सहकारीको विवरण खोज्दै पोखरा
पोखरा महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र सञ्चालित सहकारी संस्थाको विवरण खोज्न थालेको छ । सहकारीहरुले लामो समयदेखि साधारण सभा नगरेको गुनासो आउन थालेपछि महानगरले विवरणको संकलन गर्न लागेको हो ।
महानगरपालिकाको सहकारी शाखाले कतिपय सहकारी संस्थाले लेखापरीक्षण नगराएको र कोपोमिस प्रणालीमा विवरण प्रविष्ट नगरेको जानकारी आएको भन्दै १५ दिनभित्र विवरण पठाउन निर्देशन दिएको छ ।
‘लामो समय साधारण सभा नगर्ने, लेखापरीक्षण नगर्ने र कोपोमिस प्रणालीमा विवरण प्रविष्ट नगर्ने र नियामक निकाय पोखरा महानगरपालिका सहकारी शाखामा विवरण पठाउने नगरेको हुँदा यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सहकारी ऐन–२०७५ को दफा ७३ बमोजिम माग गरिएको विवरण अनिवार्य रुपमा पठाउनु होला’, आज जारी सूचनामा भनिएको छ ।
विवरणमा आर्थिक वर्ष २०७७–७८ र ०७८–०७९ को लेखापरीक्षण प्रतिवेदन, चालु आ.व. को पौष मसान्तभित्र सम्पन्न भएको साधारण सभाको निर्णय प्रतिलिपि, सञ्चालन समितिको नामनामेसी र बाँकी कार्यकालको फोटोसहितको विवरण र सम्पर्क नम्बर, लेखा सुपरिवेक्षण समितिको नाम र सम्पर्क नम्बरसहितको विवरणलगायतको कागजात समावेश गर्नुपर्ने छ ।
त्यस्तै, तोकिएको समयभित्र विवरण नपठाएमा सहकारी ऐनबमोजिम कारबाही अगाडि बढाउने महानगरको चेतावनी छ ।
टिप्पणीहरू