निषेधित क्षेत्रमा आन्दोलन गर्न खोज्ने पाँच जना संसद भवनअगाडिबाट पक्राउ

निषेधित क्षेत्रमा आन्दोलन गर्न खोज्ने पाँच जना संसद भवनअगाडिबाट  पक्राउ

घरेलु हिंसा पीडित सोलुखुम्बूकी बिनु यादव नयाँ बानेश्वरबाट पक्राउ परेकी छन् । संघीय संसद भवनअगाडि प्रदर्शन गर्न खोजेपछि प्रहरीले उनलाई आज दिउँसो नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि उनीसहित ५ जनालाई पक्राउ गरिएको हो । रामेछापको मन्थली घर भएका प्रदीप कठायतले आफूलाई मानसिक तथा शारीरिक यातना दिएको भन्दै यादव केही समयदेखि निरन्तर आन्दोलनमा छिन् ।

कठायतले उनीसँग सम्बन्ध विच्छेदको मुद्दासमेत दर्ता गराएका थिए । तर, अदालतको फैसलापछि यादवले अदालत परिसरमै विष सेवन गरेकी थिइन् । साथै, उनले प्रदीपका काका पवन कठायतविरुद्ध जबरजस्ती उद्योगको जाहेरी पनि दिएकी छन् । 

केही समयअघि उनले सर्वोच्च अदालत परिसरमा रातो रंगसमेत फ्यालेकी थिइन् । त्यसबेला पनि उनी प्रहरीले यादवलाई पक्राउ गरेको थियो । 

त्यस्तै, आफ्रनै श्रीमानबाट यौन हिंसामा परेकी जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरी र उनलाई आन्दोलनमा सघाउन गएकी कृतिका यादवलाई पनि आजै बानेश्वरबाट प्रहरीले पक्राउ गरेको छ ।

टिप्पणीहरू