रामचन्द्रलाई भोट माग्दै देउवाको पत्र ओलीलाई
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति निर्वाचनमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउनुभएको छ ।
राष्ट्रपतिका लागि राष्ट्रिय सहमति आवश्यक पर्ने र त्यसका लागि पौडेल उपयुक्त उम्मेदवार भएकाले उनको पक्षमा मत हाल्न पत्रमा आग्रह गरिएको छ । त्यस्तै, सालिन, बौद्धिक र सुसंस्कृत छविका पौडेल लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व भएको स्मरण गराउदै देउवाले उनलाई विजयी गराउन एमालेले समर्थन गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
'लोकतन्त्र भन्नु निर्वाचन मात्र होइन र निर्वाचन भन्नु जित-हार मात्र होइन, हामी जान्दछौं', देउवाको पत्रमा भनिएको छ, 'यो अभ्यासले समाजलाई सु-संस्कृत सन्देश दिन सक्नुपर्छ l त्यही स्मरणसाथ यो पत्र यहाँलाई लेखिरहेको छु । राष्ट्रपति पदमा माननीय श्री रामचन्द्र पौडेललाई विजयी गराउन उपयुक्त हुने विषयमा ध्यानाकर्षण गरिरहेको छु l'
संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने राष्ट्रिय कार्यभार कुशलतापूर्वक सम्पादन गर्दै देशको आर्थिक-सामाजिक रुपान्तरणतर्फ गतिशील ढंगले अघि बढ्नु आजको राष्ट्रिय दायित्व भएको भन्दै पत्रमा त्यसलाई पूरा गर्न पौडेलले अभिभावकीय भूमिका निभाउन सक्ने विश्वास दिलाउन चाहेको उल्लेख छ ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि काँग्रेससहित आठ दलीय गठबन्धनका तर्फबाट पौडेल र एमालेबाट सुवास नेम्वाङको उम्मेदवारी परेको छ । एमालेले यसअघि नै संसदमा रहेका काँग्रेस बाहेकका सबै दललाई पत्र लेखेर भोट मागिसकेको छ ।
टिप्पणीहरू