जंगी अड्डाले खोज्दैछ जुक्ति

जंगी अड्डाले खोज्दैछ जुक्ति

एउटालाई डाम्न खोज्दा अरु पनि हायलकायल ! यस्तो भएपछि गुपचुप गरिँदैछ, तयार भएका फाइल ! ‘जौ खाने, जुँगा पनि निमोठ्ने’ भनेजस्तो जागिरभरि आर्थिक र चारित्रिक मामिलामा मस्ती गर्ने, जाने बेला संगठनलाई चुनौति दिने काम गरेपछि लाइन अरेष्टमा परेका पूर्व दुईतारे जर्नेल प्रेम शाहीलाई अन्तिम रिपोर्ट बुझाउने मुखैमा अब के गर्ने भन्नेबारे सैनिक नेतृत्व अन्यौलमा परेको छ ।

अवकाशको सूचना पाएलगत्तै १५ दिने बिदामा बसे । त्यसबीच सच्याइएको जन्ममितिका आधारमा थप एक वर्ष जागिरमा बहाली गराइ पाऊँ भन्ने रिट सर्वोच्च अदालतमा दायर गरी अन्तरिम आदेश लिए । छुट्टीको अन्तिम दिन आदेश बोकेर भद्रकालीस्थित जंगी अड्डा पुग्दा भ्रष्टाचारका फाइल तयार थिए ।

त्यहीँबाट लाइन अरेष्ट भए । तर, अब फसाद के प¥यो भने, जुन अभियोगका साथ उनीमाथि कारवाही अगाडि बढाइँदैछ, त्यसमा उनलाई मात्रै सजायँ दिएर पुग्ने अवस्था छैन । उनले गरेका आर्थिक अनियमितता माथिल्लो तहबाटै सदर गरिएका छन् । माथिलाई जोगाउँदा तल्लो दर्जाका कतिपय अफिसरहरु स्वाभाविक रुपमा मुछिन्छन् ।

पूर्णचन्द्र थापाको पालामा उनको सैनिक सहायक हुँदा शाहीले भिआइपी सुरक्षासमेत हेर्ने विशेष बाहिनी पनि हेरेका थिए । उक्त बाहिनी भैरवनाथ गण रहेको लक्ष्मी निवासमा छ, जसलाई १० बाहिनी पनि भनिन्छ । त्यहाँका अनियमितता उधिन्ने हो भने थुप्रै जर्नेल र कर्णेलको लाइन लाग्छ ।

संखुवासभाको सडक निर्माणमा भएको घोटाला खोतल्दा कर्णेलदेखि मेजरसम्मको एक तह घटुवा भएजस्तो घटना यसमा पनि हुनसक्छ । त्यसैले कतिपय सुझबुझ भएकै हाकिमहरु अब यो कुरालाई माफी मगाएर नरम कारवाहीमै राफसाफ पारिदिऔँ भन्नेमा छन् । कतिपयले बयान गर्दा र प्रमाण संकलन गर्दा समय लाग्छ । त्यसपछि कुरा पनि पुरानो हुँदै सेलाउँछ भन्नेमा छन् ।

टिप्पणीहरू