जहाज खस्यो सेतीमा, मुद्दा कुन मितिमा ?

जहाज खस्यो सेतीमा, मुद्दा कुन मितिमा ?

बिमा कम्पनीमा मात्रै भर पर्ने कि सीधै उत्पादक कम्पनीसँग मुद्दामा जाने ? यती एयरलाइन्सको एटिआर– ७२ जहाज माघ १ गते पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएपछि फ्रान्सका वकिलहरू अहिले यसबारे सरसल्लाह गर्दै छन् । 

जहाज दुर्घटनामा आफन्तजन मारिनु, त्यसमाथि सामूहिक रूपमा धेरैको ज्यान जाने कुरा हृदयविदारक त छ नै ! त्यसपछि क्षतिपूर्तिबारे सरसल्लाह हुनु पनि जायज कुरा हो । कुरा यतिमा मात्रै सकिएको छैन, क्षतिपूर्तिका निम्ति नियमित बिमा कम्पनीले दिने भुक्तानीले मात्रै पुग्छ र ? किनभने, दुर्घटनाको कारण थियो, प्राविधिक गडबडी । यस्तो स्थितिमा उत्पादक कम्पनीले त्यसको जिम्मेवारी लिनुपर्ने वकिलहरूको तर्क छ । नेपालमा यती र बुद्ध एयरले उक्त जहाज प्रयोगमा ल्याएका छन् । पोखरा दुर्घटनापछि त्यसको छानबिनका क्रममा इञ्जिनमा खराबी आएका कारण त्यसबारे कम्पनीविरुद्ध क्षतिपूर्ति मागदाबी मुद्दा किन नहाल्ने भन्ने सरसल्लाह शुरु भएको हो । 

मृतकका आफन्तले बिमा कम्पनीबाट दिइने २० हजार र चालक दलका सदस्यका परिवारले ४० हजार डलर क्षतिपूर्ति पाउने विश्वव्यापी प्रचलन छ । यतीको हकमा पाइलट वा कोपाइलटको नभई उत्पादक कम्पनीकै कमजोरीका कारण दुर्घटना भएको भन्दै मुद्दा हाल्न फ्रान्सका वकिल अग्रसर भएका छन् । तर, ७२ जनाकै वारेस कसरी संकलन गर्ने ? मुद्दा फ्रान्समै लड्नुपर्ने हुन्छ । त्यसको खर्च कसरी जुटाउने वा कसले व्यहोर्ने ? मुद्दा जितेपछि आउने क्षतिपूर्तिबापतको रकमबाट ३० प्रतिशत वकिल, विज्ञ समूह र दुःख गर्नेहरूलाई दिनुपर्ने प्रावधान छ ।

मृतकका आफन्तहरूसँग शोकको बीचमा त्यसको मञ्जुरीनामामा कसले सहीछाप गराउने ? रकम निकासा भएपछि सम्बन्धित आफन्तको बैंक खातामा जान्छ । यो स्थितिमा सम्बन्धित खातावालले ३० प्रतिशत रकम नदिए कुन बाटो अवलम्बन गर्ने ? जस्ता प्रश्नहरू अनुत्तरित छन् । 
 

टिप्पणीहरू