दक्षिणबाट देखिएका दृश्य
एकातिर परराष्ट्रमन्त्री पद खुस्किएकै दिन विमला राई पौड्यालले ‘नबोलाएका विदेशी अधिकारीहरू नेपाल भ्रमणमा आउँदा देशको राजनीतिक वातावरणसमेत खलबलिने गरेको’ भन्दै संसदमा बोल्नु र दक्षिणी दूतहरू सीधै मुख्य ठाउँतिर सल्बलाउनु– देशको राजनीतिमा यी कुराले केही न केही संकेत गरिरहेका छन् ।
मधेश राजनीतिमा विकसित शक्ति सन्तुलनभित्र तीनखाले प्रवृत्ति अगाडि आउँदा उनीहरूलाई बेलाबेला घच्घच्याउने दक्षिणी दूतावास चूपचाप छ । बरु, सीधै मूलधारको शक्तिसँग संवाद गर्दै उसले आफ्ना कुरा राख्दै आएको छ । त्यही सूचना पाएपछि हो, विमला राई पौड्यालले संसदमा त्यस्तो बोलेको । यदि, दक्षिणी केन्द्रहरू पहिला–पहिलाजस्तो मधेशकेन्द्रित दलमार्फत आफ्ना नीतिप्रति दबाब दिन्थे भने सीधासिधी संवाद हुँदैनथ्यो । त्यसो हुनुका पछाडि संसद र सरकारमा मधेशी दलहरू निर्णायक तहमा नहुनु एउटा कारण हो । लोसपा र जसपाको स्थिति कस्तो छ भने दल फरक–चिन्ता समान ! दुबैलाई टिक्ने मेलो (सर्भाइवल पोजिसन) चाहिएको छ । लोसपामा अस्तित्वको संकट छ । चार नेताका चारै चिन्ता छन् ।
महन्थ ठाकुर, अनिल झा, शरद्सिंह भण्डारी र राजेन्द्र महतो अहिले चारतिर फर्किएका हुन् । शरद्सिंहले यस्तो राजनीतिक यात्राको भविष्य छैन भनी मन मारिसके । त्यसमाथि उनको कुनै संगठनात्मक शक्ति छैन । मधेशमा भन्छन्, ‘काठमाडौं उपत्यकामा नारायणमान बिजुक्छे र मधेशमा शरद्सिंह उस्तै हुन् !’ अर्थात्, आफ्नो जिल्लामा मात्रै केन्द्रित हुने, आफू जित्ने, अरूको चासो नगर्ने उनको बानी छ । चुनाव आएपछि केही निकटस्थलाई समानुपातिकमा हाल्ने, त्यसबापतको पैसाबाट आफूले चुनाव लड्ने उनको बानी हो । नियम कानुनले मिल्ने भए यतिबेला उनले लोसपा छाडिसक्थे ।
अर्कातिर, राजेन्द्र महतो र महन्थबीचको तालमेल अहिले बिग्रिएको छ । राजेन्द्र लोसपामा गएर महन्थमा सुधार हुने देखिएन । उनी गतिशील, चलखेल, दौडधुप र परिचालित गर्ने मान्छे हुन् । तर, अहिले चालचुल छैन । लोसपामा केही महत्वाकांक्षी युवा छन् । जितेन्द्र सोनलहरूको गुनासो छ, ‘यो तालले अगाडि बढ्दा हामी समाप्त हुन लाग्यौँ ।’ उनीहरूका लागि उपेन्द्र यादव उदाहरण भएका छन् । उनी चलायमान छन्, जहिल्यै पनि प्रमुख भूमिकामा आइहाल्ने । कहिले ओलीसँग, कांग्रेससँग मिल्न सक्ने । भनिन्छ पनि, प्रचण्डको मधेशी रूप उपेन्द्र हन्, उपेन्द्रको पर्वते रूप प्रचण्ड ! अर्थात्, सानो संख्याले ठूलो राजनीति चलाउने उनीहरूको बानी छ ।
अहिले रामसहायलाई उपराष्ट्रपति बनाउने उपेन्द्र यादवको सुरसारसँग उनको आफ्नै राजनीतिक भविष्य जोडिएको छ । रामसहायको योग्यता कांग्रेसमा देउवाका अगाडि बालकृष्णजस्तै हो, जो कहिल्यै बोल्दैन, असहमति जनाउँदैन । शेरबहादुरको राम्रो भए मेरो भइहाल्छ भन्ने बालकृष्णको अर्को संस्करण रामसहाय हुन् । उनी उपेन्द्रका स्थिर महामन्त्री पनि हुन् । र, अब उनले उपेन्द्रसँग टाँसिएकै कारण नसोचेको लाभ लिने भए । यस्तो किन पनि गर्नुपरेको हो भने, उपेन्द्र आफैँ संसदमा नपुगी पार्टी नियन्त्रणमा नआउने भयो ।
अशोक राईले स्पष्ट बुझेका छन्, जसपाको शक्तिबाट हैन, एमालेको शक्तिबाट सांसद भएको । एमालेसँग दूरी राख्न अशोक चाहँदैनन् । उपेन्द्र संसदमा भएनन् भने पार्टीको संसदीय मोर्चा एमालेले चलाउला भन्ने डर छ । अशोक राई वा पत्नी सुशीला श्रेष्ठलाई मन्त्री दिएन भने उनीहरूले विद्रोह गर्लान् भन्ने पिर छ । प्रदीप यादवहरूलाई मन्त्री नदिँदा त्यताबाट अर्को विद्रोहको खतरा छ । यी दुबै खतराभित्र केपी ओली हावी हुने स्थिति रहन्छ । त्यसैले यथास्थितिमा जसपा सरकारमा जानासाथ अप्ठ्यारो शुरु भइहाल्छ । सबैलाई मिलाउनका निम्ति उपेन्द्र आफैँ सरकारमा गए मात्र हो । त्यसैले उनले बाराको २ नं. क्षेत्र, जहाँ यादवहरूको वर्चस्व छ, त्यो रोजेका हुन् ।
मधेशमा उदाएको अर्को प्रवृत्ति हो, सिके राउत । जनमत पार्टीले जसपा र लोसपाको वर्चस्वमाथि धावा बोल्नु भनेको मधेशी जनमत परम्परागत शक्तिसँग रुष्ट हुनु हो । मधेश आन्दोलनको नेतृत्व उपेन्द्रले गरे, संसदमा उक्त आन्दोलनका शहीदप्रति सिकेले मौनधारण गराए । अर्थात्, उक्त घटनालाई संकेत मान्दा अरू थुप्रै सन्दर्भमा जसपा र लोसपाले ठिक्क परेको गाँस जनमतले खाँदै छ । यस्तो मारामारी चल्दा दक्षिणी दूतहरू दर्शक मात्रै बनेका छन् ।
टिप्पणीहरू