइए पनि ठीक ढंगबाट करेक्सन हुन नसकेपछि विद्रोह गरेर नयाँ पार्टी बनायौं । देश र राष्ट्रका लागि भनेर केही अभियान शुरु गर्न खोज्यौं । तर पार्टी फुटेलगत्तै मुलुक निर्वाचनतर्फ होमियो । सारा शक्ति स्थानीय र प्रदेश तथा संघीय निर्वाचनतर्फ केन्द्रित भयौं । यो अवधिमा गतिविधि कम भएको सत्य हो, स्विकार्छु । अब हामी भ्रष्टाचारको क्षेत्रमा बलियो घण्टी बजाउँछौं । राजनीतिक दलका केन्द्रीय पदाधिकारीदेखि सदस्य, जनसंगठनका पदाधिकारी र टे«ड युनियनदेखि प्रदेश र जिल्लाका नेताहरूसम्मको सम्पत्ति विवरण वार्षिक रूपमा बुझाउनु र सार्वजनिक गर्नु पर्दछ भन्ने हाम्रो आवाज हो । यस्तै ०४८ सालदेखि यता जीवित प्रधानमन्त्री, मन्त्री, सांसददेखि सार्वजनिक ओहदामा बसेकाहरूको सम्पत्ति छानबिन गर्नुपर्दछ भनेका छौं । युवा नेपालमै बसेर केही काम गर्न चाहन्छ । तर यहाँ श्रम बिक्री गर्छु भन्दा पनि पाइरहेका छैनन् र बाध्य भएर विदेशिनु परेको छ । श्रम बेच्न खोज्दा राज्यले हरियो कागज थमाउँछ । विदेशी भूमिमा जीवनका उर्जाशील १० देखि २० वर्ष व्यतित गर्छ । लाखौं रेमिट्यान्स पठाउँछ । तर त्यो युवालाई राज्यले केही दिँदैन, उसले राज्यबाट कहीँ केही सहयोग पाउँदैन । वैदेशिक रोजगारीमा गएका युवाहरूको कमाइको केही प्रतिशत मेगा प्रोजेक्टमा शेयरको रूपमा लगानी गरौं । श्रम, सीप सहजीकरण गरेर तिनको योग्यता र दक्षतालाई नेपालमै प्रयोग गर्ने र यहाँ उद्योग, व्यवसायमा गर्न सक्ने नीति तथा कार्यक्रम ल्याउने, सामाजिक सुरक्षा कोषसँग जोड्ने काम तत्काल हुनुपर्दछ भनिरहेका छौं । हाम्रो सरकारी कार्यालय बिहान १० देखि साँझ ५ सम्म खुल्छ । विदेश र नेपालको समय मिल्दैन । वैदेशिक रोजगारीमा गएको कुनै नेपालीलाई जटिल समस्या परेर नेपालमा सम्पर्क गर्दा फोन उठ्दैन, उठिहाल्यो भने भन्छ, आज बिदा भइसक्यो, भोलि गर्नु । त्यही कारण वैदेशिक रोजगारको समस्या समाधाननिम्ति द्रुत हेल्प डेस्क खोल्न सरकारलाई भक्झकाएका छौं ।
० पहिला युवासंघ, वाइसिएललगायत संगठन थिए । यिनले पार्टी गलत ट्रयाकमा हिँडे सडकबाटै चेतावनी दिन्थे । अहिलेका संगठन जाडोमा घाम ताप्ने चौतारी देखिए ।किन ?
– युवा संघ, नेपालजस्ता भ्रातृ संगठनले जति नेतृत्वको खबरदारी गर्नुपथ्र्यो, आममान्छेले सोचे जति भएन होला । हाम्रो हकमा जन्मिएको नै कति भएको छ र ? सडक आन्दोलन वा संघर्षमा सबैभन्दा बढी खटिने परिवर्तनकारी शक्ति हो युवा तर परिवर्तनपछि नेतृत्वले बिर्सने र उपेक्षामा पर्दै आएको शक्ति पनि यही नै हो ।
० ६० प्रतिशतभन्दा बढी जनता कम्युनिष्ट विचारधारा बोक्ने मुलुकमा कम्युनिष्ट धारचाहिँ भुत्ते देखिन्छ, किन ?
– प्रधानमन्त्री प्रचण्डलाई भेटेर प्रश्न गरें, ‘तपाईंहरूले कम्युनिष्ट आन्दोलन कस्तो हस्तान्तरण गर्नहुन्छ ? एकताबद्ध, बलियो, सशक्त वा टुट फुटयुक्त ?’ कम्युनिष्ट भनेको साँच्चै पारदर्शी, गर्व गर्न लायक, जनवादी, गरिब, श्रमजीवीको साथी हुनुपर्दछ होला तर अहिले आम कम्युनिष्ट नेताको व्यवस्थासँगै अवस्था परिवर्तन भयो । हिजो चप्पल पड्काएर राजधानी छिरेका कम्युनिष्ट नेताहरू आलिशान बंगला र महंगा कारमा हुँइकिने भए । हिजो सडक आन्दोलनमा होमिँदा चप्पल पड्काउने साथीलाई चिन्न यस्तै व्यवहार र चिन्तनका कारण कम्युनिष्टलाई कहीँ न कहीँ समस्या छ । भनाइ र गराईमा आकाश र जमिनको अन्तर छ । भन्ने मजदुरको नेता तर मजदुरसँग हात मिलाउन अप्ठ्यारो, भन्ने श्रमजीवीका नेता तर श्रम गर्दा लाज लाग्ने । भन्ने गरिबको नेता तर गरिबको झुप्रो छोडेर तारे होटलमा बस्न जाने । यसैले गर्दा समस्या पैदा भएको हो । मलाई त कता कता डर पनि छ, कतै नेपालको कम्युनिष्ट आन्दोलन ०२५ देखि ०३० सालको जस्तै स्थितिमा पो पुग्छ कि ! कम्युनिष्ट पार्टी छैन भनौं छन् तर सबै स–साना झुण्डमा । हामी अहिले समाजवादी पार्टीलाई अद्यावधिक गर्दैछौं । हिजो एमाले माले, माक्र्सवादीलगायत ४५/४६ वटा समूह मिलेर बनेको हो । एमाले एकै पटक ठूलो र यो अवस्थामा पुगेको होइन । हामी समाजवादी केन्द्र निर्माण गर्ने बहस चलाइरहेका छौं । नीति, विचार, सिद्धान्त मिल्नेसँग पार्टी एकता, कार्यक्रम मिल्नेसँग कार्यगत एकता गरी अबको पाँच वर्षमा सशक्त शक्तिको रूपमा जनताको आशा र भरोसाको केन्द्र बनाउने हाम्रो योजना हो ।
० समाजवादी केन्द्र निर्माण गर्ने कुरा कहाँ पुग्यो ?
– अहिले बृहत् कम्युनिष्ट आन्दोलन गर्ने सिलसिला जारी छ । कम्युनिष्ट आन्दोलन निर्माण गर्नका लागि समाजवादी मात्र भएर पुग्दैन । नीति, विचार, सिद्धान्त मिल्नेसँग छलफल गरेर पार्टी एक बनाउने, विचार नमिल्नेहरूसँग कार्यगत एकता गर्ने हाम्र्रो प्रयास हो ।
० राजनीतिमा युवा वर्गको घट्दो आकर्षणको कारण के हो भन्ने लाग्छ ?
– राजनीतिप्रति युवा वर्गको आकर्षण घटेको छ भन्ने मलाई लाग्दैन । अहिले बजारमा गएर सोधौं त सबैभन्दा बढी राजनीतिक पुस्तकहरू बिक्री भइरहेको छ । यस्ता पुस्तक युवाहरूले बढी खरिद गरिरहेका छन् । अझैं युवा पुस्ताले अंग्रेजी भाषाको राजनीतिक पुस्तक किनेर पढिरहेका छन् । युवा पुस्तामा राजनीति फोहोरी खेल हो भन्ने लागेको छ भने उहाँहरूलाई कन्भिन्स गर्ने खालको कार्यक्रम ल्याउनुपर्नेछ ।
० कांग्रेससँग ८ लाख, एमालेसँग १० लाख, माओवादीसँग ८ लाख, समाजवादीसँग ३ लाख संगठित सदस्य छ भन्छन् तर यी संगठित दस्ताभन्दा सामाजिक सञ्जालका बलमा उदाएका बालेन साह, हर्क साम्पाङदेखि रवि लामिछानेसम्मका असंगठित हुल खतरनाक देखिएका छन् राजनीतिक दलका लागि, हैन र ?
– यो राजनीतिक दलका लागि चर्काे वार्निङ हो । राजनीतिक दल, नेताहरू अर्थात रुलिङ पार्टीको असफलता र उनीहरूप्रतिको वितृष्णाका कारण यो स्थिति पैदा भएको हो । एउटा ग्या¨, एउटा ग्रुप हुनु भनेको पार्टी हुनु होइन । पार्टी हुनका लागि नीति, सिद्धान्त र विचारको जग हुनुपर्दछ । सामाजिक सञ्जालको बलमा उदाएकाहरू इमोशनल समूह हुन । नागरिकता भनेको सार्वभौम सत्तासँग जोडिने विषय हो । पछिल्लो जेनेरेसन कति इमोशन छ भन्ने कुरा रविको नागरिकता प्रकरणबाट पनि पुष्टि हुन्छ । यस्तो विषयमा रविले जे गरे ठीक गरे भन्ने अन्ध भक्त जमात ठूलो छ । भोलि त्यसको प्रभाव कहाँसम्म पर्दछ ? एकै पटक दुईवटा हातमा, दुईतिरको नागरिकता लिन मिल्छ कि मिल्दैन ? अहिलेको पुस्ता यथार्थबाट अलि टाढा पुगेको छ र भावनात्मक कुरा गर्न थालेको छ । अर्काेतिर हामी यस्तो लाचार, नैतिकहराम राज्यमा छौं कि जहाँको महान्यायाधिवक्तादेखि प्रशासन र गृह मन्त्रालयको मान्छेले व्यक्तिको पक्षमा फैसला र पक्षपोषण गरिदिन्छ । जबकि अमेरिकाजस्तो शक्तिशाली राष्ट्रको राष्ट्रपतिको घरमा सेक्युरिटीले छापा हान्ने साहस राख्छ । हाम्रोमा एउटा व्यक्तिले बिराएको थाहा हुँदाहुँदै भीड उसकै पक्षपोषणमा लागिरहेको देखिनु दुःखद कुरा हो ।
० रवि लामिछाने गलत हुन् भन्ने जान्दाजान्दै पनि पंखाहरू किन हावी हुन खोजेका होलान् ?
– युवाहरू स्वाभाविक ढंगले आवेगपूर्ण हुन्छन् । उनीहरू अरुभन्दा अलि फरक गर्न चाहन्छन् । फरक गर्ने नाममा ती युवाहरूलाई सही ढंगले गाइड गर्न सकेनौं भने बेठीक काम गरिरहेका हुनेछन् । बेठीकबाट गाइड भएमा ध्वस्त पारिदिन्छन् । रविसँग रहेको समूह इमोनशनल समूह हो । त्यो समूहलाई यथार्थमा उभ्याउन नसक्दा यस प्रकारको दुष्परिणाम निस्कन्छ ।
० भनिन्छ, अखिल र युवासंघजस्ता दस्ता सामाजिक सञ्जालको उपयोग र युवा परिचालनभन्दा सत्तामुखी राजनीतिको पछि लागेर बिग्रिए र तहसनहसको बाटोमा गए । स्विकार्नुहुन्छ ?
– जरुर, हामी हाम्रा मुद्दाभन्दा कहिँ न कहिँ पर पुग्न थालेका छौं । अखिल, युवा संघ वा विद्यार्थी संघसंगठन हिजो राजनीतिका लागि नर्सरी थिए । आज ती कसरी करप्सन गर्ने भन्ने विषयको नर्सरी बन्न थालेका छन्, यो निकै दुःखद पाटो हो । सिटिइभिटिईबाट सर्टिफिकेट निकाल्दासमेत कमिसन खाने कल्चर बसाल्दै छौं । विद्यार्थी भर्ना गर्दा कमिसन खाने कल्चर बसाल्दैछौं । कहाँ गए हिजोको अखिल र युवा संघ ?
० प्रदेशको माननीय र संगठनको अध्यक्ष दुवै पदलाई समानान्तर रूपमा कसरी अगाडि लैजानुहुन्छ ?
– प्रदेशको माननीय भएपछि संघमा काम गर्न अलि गाह्रो हुन्छ । अलि छिटो महाधिवेशन गरेर नेतृत्व ह्याण्ड ओभर गर्न खोज्दैछु । नेतृत्व हस्तान्तरण गर्नु भनेको आन्दोलनबाट भाग्नु होइन । योगदान निरन्तर रहन्छ । अवधिको हिसाबले पनि महाअधिवेशन गर्नुपर्दछ । अब बढीमा दुई चार महिनामात्र, अनि जिम्मेवारीबाट अलग्गिन्छु । अहिले राजनीति गर्नेहरूलाई कहीँ, कतै काम गर्न नसकेर आएको भन्न थालिएको छ । केहीले बिराएका होलान् तर तिनले गरेका नकारात्मक कामको परिणाम अरूप्रति नकारात्मक इमेज बनेको छ
टिप्पणीहरू