‘पोइला जान तयार पारी’ सम्म भने

‘पोइला जान तयार पारी’ सम्म भने

-इन्दिरा रानामगर, उपसभामुख

जीवनको तीन दशकभन्दा बढी कैदी–बन्दीका सन्तानकी ‘आमा’ भएर काम गरेकी इन्दिरा रानामगर अहिले उपसभामुखका रूपमा फरक भूमिकामा आइन् । २२ वर्षअघि दुई कोठा भाडामा लिएर काठमाडौंमा कैदीबन्दीका असहाय सन्तानलाई आफ्नै संरक्षणमा लालनपालन गर्न थालेकी उनले यो अवधिमा २ हजारभन्दा बढी बालबालिकालाई लालन–पालन र शिक्षा–दीक्षा दिइन् । अहिले सार्वभौम संसदको उपसभामुखको भूमिकामा आएकी छन् । ५२ वर्षअघि स्व. प्रताप र स्व.मनमाया रानामगरका कान्छी सुपुत्रीका रूपमा झापा, अर्जुनधारामा जन्मिएकी उनको प्रेरणाको स्रोत साहित्यकार पारिजात हुन् । उनकै सान्निध्यताले कैदीबन्दीको सन्तानको पालनपोषण, शिक्षादीक्षा र बालअधिकार र मानवीय सेवामा लागेकी हुन् । ३३ वर्ष अनवरत यो क्षेत्रमा लाग्दा विदेशीले चिने, स्वदेशले चिनेन । उनको योगदानको कदर गर्दै सन् २००५ मा ‘अशोका फेलो’, सन् २००९ मा ‘एसिया जनसेवा’ अवार्ड, २०१४ मा नोबेल पुरस्कार विजेता पाकिस्तानकी युसुफ मलाला र अमेरिकी जोन उडसँगै प्रतिष्ठित ‘वल्र्ड चिल्ड्रेन अनररी अवार्ड’ र २०१७ मा बिबिसीले विश्वका सिर्जनशील महिलाहरूको सूचीमा उनको नाम समावेश गरिसकेको छ । उनलाई उपसभामुख बनाउने कुरामा एमाले अध्यक्ष केपी ओली शुरुमा सहमत थिएनन् । इन्दिराले प्राप्त गरेका यी उपलब्धिको फेहरिस्त बुझाइएपछि ओली इन्दिरालाई उपसभामुख बनाउन राजी भएको चर्चा संघीय संसद सचिवालयतिर सुन्न पाइन्छ । 

– हरि गजुरेल 

हिजोको पृष्ठभूमि र आजको भूमिकालाई कसरी व्यवस्थापन गर्नुहुन्छ ? 

– हिजोको अनुभवले एक प्रकारको ज्ञान दिएको छ । म जसरी र जुन परिवेशमा हुर्किएँ, मैले पाएको शिक्षामध्येको त्यो उत्कृष्ट थियो । हिजो सिन्काले लेख्थेँ, अहिले ५२ वर्षकी भएँ । अझै पनि कतिपय बालबालिका सिन्काले लेखेर पढ्नुपर्ने बाध्यतामा छन् । स्थिति सुध्रिएको छैन । बाल्यकालको अनुभवलाई ज्ञानको रूपमा लिएकी छु । मजस्तै अवसर नपाएका बालबालिका, जो भूगोल, जातीय विभेद, सीमान्तकृत भएका कारण शिक्षा पाउन सकिरहेका छैनन् । ती अनुभवलाई ज्ञानको रूपमा लिएर सदन, सडक र नागरिक आमचासोलाई आत्मसात् गरेर नेपालको संविधानले दिएको हक, अधिकारअनुसार काम गर्छु, सम्मानीय सभामुखसँग सहकार्य गरेर प्रतिनिधि सभाको सदनलाई तटस्थ रहेर अविचलित भई, मर्यादित अनुशासित, प्रभावकारी बनाएर अगाडि लैजान भूमिका निभाउनेछु । 

पारिजातको संगतमा नआउनुभएको भए आजको ठाउँमा हुनुहुन्थ्यो ? 

– दिदीको संगतमा नआएको भए जेलचाहिँ बुझ्दिनथें होला । विद्रोही महिलाले गर्नुपर्ने भूमिका त गाउँबाटै निभाउँदै आएकी हुँ । सानैदेखि अलि विद्रोही स्वभावको महिला थिएँ । ९ कक्षामा पढ्दाखेरी नै मजस्तै पढ्न नपाएका छोरीहरूलाई पढाउँदै आएको थिएँ । यसरी छोरीहरूलाई पढाउँदा ‘चिठी लेख्न सिकाएर पोइला जानलाई तयार पारी’ भन्ने आरोप खेपियो । आफैँले पढेको स्कूलमा पढाउँदै गर्दा जागिर खोसियो । छोरीलाई पढाउनुहुन्न, छोरालाई मात्र पढाउनुपर्छ भन्ने विभेदको पर्खाललाई चाहिँ पहिलेदेखि नै चिर्दै आएको थिएँ । जेलभित्र रहेका कैदीबन्दी र तिनका सन्तानको हकहितमा काम गर्नुपर्छ भन्ने प्रेरणाको स्रोतचाहिँ पारिजात दिदी हुनुहुन्छ । जेलभित्र पनि निर्दाेष बालबालिका हुन्छन् । जेलभित्रका मानिसलाई पनि आधारभूत मानवअधिकार पाउनुपर्छ भन्नेचाहिँ पारिजातबाट सिकेको हो । 

अहिले निर्माण भएको गठबन्धन सत्ताका लागि केन्द्रित रह्यो भन्ने आरोप छ, मान्नुहुन्छ ? 

– क्रान्तिपछि रहेक ठाउँमा केही न केही परिवर्तन भएको छ । यद्यपि, विभेद अनेकन रूपबाट आइरहेको छ । अहिले हामीसँग प्राप्त भएका उपलब्धिको रक्षा गर्दै शान्तिपूर्ण तवरले अगाडि लैजानुपर्छ । नेपाली जनताको हक, हितका लागि निष्पक्ष ढंगबाट काम गर्नुपर्छ । राजनीतिक भागबण्डाका आधारमा होइन कि राइट म्यान इन राइट प्लेस हुनुपर्छ । नियुक्ति, बढुवा गर्दा क्षमतालाई हेरेर सही मान्छेलाई सही ठाउँमा पठाउनुपर्छ । यदि, कसैको नियुक्ति, सरुवा वा बढुवामा विभेद भएन भने त्यसै सुशासन आउँछ र परिवर्तन पनि हुँदै जान्छ । राम्रो व्यवस्था बनाउन एक जना, एउटा पार्टी मात्र नभएर सबैको भूमिका हुनुपर्छ । गठबन्धन, सहकार्य पदका लागि मात्र होइन कि देश सञ्चालन, राष्ट्र निर्माणका लागि हुनुपर्छ । अहिले हामीकहाँ त्यसअनुसार हुन सकेको छैन । पदका लागि गठबन्धन गरेजस्तो देखिएको छ । यसलाई चिर्नुपर्छ । सत्ताकै लागि गठबन्धन बनेजस्तो देखिन्छ । सत्ताको बाँडफाँड मात्र नभई देश विकासको बाँडफाँड गर्नुपर्छ । 

सामाजिक कर्ममा रमाइनुभएको व्यक्ति राजनीतिमा एकाएक कसरी युटर्न हुनुभयो ? कुन तत्वले गाइड ग¥यो ? 

– राजनीतिमा म नयाँ हुँला तर विषयवस्तु त नयाँ होइन । राजनीतिमा होमिएका नेताहरूले बोक्ने भनेकै आमजनताको समस्या हो । तर पात्र कस्तो हुन्छ, त्यसैमा भर पर्ने कुरा हो । त्यही नभएर म राजनीतिमा लागेको हुँ । मैले बालबालिकाका संरक्षण गरें, उनीहरूको शिक्षा, दीक्षामा लागिपरेँ । तर, उनीहरूको अधिकार सुनिश्चित हुनुपर्छ । भोलि म मरेर जाँदा पनि उनीहरूको नागरिकताको हक, पहिचानको हक, पोषणयु्क्त खाना, स्याहार, सुसारलगायत हरेक कुरा सुनिश्चित गर्नै म राजनीतिमा आएको हुँ । राजनीतिले मेरो आवश्यकता देखेको हुनाले म राजनीतिमा आएको हुँ । बाध्यताले होइन कि खुशीले राजनीतिमा होमिएको हुँ । ३३ वर्ष बालबालिका, बन्दीका लागि कुरा उठाएँ तैपनि ठोस अधिकार सुनिश्चित नभएका कारण मुख्य बागडोर राजनीति रहेछ भनेर यता होमिएकी हुँ । हिजो सडकमा कराउँदै थिएँ, अब सडकमा कराउँछु भनेर आएको तर परिस्थितिले एउटा फराकिलो ठाउँ, जो पार्टीभन्दा माथि उठेर देशको विभिन्न कुनाको आवाज सुन्ने र सम्बोधन गर्ने ठाउँमा पु¥याएको छ । प्रतिनिधि सभाको गरिमा राख्ने गरी, यसलाई प्रभावकारी, मर्यादित र सुसंकृतयुक्त बनाएर लैजाने मेरो चाहना छ र प्रयास पनि त्यहीअनुरूप हुनेछ । 

तपाईलाई उपसभामुखका लागि कसले प्रस्ताव ग¥यो ? 

– पार्टीका नेताहरूको एकमत थियो । एकातिर फराकिलो विचार, अर्काेतिर जनजाति भएको, संवैधानिक परिषद्मा हाइकाष्ट मात्र भएको हुँदा मलाई नै उपयुक्त ठानिएको हो । 

झापाको चेली तपार्इं, तपार्इंलाई उपसभामुख बनाउने समयमा झापाली केपी शर्मा ओलीले ‘एनजिओवाला महिलालाई नबनाऔँ भनेर अब्जेक्सन राख्नुभएको थियो भन्ने सुनिन्छ । वास्तविकता के हो ? 

– सोविता गौतम कानुनी पृष्ठभूमिको, कानुन बुझेको महिला, उपसभामुख पद पनि कानुनसँगै जोडिने ठाउँ । त्यही कारण कानुनी ब्याकग्राउण्डकै मान्छेलाई ल्याउँदा उचित हुन्छ भन्नुभएको होला । पछि ३३ वर्ष निरन्तर बालबालिकाको क्षेत्रमा काम गरेको, मैले पाएका उपलब्धि देखाइएपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कन्भिन्स हुनुभयो भन्ने सुनेको हुँ । तर, मलाई उपसभामुख बनाउने विषयमा पार्टी सभापति, पार्टीका टिम र माननीयहरूको एकमत थियो । पार्टीको सर्वदलीय बैठकमा मेरै अगाडि उहाँहरूले इन्दिरा नै उपसभामुख हुनुपर्छ भनेर कुरा राख्नुभएको थियो । 

बालबालिकाको हकहितका लागि लड्दा लड्दै विवाह गर्न पनि बिर्सनुभयो भन्ने सुनिन्छ, हो र ?

– टीकाटालो गरेर विवाह गरेको हो । झ्याइँझ्याइँ विवाह गरेको होइन, त्यही कारण अविवाहित भनिएको हो कि ! हजारौं छोराछोरीहरूको पालनपोषण गरेँ । मेरो कोखबाट जन्मिएकी एउटा छोरी छिन्, सुविना आलेमगर । अहिले पिए नेपाल संस्थाको प्रमुखको भूमिका छिन् । विवाह पछाडिको दुई वर्षजस्तो श्रीमान्सँगै रह्यौं । उहाँ अर्काे लिएर हिँड्नुभएपछि अलग जीवन बिताएकै २४ वर्ष भइसकेछ । दश महिनाअगाडि श्रीमान् बित्नुभयो भन्ने सुनेको हुँ । 

हिजो सुवास नेम्वाङ सभामुख हुँदा उपसभामुखले भूमिका पाउनुभएन भन्ने सुनिन्थ्यो । उपसभामुखको भूमिका साँघुरो हुन्छ भनिन्छ, त्यस्तो अनुभूति गर्नुभयो ? 

– मर्यादापालकहरूले भनेअनुसार, उहाँलाई बोलाउँदा पनि हाउसमा जानुहुन्नथ्यो रे ! कार्यालयमै बसिरहनुहुन्थ्यो भन्ने सुनेकी हुँ, योभन्दा बढी जानकारी छैन । उपसभामुखले संविधानले दिएअनुसार भूमिका निभाउने हो । संविधानको धारा ५१ (४) अनुसार, सभामुखको अनुपस्थितिमा प्रतिनिधिसभाको अध्यक्षता लिने, सम्माननीय सभामुखज्यूसँग सहकार्य गरेर जनताको प्रतिनिधि सभाको सदनलाई प्रभावकारी, मर्यादित ढंगले अगाडि बढाउने जिम्मेवारी दिएको छ । यसका अलावा संविधानको धारा २८४ ले संवैधानिक परिषद्को कल्पना गरेको छ । सो परिषद्को उपभामुख सदस्य रहने व्यवस्था गरेको छ । प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दल र प्रधानन्यायाधीश रहन्छन् । विभिन्न आयोगका नियुक्ति हेर्छ यसले । राज्य सञ्चालन गर्ने ठाउँ हो त्यो । यसका अलावा संघीय संसद् सचिवालय पनि हेर्नुपर्छ उपसभामुखले । संघीय संसद सचिवालय ऐन ०६४ दफा ६ अनुसार सचिवालय व्यवस्थापन गर्न बनेको समितिको सदस्यको भूमिका हुन्छ, उपसभामुखको । संघीय संसदलाई सुचारु गर्नुका अलावा कर्मचारीलाई नियुक्ति, बढुवालगायत काम हुन्छ । माननीयहरूको व्यवस्था, अन्तरक्रिया, सदन चलाउनेसम्मको काम हुन्छ । कामै छैन भन्न मिल्दैन । 

हिजो केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ५३ पदाधिकारीको नियुक्तिविरुद्धको मुद्दा सर्वाेच्चमा विचाराधीन छ । तपाईं सदस्य रहेको संवैधानिक परिषद्ले तत्काल नियुक्ति गर्न ठाउँ रहेन नि !

– पहिला के प्राक्टिस थियो त्यो मलाई थाहा भएन । संवैधानिक परिषद्को सदस्यमा उपसभामुख रहन्छ । मेरो अधिकार कसरी खोज्ने, त्यो मैले राम्रोसँग जानेकी छु । उपसभामुखले खुम्चिएर बस्ने होइन कि उपसभामुखको भूमिका पहिलाको भन्दा फराकिलो र सशक्त बनाउन, संघीय संसदको नीति निर्माणका लागि जति भूमिका छ त्यो सशक्त हुन्छ । परामर्श, बहस गरेर उपसभामुखको भूमिका सशक्त बनाउन लागिपर्छु । 

उपसभामुखको भूमिका सशक्त बनाउनका लागि के–के गर्ने योजना छ ? 

– आफू लागेको खण्डमा सशक्त हुने हो । सुतेर त कहाँ सशक्त हुन्छ र ? सदस्यका नाताले हरेक बैठकमा उपस्थित भएर आफ्ना मनमा लागेका, नियमसंगत कुरा राख्ने हो । नियम विपरीतको कुरामा अब्जेक्सन राख्ने हो । मैले अब्जेक्सन गर्न पनि पाउँछु नि ! ‘राइट म्यान इन राइट प्लेस’ भन्ने विषयमा खरो रूपमा उत्रनेछु । सदन, सडक र नागरिकको आमचासोलाई आत्मसात् गरेर उठान, सम्बोधन गर्ने प्रयास गर्नेछु । विधेयकमा चित्त नबुझेका कुरामा स्पष्ट राख्नेछु । माननीयहरूले उठाउनुभएको विषय सुन्ने, विचार राख्नेछु । क्यालेन्डरको कुरा गरिरहेका छौं । शीर्ष नेतृत्वलाई समय सीमा हुँदैन भनिरहेका छौं । अब समय–सीमा तोक्ने तयारी गरिरहेका छौं । कोही समयमा इमर्जेन्सी आउला, विधेयक तत्काल पास गर्नुपर्ने हुन्छ । त्यसैले फ्ल्याकजिबिलिटी सबै समयमा राम्रो नहोला ।

हाउस कसरी चलाउनुहुन्छ ? 

– हाउसमा मात्र मेरो काम छैन । २० दिनमा ३ वटा हाउस चलाइसकें, पालैपालो । सम्माननीय सभामुख कतै विदेश भ्रमणमा जानुहोला । हाउस राम्रैसँग चलाउन सक्छु, म मा पूर्ण आत्मविश्वास छ । 

महिलाहरू ‘उप’मा थन्क्याउनकै लागि बनाइएको हो ?

– यो पनि एउटा प्रगति नै मान्नुपर्छ । हिजोका दिनमा त्यति पनि थिएन । समावेशीताको सुन्दरता नै यही हो । सभामुख महिला भएको भए पुरुष नै उपसभामुख हुन्थे । अहिले महिलाले चान्स पनि पाएका छौं । यसलाई चिर्दै लैजानुपर्छ । महिलालाई अभिमुखीकरण कार्यक्रम चलाउनुपर्छ । हाम्रो देशको महिला प्रधानमन्त्री बन्न सक्छन् । जो सक्षम छन्, तिनैले पालो पाउने हो । हामीकहाँ महिला पनि एक से एक छन् । 

त्यसोभए उपसभामुखको भूमिका साँघुरो छैन ?

– अघिल्ला सदनबाट पास हुनुपर्ने २८ वटा विधेयक थिए, ती निष्क्रिय भए । सरकारले बिजनेस दिए न हाउस चल्ने हो । अहिले चार वटा विधेयक दर्ता भएका छन् । धेरैजसो सरकारी विधेयक नै त त्यहाँ आउने हो । निजी विधेयक कमै आउँछन् । व्यवस्थापिकाले तोकेको समिति छन् । मन्त्री, सचिवहरू भेट्न आइरहेका छन् । कार्यालयमा गइरहेको छु । संघीय संसद सचिवालयलाई व्यवस्थापन गर्ने बनेको समिति छ । त्यहाँ विभिन्न काम हुन्छ । स्टाफदेखि माननीयहरूकै हकमा काम गर्नुपर्ने हुन्छ । नदेखिएको हो । काम भइरहेको हुन्छ । विधेयक अध्ययन गरिरहेको हुन्छ । नपढी लाहाछाप लगाउने कुरा भएन । 

हिजो बालबालिकाको हकहितका लागि लाग्दा तीता क्षण पनि थिए होलान् । अहिले उपसभामुख बनेपछि त्यस्ता पात्रहरू बधाई दिन आए कि आएनन् ? 

– बधाई धेरैले दिए । मैले कसैसँग पूर्वाग्रह राखिनँ । सबैलाई राम्रै सोच्छु । कसैले भित्र लुकाएर राखेको भए के बुझ्नु ? कोट्ट्याएर कहिल्यै हेरिनँ ।

रास्वपाबाट सांसद हुँदै उपसभामुख बन्नुभयो । गृह नपाएपछि सरकारबाट रास्वपाको बहिर्गमनलाई कसरी लिनुभएको छ ?

– म अहिले सो पार्टीमा छैन । पदबाट राजीनामा दिइसकेँ । त्यो उहाँहरूको पार्टीको निर्णय हो । हाम्रो देशमा राम्रा नेता छन् भनेर देखाउने गरी सबैले काम गरौँ ! 
 

टिप्पणीहरू