हामीले नसक्दा अर्कैले छाेप्छ

हामीले नसक्दा अर्कैले छाेप्छ

-गुरुराज घिमिरे, कांग्रेस युवा नेता

कांग्रेसमा देउवाको एकपछि अर्को असहयोग वा असंयोजनकारी गतिविधिबाट पीडित एक जना युवा नेता हुन्, गुरुराज घिमिरे । उनी तिनै नेता हुन्, जसले नेविसंघको अध्यक्ष हुँदा ०६२/६३ को जनआन्दोलनको नेतृत्व गरे । उनका महामन्त्री थिए, गगन थापा । उनी त्यही जनआन्दोलनबाट राष्ट्रिय नेताका रुपमा स्थापित भए । गुरुचाहिँ त्यसपछि स्थापित हुनुपर्नेमा उल्टो भए, तुलनात्मक रुपमा विस्थापित । मोरङका बासिन्दा । कांग्रेसको प्रदेश अध्यक्ष, प्रदेश सांसदका उम्मेदवार बने, हारे । राम्रो राजनीतिक विश्लेषक हुन् । 

अबको राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसको बाटो कति सजिलो, कति अप्ठ्यारो पाउनुहुन्छ ?

– हामीले गरेको राजनीतिक परिवर्तनलाई बारम्बार गुमाउनुपरेको छ । ०५९ सालमा प्रतिगमन व्यहोर्नुप¥यो । ०६३÷६४ पछि यो प्रणालीलाई राम्रोसँग सञ्चालन गर्न सकेनौँ । लोकतन्त्रमाथि कालो बादल मडारिरह्यो । लोकतन्त्रप्रति नै प्रश्न चिह्न उभ्याइँदै आएको छ । यसमा हाम्रो कमजोरी प्रमुख कारक हुन् । यसकारण नेपालको लोकतन्त्र प्रणाली सुरक्षित भइसकेजस्तो देखिँदैन । परम्परावादी र लोकतन्त्र नचाहने शक्तिले निरन्तर प्रहार गरिरहेका छन्, प्रहार गर्ने ठाउँ हामी र हाम्रो कार्यशैलीले दिएको छ । हामीले जनताको चित्त बुझाउने, जनभावनाको ख्याल गरेर, विधि, पद्धतिअनुसार शासन सञ्चालन गर्न सकेनौं । प्रजातन्त्र, लोकतन्त्र संकटमा छ भन्ने अवस्था हाम्रै कारणले पैदा भएको छ ।  

राजनीतिक भूमिकाको व्यवस्थापन गर्न नसक्दा पुस १० अघि कांग्रेस जहाँ थियोे, पुस १० पछि त्यहाँबाट दुर्घटित भएको हो ?

– गठबन्धनमा सँगै हिँडिसकेपछि, केही आफ्ना र केही सहभागी दलका कुराअनुसार नै मिलाएरै परिणाम निकाल्ने हो । गठबन्धनमा सबै कुरा आफैँले भनेजस्तो हुँदैन । पुस १० मा हामीले होसियारी अपनाउनै सकेनौँ कि ! गठबन्धनमा आबद्ध दलहरूसँग समझदारी गरेर अगाडि बढ्न सकेनौँ भने प्रतिकूल अवस्था पनि बन्न सक्छ । सबै ठाउँबाट हात धुनुपर्छ भन्ने कुराको आकलन हामीले गर्न सकेनौँ । पुस १० मा एमाले माओवादी मिलेर जुन गठबन्धन बन्यो । त्यसले अहिले सकस उत्पन्न गरेको छ । त्यही सकसका कारण अहिले राष्ट्रपति निर्वाचनमा हामीले यति धेरै टाउको दुखाउनुपरेको छ । कांग्रेसले सहजैसँग राष्ट्रपति पाउँथ्यो । संघ, प्रदेशका सरकार कांग्रेसकै सहभागितामा बन्थ्यो । त्यसैले हामीले होस नपु¥याउँदा यो घटना भएको हो । साना घटकलाई दोष लिएर हुँदैन । हाम्रो पार्टीको जिम्मेवारी, सुझबुझ प्रदर्शन गर्न नसकेका कारण पुस १० गते आएको हो । अहिलेको हकमा आशावादी हुन सकिन्छ । 

राष्ट्रपतिको निर्वाचनमा के देख्नुहुन्छ ? 

– राजनीतिमा सबै ढोका खुला राखेर मान्छेहरूले गतिविधि गरिरहेका हुन्छन् । उहाँले पनि अप्सन सबै अप्सन खुल्लै राख्नुभएको होला । कांग्रेससँगको गठबन्धन हठात् भत्काएर उहाँ एमालेसँग गठबन्धन गर्नका लागि पुग्नुभयो । उहाँको विगतदेखि अहिलेसम्मको स्वभाव, आनी, बानी व्यवहार हेर्दा भोलि के गर्नुहुन्छ भनेर अहिल्यै अनुमान गर्न सकिँदैन । तर, उहाँसँग पनि प्रशस्त विकल्प छैनन् । प्रधानमन्त्री पदमा टिकिरहनका लागि एमालेसाथ छाडेर आउँदा कांग्रेसको साथ चाहिन्छ । प्रधानमन्त्री पदमा टिकिरहने हो भने एमाले वा कांग्रेसमध्ये एउटा दलको साथ चाहिन्छ । उहाँलाई नेपाली कांग्रेसकै साथ चाहिन्छ भन्ने लागिरहेको होला । पुस १० को जगमा उहाँ प्रधानमन्त्री बन्नुभएपछि जे–जस्ता अप्ठ्यारा महसुस गर्नुभएको छ त्यो कुरा उहाँका पार्टीका नेताहरूले अभिव्यक्त गर्दै आइरहनुभएको छ । अन्तर्यमा के छ र भोलि के गर्नुहुन्छ भन्ने कुरा अहिले नै अनुमान गर्न सकिँदैन । एउटा कुरा,  नेपाली कांग्रेसका धेरै मतदाताको मतबाट उहाँको पार्टी अहिले सरकारमा छ । 

कांग्रेस नेतृत्वमा दूरदृष्टि नहुँदा देशले यो दुर्गति व्यहोर्नुपरेको मान्नुहुन्छ ?

– हामीले संघर्ष, आन्दोलन, क्रान्ति ग¥यौँ र सोहीको जगमा प्रजातन्त्रको स्थापना, पुनःस्थापना हुँदै लोकतन्त्रको स्थापना गर्न सफल भयौँ । जुन राजनीतिक प्रणालीअनुसारको  शासन व्यवस्था राम्ररी सञ्चालन गर्न सकेको भए यस्तो स्थिति नै आउने थिएन नि ! प्रजातन्त्र स्थापना भएको ३४ वर्षपछि पनि प्रजातन्त्र संकटमा छ भन्दै छौँ । मुलुकको विधि, व्यवस्थालाई पालना गर्दै जनतालाई चित्त बुझाएर नयाँ पुस्ताको भविष्यलाई आश्वस्त पारेर, मुलुकका सबै संस्थालाई उन्नति, प्रगतिको बाटोमा हिँड्ने वातावरण बनाइदिएको भए आज यो अवस्था आउने नै थिएन । यसमा एमाले, माओवादी पनि हाराहारीकै दोषी छन् । उनीहरूले बारम्बार सत्तारुढ हुने मौका पाएका छन् । हामी प्रजातन्त्रवादी भएका नाताले हामीले प्राप्त गरेको अवसरलाई सदुपयोग गर्न सकेको भए आज मुलुकको यो स्थिति रहने थिएन । 

अबको राष्ट्रपति कांग्रेसको भन्ने कुराले बजार पाएको छ । तपाईंलाई के लाग्छ ?

– नेपालमा साझेदारको राजनीति अगाडि बढेको छ । ०६३ को आन्दोलनपछि साझेदारी भयो, तब परिणाम निकाल्न सकेका छौं । साझेदारको राजनीतिले तत्कालका लागि मुलुकको हित गर्छ । एक्लाएक्लै लडेर हामी कहीँ पुग्दैनौँ अहिलको धरातलीय यथार्थ यही हो । ०७४ सालको निर्वाचामा जनताले दुई तिहाइ मत दिएर जिताए । त्यसले पनि हामीलाई कहीँ पु¥याएन बरु मुलुकलाई नै दुर्घटनाको मुखमा पु¥यायो । यस पटकको संसदीय दलको निर्वाचनको परिणाम हेर्दा ठूलो पार्टीको रूपमा कांग्रेस स्थापित भएको छ । दोस्रो ठूलो पार्टीले सभामुख पद प्राप्त गरिसकेको छ भने तेस्रो ठूलो पार्टी प्रधानमन्त्री पद पाएको छ भने पहिलो पार्टीलाई मुलुकको प्रमुख प्रतिपक्षी मात्र बनाएर राख्ने हो भने मुलुकको राजनीतिक शक्ति सन्तुलन बिग्रन्छ । त्यही कारण पहिलो दल राष्ट्रपति, दोस्रो दल सभामुख र तेस्रो दल प्रधानमन्त्री हुँदा चेक एण्ड ब्यालेन्स हुन्छ । राष्ट्रपति नेपाली कांग्रेसको बन्दा प्राकृतिक पनि हुन्छ । 

कांग्रेसले राष्ट्रपति पाउने हो भने सम्भावित राष्ट्रपतिको उम्मेदवारमा सभापति देउवा, रामचन्द्र पौडेल वा सिटौला कसको प्रवल सम्भावना देख्नुहुन्छ ?

– प्रधानमन्त्री नपाएपछि विकल्पमा राष्ट्रपतिका रूपमा रामचन्द्र पौडेलले आफूलाई उभ्याइरहनुभएको हो । उहाँलाई राष्ट्रपति बनाइँदा पार्टी र मुलुकले न्याय गरेको देखिन्छ । सभापतिको पद, देशको प्रधानमन्त्री पनि बन्न पाउनुभएन । उहाँको दावा स्वाभाविक देखिन्छ । सभापति आफैँ म राष्ट्रपति हुन्छु भन्नुभयो भने उहाँलाई रोक्ने कसले र ? त्यसलाई अस्वाभाविक र दावा नै पुगे न भन्ने ठाउँ पनि रहँदैन । पार्टीभित्र न्याय गर्ने हो राष्ट्रपतिमा रामचन्द्र पौडेललाई नै पठाउँदा राम्रो हुन्छ ।

अब रामचन्द्रले न्याय पाउनुहोला त ?

– दुनियाँमा लोकतान्त्रिक पार्टीहरू खिइँदै गएको, नफष्टाएको उदाहरण पनि छन् । पार्टीभित्र न्याय नभएर, दण्ड र पुरस्कारको व्यवस्था नभएरै हो । उसको संघर्ष, योगदान, क्षमता, राष्ट्रिय र पार्टीभित्रको आवश्यकतालाई महसुस गरेर उसलाई अवसर नदिँदा पार्टी खिइँदै जान्छन् र ती पार्टीप्रतिको जनआकर्षण घट्दै जान्छन् । देशभरका धेरै साथीलाई अन्याय भएको छ पार्टीभित्र । अन्याय होला कि भन्ने होला शंका गर्ने ठाउँ छ, विगतको घटनाक्रमले त्यो ठाउँ दिएको छ । अहिलेचाहिँ न्याय हुन्छ भनेर शतप्रतिशत ग्यारेन्टी गर्न म सक्दिनँ । तर, मेरो सुझावचाहिँ नेपाली कांग्रेस पार्टीभित्रका अन्य आकांक्षीमध्ये रामचन्द्र पौडेल दाइलाई त्यो अवसर दिँदा जायज हुन्छ । 

माओवादी केन्द्र वा कम्युनिष्टहरूसँग कांग्रेसले गरेको र फेरि गर्न चाहेको सहकार्य राजनीतिक दृष्टिले नैतिक छैन भन्ने कोणबाट कुरा उठ्ने गरेको छ । तपाईं के भन्नुहुन्छ ?

– राजनीतिक संघर्षको दौरान यस्ता गठबन्धन, सहकार्य हुनुलाई अस्वाभाविक मानिँदैन । पञ्चायतकालीन संघर्षको दौरान सबै भएर नेपाली कांग्रेसलाई एक्ल्याएको विगत हेर्दा कसैसँग पनि सहकार्य गर्न जरुरी होइन तर समय, राष्ट्रिय आवश्यकतालाई दृष्टिगत गर्दा ०४२ सालमा गणेशमानको नेतृत्वमा सहकार्य भयो । ०६२ को आन्दोलनपछि गिरिजाप्रसाद कोइरालाको सरकारमा पनि सहकार्य भयो । बीचमा संविधान बन्नेजस्तो महत्वपूर्ण कार्यमा सहकार्य भयो । तर, तपाईंले उठाउनुभएको प्रश्न र बुद्धिजीवी तथा प्रजातन्त्रवादीहरूले गरेको संकेतचाहिँ वैचारिक, दार्शनिक धरातलमा विचार, सिद्धान्त मिल्नेसँग मात्र एकता गर्ने हो । भिन्न दर्शन, उद्देश्य, लक्ष्य भएका दलसँग सहकार्य गर्दा अरु दलको र हाम्रो पनि बाटो अलमलिन्छ । नेपालको अहिलेको राजनीति अलमलिएको हो । आवश्यकताभन्दा पनि सहकार्य गर्दा अहिले नेपालको राजनीति अलमलिएको छ । कांग्रेस र कम्युनिष्ट चरित्र, दर्शन, वैचारिक कुनै पनि रुपमा एक हुँदै होइनन् । हर समय, वर्षांैसम्म सहकार्यको कुरा गर्नु मुलुकका लागि युक्तिसंगत र आवश्यकता पनि छैन । सहकार्यको रटानले मुलुकलाई अगाडि बढाएको पनि छैन । राजनीतिक उद्देश्य जनताको जीवन बदल्ने हो । जनतालाई सुखी बनाउने, समद्धि नयाँ पुस्ताको भविष्य सुरक्षित गर्ने हो । तर यी काम त हामीले गर्न सकेनौँ । त्यही कारण सहकार्यको कुनै तुक देखिएन । 

मूलधारको राजनीतिलाई वैकल्पिक शक्तिले चुनौती दिइरहेका छन् । मुलुकलाई यसबाट मुक्त गर्न अब दलहरूका कार्यभार के–के हुन् ?

– पुराना दलले आफूलाई आमूल रुपमा सुधार गर्नुपर्छ । बारम्बार उठेको प्रश्न ०६२ को जनआन्दोलनपछि हामी सुध्रिन्छौँ, सुशासन दिन्छौँ भनेर जुन प्रतिबद्धता व्यक्त गरेका थियौँ सोअनुसार गणतन्त्र आएपछि राजनीतिक दल चल्न सकेनन्÷चाहेनन् । जनतामा निराशा बढ्यो । देश विकासले  गति लिन सकेन । युवा विदेश पलायनको घटना निरन्तर बढिरहेको छ । आर्थिक संकट बढ्ने, बेरोजगारी बढ्ने घटना निरन्तर बढिरहेको छ । परम्परावादी शक्ति पनि उत्साही छ । नयाँ प्रणाली सफल नभएपछि पुराना शक्तिले टाउको उठाउनु, अगाडि बढ्न खोज्नु स्वाभाविकै हो । अहिले नयाँ शक्तिको उदय भएको छ । राप्रपाको जनमत विस्तार भएको छ । पुराना दलले जनभावनाअनुसार काम गर्न नसक्दा नयाँ शक्तिको उदय हुनु, पुराना शक्तिले टाउको उठाउन खोज्नु स्वाभाविक हो । यो प्रणालीलाई हामीले सफल बनाउन सकेनौँ भने या त नयाँ शक्ति उदय हुन्छ वा त पुराना शक्तिले टाउको उठाउन खोज्छ । त्यसलाई पनि कसैले तल पु¥याउन सक्दैन । त्यही कारण राजनीतिक दलले आफूलाई सुधार गरेर जनताको अगाडि एकदमै शिर निहु¥याएर नतमस्तक भएर अब आइन्दा त्यस्तो गल्ती गर्दैनौं भनेर वाचाबन्धन गरेर व्यवहारमा दलहरू सुध्रिएको देखिनुपर्छ । ०६२÷०६३ मा जस्तो बोलदिएर मात्र पुग्दैन । अन्तिम मौका पुराना राजनीतिक दलहरूसँगै छ तर यो मौका अन्तिम हुन सक्छ । 

एमालेले आफ्नो राजनीति चलाउन राप्रपा र रास्वपाहरूसँग बढाएको सहकार्यको हात मुलुकका निम्ति कति लाभदायक वा हानिकारक पाउनुहुन्छ ?

– संसद्मा उपस्थित भएका जनअनुमोदित शक्तिहरू राष्ट्रिय पार्टी हुन् दुवै । इतिहास, पृष्ठभूमि, अहिलेको पहिचान के हो ती तपसिलका कुरा हुन् तर यी दुबै शक्ति जनताबाट अनुमोदित भएर आएका शक्ति हुन् । यी शक्तिसँग संसद्मै भएको अर्काे शक्तिले हात बढाउन खोज्नुलाई अन्यथा मान्न सकिँदैन । दोस्रो ठूलो पार्टी हो, उसले संसदमा आफ्नो गणित बढाउन, सरकारको नेतृत्व लिने प्रयास गर्छ । त्यो ढोका नेपाली कांग्रेससँग पनि खुला छ । हामीले गर्न सकेनौँ भने अर्काेले गर्छ । प्रचण्डजीलाई रोकेर हामीले सरकार गठन गर्न सकेनौँ । उहाँले अर्काे दललाई रोज्नुभयो । त्यसमा हाम्रो कमजोरी छ । सहकार्यका लागि हामीले पहलकदमी लिन सकेनौं भने अर्काे शक्तिले त्यो मौका छोपिहाल्छ नि !

कांग्रेसको राजनीतिमा लागेर किनारामा पारिएको एक जना बौद्धिक नेता तपाई, यहाँको दिनचर्या कसरी चलिरहेको छ ? 

– एउटा अठोट, संकल्पले राजनीतिमा लागेका व्यक्तिमा हामी पर्छाैं । बालिक नहुँदै राजनीतिमा होमियौं । महान् उद्देश्य बोकेर राजनीतिमा होमिएका हौँ । हाम्रा अग्रज नेताहरू संघर्ष, योगदानबाट अभिप्रेरित भएर राजनीतिमा लाग्यौँ । परिणाम पनि प्राप्त भयो, प्रणाली बदल्यौँ । पञ्चायत गयो, प्रजातन्त्र पुनःस्थापना भयो । त्यसयता पनि धेरै संघर्ष भए । निरन्तर योगदान दिइरहेका मजस्ता हजारौं साथी देशभर छन् । हाम्रो चिन्ता यो प्रणालीको जग बलियो होस्, यसले आफ्नो मर्मअनुसार देश र जनताको हितमा काम गरोस् । देशको प्रतिष्ठा उचाइमा पुगोस् र भौतिक विकास होस्, देशका नागरिकले गौरवसाथ म नेपाली हुँ भन्ने ठाउँमा पुगोस् भन्ने हाम्रो सपना, चाहना तर त्यो दिशामा मुलुक छैन । त्यही कारण चिन्ता लाग्छ र हामी नेताहरूका गल्ती, कमजोरी औँल्याउँछौं । कुशल नेतृत्व, जनताको साथ, छिमेकीसँगको सुमधुर सम्बन्ध भएन भने मुलुक अगाडि बढ्दैन । यो देश अगाडि नबढेको देख्दा कहिलेकाहीँ चिन्ता पनि लाग्छ । म लेखनमा पनि समय दिन्छु । समयको अभाव छैन, फालाफाल पनि छैन मेरा लागि । 
 

टिप्पणीहरू