पद्मरत्नको हुलाक टिकटमा पेलपाल
वामपन्थी राजनीतिज्ञ तथा वरिष्ठ मानव अधिकारकर्मी पद्मरत्न तुलाधरले राष्ट्रलाई गौरवान्वित बनाउने थुप्रै काम गरेका छन् । भाषा आन्दोलनमार्फत् राजनीतिमा सक्रिय उनी बहुदलीय व्यवस्था र प्रजातन्त्र पक्षधर प्रखर वक्ता हुन् ।
२०७५ कात्तिक १९ गते मस्तिष्कघात भएर राजधानीको नर्भिक अस्पतालमा भर्ना भई ७८ वर्षको उमेरमा बितेका र नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका उनले स्वास्थ्यमन्त्री र श्रममन्त्रीको जिम्मेवारीसमेत निर्वाह गरेका थिए । उनको अविस्मरणीय योगदानलाई सम्मान गर्दै सरकारले तस्बिर अंकित हुलाक टिकट छाप्ने घोषणा गरेको थियो । तर अहिले यो प्रक्रिया अलपत्र परेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टाँचा नलगाइदिँदा प्रकाशित टिकट थन्किएको छ । हुलाक सेवा विभागबाट मन्त्रालयमा टिकट गएको झण्डै १० महिना बित्यो । विभागकी कला अधिकृत पूर्णकला लिम्बूले टिकट छपाई सकिएको जानकारी दिइन् । बजारमा आइसक्नुपर्ने टिकट मन्त्रालयकै कारण रोकिएको उनको भनाइ छ । ‘टिकट छपाई भएर गएकै १० महिना बितिसक्यो । मंसिरमै टाँचा लगाएर बजारमा आइसक्नुपर्ने टिकट अहिलेसम्म रोकिएको छ । उनले भनिन्, ‘चुनाव हो भनौं भने मन्त्री आइसक्नुभएको छ । के कारणले हो ठ्याक्कै अनुमान लगाउन गाह्रो छ ।’ उनले यसबारे विभागमासमेत छलफल चलाउने जानकारी दिएकी छन् ।
सचिव बैकुण्ठ अर्यालले अबदेखि राजनीतिक व्यक्तिको टिकट ननिकाल्ने भनेकाले वर्षौंअगाडिको निर्णय रोकिएको स्रोतको दाबी छ । यद्यपि, ढकालले भने यसलाई नकारेका छन् । सञ्चारमन्त्री रेखा शर्मा भर्खरै आउनुभएको र उहाँसँग छलफल गरेर प्रक्रिया अघि बढाउने उनले जानकारी दिए ।
टिप्पणीहरू