मार्सीको उग्र अभियानको परिणाम : एनआईसी एशिया बैंकका कर्मचारीमाथि सांघातिक आक्रमण

मार्सीको उग्र अभियानको परिणाम : एनआईसी एशिया बैंकका कर्मचारीमाथि सांघातिक आक्रमण सांकेतिक तस्विर

बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन चर्केको बेलामा एनआईसी एशिया बैंकका कर्मचारी कुटिएका छन् । बैंकको म्याग्दी शाखाका दुई कर्मचारीमाथि सांघातिक आक्रमण भएको बताइएको छ । 

शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आले कुटिएपछि बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले आपत्ति जनाएको छ । सिबिफिनले विज्ञप्ति जारी गर्दै उक्त घटनाको निन्दा र भत्र्सना गरेको छ । 

‘चैत २ गतेका दिन गण्डकी प्रदेशको म्याग्दीस्थित एनआईसी एशिया बैंकको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि नियोजित रुपमा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको घटनाको सिबिफिन घोर भत्र्सना गर्दछ’, विज्ञप्तिमा उल्लेख छ । 

सिबिफिनले बैकजस्तो संवेदनशील एवम् अत्यावश्यक क्षेत्रमाथि भइरहेको ज्यादती तत्काल बन्द गर्न भनेको छ । त्यस्तै, घटनामा संलग्न दोषीहरुलाई हदैसम्म कारबाही गर्न सरकार, गृह मन्त्रालय तथा मातहतका निकायसँग माग गरेको छ । 

पछिल्लो केही समय बैंक तथा वित्तिय संस्थाविरुद्ध संगठित आक्रमण भइरहेको छ । हालैमात्र मकवानपुरमा रहेको कुमारी बैंकको शाखा कार्यालयमा तोडफोड भएको थियो । त्यस्तै, इलाममा पनि लघुवित्तका कर्मचारीमाथि कुटपिट भएको थियो ।

बैंक तथा वित्तीय संस्थामाथि आक्रमण हुन थालेपछि गृह मन्त्रालयले फागुन १९ गते ७७ वटै जिल्लाका सिडियोहरुलाई परिपत्र गर्दै बैंक तथा वित्तिय संस्थाहरुको सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको थियो । गृहले बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षामा विशेष ध्यान दिन भने पनि कुटिने क्रम भने रोकिएको छैन । 

बैंकबाट अर्बौं ऋण लिएर ‘ऋण मोचन अभियान’ चलाइरहेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं ‘मार्सी’ को उग्र टोलीले बैंकका कर्मचारीहरुलाई कालोमोसो दल्न ‘कालोमोसो दस्ता’ नै गठन गरेको छ ।

टिप्पणीहरू