व्यक्तिगत महत्वाकांक्षामा सेनाको गरिमामा आँच पुर्याउने छुट कसैलाई छैन : प्रधान सेनापति शर्मा
प्रधान सेनापति प्रभुराम शर्माले सुदृढ र सु–संगठित सेना नै राष्ट्रिय हितको संरक्षण र सम्वद्र्धनको आधारशीला रहेको बताउनुभएको छ । उहाँले महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६० औं वार्षिकोत्सवको अघिल्लो दिन उक्त धारणा व्यक्त गर्नुभएको हो ।
उहाँले आज सेनाका सकलदर्जालाई सम्बोधन गर्दै नेपाली सेनाले राष्ट्र र जनताप्रति देखाएको सेवाभाव, निःस्वार्थपन, गैरराजनीतिक चरित्र, व्यवसायिकता, अनुशासन र कर्तव्यपरायणता जस्ता मूल्य र मान्यतालाई कायम राखेको उल्लेख गर्नुभयो । ‘आफूलाई दिइएको जिम्मेवारी प्रभावकारी ढंगबाट निर्वाह गर्नुहोस्,’ प्रधान सेनापति शर्माको भनाइ छ, ‘अस्वाभाविक र व्यक्तिगत महत्वाकांक्षा तथा स्वार्थपूर्तिका लागि संस्थाको गरिमामा आँच पुर्याउने कार्य सोच्ने वा गर्ने छुट कसैलाई छैन ।’
सेनाको सामुन्ने सुरक्षा चुनौतीहरु झन् संवेदनशील र पेचिलो बन्दै गएको उहाँको निश्कर्ष छ । नेपाली सेना परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा नीतिलाई आधार मानेर मित्रराष्ट्रका सेनाहरुसँगको सम्बन्ध थप सुदृढ गर्दै सहयोगका क्षेत्रहरु विस्तार गरी क्षमता अभिवृद्धि तथा दीगो सैनिक कुटनीतिअनुरुप अगाडि बढेको प्रधान सेनापतिले सुनाउनुभयो ।
सेनाले भोलि आफ्नो २६० औं स्थापना दिवस मनाउँदै छ ।
टिप्पणीहरू