अष्ट्रेलिया दुःखको सागर हो

अष्ट्रेलिया दुःखको सागर हो – प्रकाश हुमागाईं

नेपाल रहँदा मूलधारको पत्रकारितामा जमेका प्रकाश हुमागाईं १५ वर्षको अष्ट्रेलिया बसाइका क्रममा केवल पत्रकार मात्र रहेनन्, त्यहाँस्थित नेपाली समुदायको अगुवा अर्थात् गैरआवासीय नेपाली अभियन्ताका रुपमा परिचित छन् । उनी बसोबास गर्ने सिड्नी क्षेत्रमा विभिन्न देशका अप्रवासीको कल्याणका निम्ति स्थापित संस्था मल्टिकल्चरल सोसाइटी अफ क्याम्बलटाउनमा उनले नेपालीको प्रतिनिधित्व गर्दै उपाध्यक्ष पद सम्हालेका छन् भने त्यहाँ बसोबास गर्ने नेपाली पत्रकारको संस्था एन्जाको उपाध्यक्ष पनि हुन् । काभ्रे, कुशादेवी मूलथलो घर भई काठमाडौंको नयाँ बानेश्वरमा हुर्किएका उनले केही समयको छुट्टीमा स्वदेश फर्किंदा काठमाडौंको परिवर्तित जीवनशैलीसँग विदेशिएका नागरिकबाट प्राप्त हुने विप्रेषण (रेमिट्यान्स) को प्रभाव पाएको बताएका छन् । 

– हरि गजुरेल

सुनिन्छ कि, विद्यार्थीको ओइरो लाग्ने अष्ट्रेलिया अब मानव तस्करीको अखडा बनेको छ । कति सत्य हो ? 

– हो, कोभिडको विश्वव्यापी संक्रमणपछि अष्ट्रेलियामा मानव तस्करी बढिरहेको छ । विभिन्न कार्यक्रमको बाहनामा कलाकारसँग गैरकलाकार भिœयाउने, बिचौलियाले पैसा उठाउने धन्दा एकदमै बढेको छ । उता गएपछि उनीहरूको भिसा स्टाटस परिवर्तन गराउने प्रवृत्ति मौलाउँदै गएको छ । सयौँ संख्यामा गैरकलाकार अष्ट्रेलिया पुगेको बताइन्छ । विशेष गरी अष्ट्रेलियाको सिड्नीमा रहेका विभिन्न इभेन्ट कम्पनीले कलाकार लैजाने नाममा यताबाट गैरकलाकार त्यहाँ पुर्‍याएका छन् । इभेन्ट कम्पनीहरूले होइनौं भन्न सकेको छैन । अष्ट्रेलियामा रहेका केन्द्रीय र राज्य सरकारले यसलाई अनुसन्धान शुरु गरिसकेपछि यहाँका स्थापित, नाम चलेका कलाकारहरूले भिसा नपाएका समाचार सुनिएको छ । अष्ट्रेलिया यहाँ भएका कलाकारलाई राम्रो आम्दानी गर्ने ठाउँ हो । तर, गैरकलाकारलाई उता लगिँदा राम्रा कलाकार जान पाएनन् भने नेपालको छवि पनि धुमलिने भयो । 

कत्तिको विसंगति वा मानिसको चापका कारण समस्या छन् ?

–नेपालबाट देखिने र त्यहाँको कुरा अलिकति फरक छ । हो, नेपाली विद्यार्थी विकृति, विसंगतिको शिकार भएका छन् । बढीजसो ग्यामलिङ, ड्रग्सजस्ता कुलतमा फसेका छन् । मानसिक तनावको शिकार भएका छन् । अष्ट्रेलिया भनेको वरपर पानीले घेरिएको देश हो । त्यहाँ राम्रा–राम्रा समुद्र छन् । कैयौं नेपालीले पानीलाई बुझ्न नसक्दा बर्सेनि पानीमा डबुेर ज्यान गुमाइरहेका छन् । अष्ट्रेलिया सोचेजस्तो सजिलो छैन । त्यहाँको वस्तुस्थिति, दैनिक जीवनचर्यासँग घुलमिल हुन नसक्ने, यहाँबाट गएका भाइबहिनी अभिभावकबाट टाढा भइसकेपछि स्वतन्त्रता अनुभूति गर्ने, त्यसले गर्दा बिग्रने घटना धेरै देखिएको छ । 

सुनिन्छ, अष्ट्रेलियामा बस्ने कतिपय युवा युवतीमा नेपालमा जस्तै लागुऔषध, यौनजन्य विसंगति बढेको छ । कति सत्य हो ?

– सन् २००८ देखि नै यस्तो कुरा सुनिँदै आएको हो । तत्कालीन राजदूत योगेन्द्र ढकालले नेपाली विद्यार्थी यस्तो गतिविधिमा संलग्न हुँदै आएको भन्नुभएको थियो । तर, त्यसबारेको दाबी र प्रमाण हामीसँग छैन, मात्रै हल्ला छ । त्यहाँ जाने भनेका विद्यार्थी हुन् । नेपालमा हुँदा अभिभावकको कमाइमा बाँचेका, बेखर्ची विद्यार्थीले एक्कासी मनग्य आम्दानी गरेपछि सम्हालिन सक्दैनन् वा व्यवस्थापन हुन सक्दैनन् । खर्च गर्ने ठाउँ नहुँदा कुलतमा लाग्ने, ग्यामलिङ, जुवा तास, लागुऔषध, अल्कोहलमा लाग्छन् । तर, यो कुरा सबैका हकमा होइन, एकाध विद्यार्थीमा त्यस्तो छ । 

विद्यार्थीमा बिदेसिने, त्यसमा पनि अष्ट्रेलिया नै पहिलो रोजाइमा पर्ने कुराको कारण के हो ?

– त्यहाँको प्रतिव्यक्ति आय राम्रो छ । कोभिडपछि सरकारले साताको २४ घण्टा काम गर्न पाउने प्रावधान राखिदिएको छ । विद्यार्थीलाई आफ्नो खुट्टामा आफैँ उभिने बाटो दिन्छ । देश आफैंमा स्वतन्त्र, सुरक्षित, सामाजिक सुरक्षाको कुरा धेरै छन् । अध्ययनका हिसाबले यहाँबाट गएका नेपाली विद्यार्थी स्वास्थ्य, आइटीको क्षेत्रमा राम्रो प्रगति गरेका छन् । राम्रा बैंक, सरकारी निकायमा नेपालीले राम्रो प्रभाव जमाएका छन् । अधिकांश हस्पिटल, नर्सिङहोममा नेपाली छन् । होटल, रेष्टुराँमा नेपालीले आफ्नो भविष्य निर्माण गरेका छन् । यहाँबाट अध्ययन भिसामा गएर पढाइमा निरन्तरता दिने, पिआर लिएको केही समयपछि नागरिकता लिन पाइने भएका कारण अष्ट्रेलियाले नेपाली विद्यार्थीलाई आकर्षित गरेको छ ।

त्यहाँ शिक्षा हासिल गरेर स्वदेश फर्किने विद्यार्थीको संख्या नगण्य हुने, त्यहीँ पिआर बनाउने वा अन्य मुलुकमा अवसर खोज्ने प्रवृत्ति देखिन्छ । यसले देशलाई फाइदा गरेको छ र ?

– नेपालको विप्रेषण दर (रेमिट्यान्स) को सूक्ष्म मूल्यांकन गर्दा अष्ट्रेलियाको योगदान अरु देशको भन्दा राम्रो छ । औँलामा गन्न मिल्न सकिने नेपाली त्यहाँबाट फर्किएका पनि छन् । त्यहाँ भएका संस्थाले नेपालका विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । गैरआवासीय नेपाली संघ (अष्ट्रेलिया) होस् वा अन्य सामाजिक संस्थामार्फत नेपालको स्वास्थ्य, शिक्षा, सडक, वृद्धाश्रमलगायत ठाउँमा नेपालीले आफ्नो लगानी गरिरहेका छन् । होटल, व्यवसायमा नेपालीले लगानी गरिरहेका छन् । त्यहाँ पुगेका नेपाली विद्यार्थीले राम्रो आर्जन गरेर परिवारको आय, आम्दानी माथि लैजाने काम गरिरहेका छन् ।

अष्ट्रेलियामा उत्पादित दक्ष प्राविधिक तथा योग्य विद्यार्थीलाई नेपालमै फर्काउन र देशको सेवामा लगाउनका लागि के गर्नुपर्छ ?

– नेपाल सरकारको नीति निर्माणमा भरपर्ने कुरा हो । विश्वमा रहेका गैरआवासीय नेपालीले पटक–पटक दोहोरो नागरिकताको विषय, लगानी भित्र्याउने विषयमा राज्यलाई झकझकाइरहेका छन् तर राज्यले आजसम्म नागरिकताको विषय टुंग्याउन सकेको छैन । त्यहाँ कमाएको चिज यहाँ ल्याउन र यहाँ भएका सम्पत्तिलाई कसरी सुरक्षित गर्ने भन्नेतर्फ धेरै पटक सोच्नुपर्ने बाध्यता आइलागेको छ । राज्य चलेकै रेमिट्यान्सबाट हो हामीले पनि राज्यका लागि केही गर्नुपर्छ भनेर नीति निर्माण गर्नका लागि आवाज उठाउँदै आएको भए पनि सम्बोधन हुन सकेको छैन । यो विषयमा मात्र सम्बोधन भएको खण्डमा अहिले उठेका धेरै समस्या हल हुन्छन् । त्यहाँ गएर बसेका, त्यहाँका नागरिकता लिएका नेपालीले आफ्नो मातृभूमिलाई धेरै सहयोग गर्न सक्छन् । राज्य नागरिकता र लगानीको सवालमा अलिकति मात्र लचिलो भइदिने हो भने विदेशमा बसेका नेपालीले यो देशका लागि धेरै गर्न सक्छन् । 

नेपालीले अष्ट्रेलियामा भोग्ने कानुनी समस्या के–के र कस्ता–कस्ता छन् ?

– नेपालमा लामो समय पत्रकारिता गरेर विदेश गएको हुँ । यो १५ वर्षको अवधिमा त्यहाँ देखेको र भोगेको विषय भनेको यहाँभन्दा बढी कैयौं गुणा बढी देशको माया हुँदो रहेछ । म मात्र होइन, त्यहाँ पुगेका धेरै नेपाली साथीहरू कतै न कतै नेपालको नाम जोडिएका सामाजिक संघसंस्थामा जोडिएर काम गरिरहेका छौँ । प्रत्येक नेपालीको एउटै चाहना हो, आफ्नो देश समृद्ध बनोस् । मुलुक राजनीतिक रुपमा स्थायित्व कायम रहोस् भन्ने हुन्छ । त्यसकै लागि विभिन्न राजनीतिक शक्तिसँग नजिक भएका व्यक्तिले पहल गरिरहेका छन् । यो अवधिमा धेरै नेपालीले प्रगति गरिरहेका छन् । तर, राज्यले अलिकति पनि त्यसलाई ब्रेन गेन गर्न खोजेन भन्ने देख्दा आफ्नै मुलुकबाट हेपिएको हो कि भन्ने अनुभूति हुने गरेको पाएको छु । अष्ट्रेलिया आफैँमा कानुनमा बाँधिएको देश हो । त्यहाँ प्रधानमन्त्री, विपक्षी दलको नेता होस वा जोसुकै कानुन बाहिर कोही छैनन् । राज्यका कानुनलाई शिरोधार्य गरेको खण्डमा केही अप्ठ्यारा छैनन् । अन्य मुलुकमा जस्तो त्यति धेरै कानुनी अड्चन छैनन् तर आफैंले गल्ती गरिसकेपछि सो गल्तीको भागिदार त हुनैपर्छ । अष्ट्रेलियाले अन्य मुलुकलाई कृषि भिसाका नाममा हरेक वर्ष हजारौंलाई रोजागारी दिँदै आएको छ । एउटा कृषि मजदुरले मासिक लाखौं कमाएर ल्याउँछ तर त्यो सुविधा नेपाललाई छैन । नेपालका नागरिकले त्यो सुविधा नपाउनुमा राजदूतावासहरू अलि चुकेका हुन् कि !

नेपालमा खुलेका थुप्रै एजुकेसन कन्सल्टेन्सीको पहिलो लक्ष्य पनि अष्ट्रेलिया हुने गरेको छ । के त्यहाँका कलेजले नेपालका कन्सल्टेन्सीलाई कमिसनमा अरुलाई भन्दा केही सुविधा दिएका हुन् ?

– काठमाडौँ मात्र होइन चितवनमा पनि एउटै बाटोमा दुईदेखि तीन सय कन्सल्टेन्सी देखिन्छन् । त्यही स्थिति अष्ट्रेलियाको मुख्य व्यापारिक ठाउँ सिड्नी, मेलवर्न, ब्रिजवेनमा छ्यापछ्याप्ती कन्सल्टेन्सी खोलेको देख्न पाइन्छ । कन्सल्टेन्सी भनेको कलेजका एजेन्ट हुन् । एउटा विद्यार्थीलाई उसले पढ्न शुरु गरेदेखि पढाइ समाप्त हुँदासम्मको निश्चित कमिसन लिएकै हुन्छन् । कन्सल्टेन्सीहरू चल्ने नै त्यही कमिसनको लोभमा हो । कमिसनकै लोभमा अहिले कन्सल्टेन्सीबीच अस्वस्थ प्रतिस्पर्धा देखिएको छ । समय–समयमा जबर्जस्ती प्रलोभनमा विद्यार्थीलाई भर्ना गरिदिने र सरकारले मापदण्ड नपुगेको भनेर त्यस्ता कलेज खारेजीमा परेपछि विद्यार्थीको बिचल्ली भएको घटनाक्रम बाहिरिरहेका पनि छन् । कन्सल्टेन्सीलाई नियमन गर्ने निकाय अलि जिम्मेवार नभएको हो कि ? एक वा दुई जना विद्यार्थी पठाएको खण्डमा कन्सल्टेन्सीको भाडा उठ्छ । १५ जना विद्यार्थी पठाएको खण्डमा म सर्भाइस हुन्छु भन्ने अस्वस्थ प्रतिस्पर्धा छ । तिम्रो भविष्य यसमा यति छ भनेर कन्सलटेन्ट गर्नुभन्दा पनि यो विद्यार्थीलाई फलानो कलेजमा पठाउन पाए मलाई यति कमिसन आउँछ भन्नेतर्फ केन्द्रित हुँदा समस्या भइरहेको छ । 

नेपालीले अष्ट्रेलिया जानुअघि ध्यान दिनुपर्ने वा सचेत हुनुपर्ने प्रमुख विषय के–के हुन् ?

– सबैभन्दा ठूलो कुरा, त्यहाँको वस्तुस्थिति । यहाँबाट हेर्दा अष्ट्रेलिया साह्रै राम्रो छ । भव्य बिल्डिङहरू छन्, राम्रा समुद्र छन् । प्रदूषण छैन । राम्रा कपडा लगाएर मान्छेहरू हिँडेका छन् । तर, अष्ट्रेलिया आफैँमा एउटा दुःखको सागर पनि हो । निरन्तर काम गरेर आफ्नो पढाइ खर्च पूरा गरेर रातदिन खट्नुपर्छ । त्यसो गर्न नसक्ने धेरै विद्यार्थी मानसिक तनावको शिकार भएका छन्, घर फर्किएका छन् । कतिले आत्महत्याको बाटो रोजेका छन् । म कहाँ जाँदै छु, मैले पढ्ने (के हो ? मैले पढिसकेपछि पाउने रिटर्न के हो ? फर्किएर आएपछि मैले देशलाई दिन सक्ने रिटर्न के हो ? म अष्ट्रेलियामै बस्दै गर्दाखेरी त्यहाँको पिआर हात पार्न सक्छु कि सक्दिनँ भन्ने कुरा विद्यार्थीले सबै वस्तुस्थिति बुझ्नुपर्छ । त्यहाँको भाषा, जीवनशैली र त्यहाँको अध्ययनको शैली बुझेर यहाँबाट टे«ण्ड भएर गएको खण्डमा विद्यार्थीका लागि राम्रो छ । 

नेपालमा पत्रकारिता र राजनीतिको अनुभव बोकेर तपाईं अष्ट्रेलिया जानुभयो । यहाँका अनुभव त्यहाँ कत्तिको काम लागिरहेको छ ?

– नेपालमा समाजका विकृति, विसंगतिलाई छात्ती खोलेर निर्धक्कसाथ कसैसँग पूर्वाग्राही नभई पत्रकारिता गरिन्थ्यो । त्यहाँ पनि त्यस्तै गर्दै छु । तर, पत्रकारिता विषय, मान्यता र शैली फरक छ । मैले यहाँ जति कुरा देख्छु, त्यहाँका कानुनका कारण सबै कुरा लेख्न सक्दिनँ । त्यहाँ आँखैअगाडि धेरै घटना हुन्छन् र पनि सबै चिज समाचार बनाउन मिल्दैन । त्यसले समाजमा पार्न सक्ने असरबारे अष्ट्रेलिया सरकार र त्यहाँको प्रेस काउन्सिल कडा छ । यहाँ एउटाले आत्महत्या गरे समाचार बन्छ, त्यहाँ आत्महत्याको समाचार लेख्न पाइँदैन । कुनै घटनाले समाजलाई असर पार्छ भने त्यस्ता बिषय लेख्न पाइँदैन । त्यहाँका प्रहरी र सरकारले भनेका घटनाबाहेक आफूले थाहा पाएका कतिपय बिषय लेख्न पाइँदैन । अहिले त्यहाँ मानव तस्करीका ठूला घटना भइरहेका छन् । हामीलाई त्यो विषयमा थाहा छ यद्यपि लेख्न पाइरहेका हुँदैनौँ । जबसम्म अष्ट्रेलिया सरकारले यो मान्छे गलत बाटोबाट आयो भन्दैन तबसम्म हामीले त सामाजिक सञ्जालमा घुमाएर लेख्ने मात्र हो । यहाँको प्राक्टिस र त्यहाँको प्राटिक्स एकदमै फरक छ । हामीले उता जुन प्रकारको पत्रकारिताको प्राक्टिस गरिरहेका छौं । यहाँको प्राक्टिस देख्दा विकराल लाग्छ । मैले पनि यही प्रकारको पत्रकारिता गरेर आएको थिएँ हैं भनेजस्तो लाग्छ । ०५९ देखि ०६२/६३ सम्म हामी मिसन जर्नालिजममा थियौं । अहिले मिडिया संख्यात्मक रुपमा बढे पनि गुणात्मक वृद्धि भएन । यसले नेपालको पत्रकारितालाई अझै धराशयी बनाउँदै लग्यो । विश्वासनियता गुमाउँदै गएको हो कि भन्ने भान बढ्न थालेको छ । अझै पनि नेपालमा कोड अफ कन्डक्टभित्र पत्रकारिता हुँदैन । संसारका अन्य देशमा योभन्दा धेरै अनलाइन चलेका छन् तर यति गतिछाडा पत्रकारिता अरु मुलुकमा हुँदैन । नेपालमा प्रेस काउन्सिल, न्यूनतम पारिश्रमिक निर्धारण समितिजस्ता नियामक निकाय त छन् तर यी निकाय सबै तलब, भत्ता पचाउने ठाउँ मात्र भयो । 

टिप्पणीहरू