इजरायलको ‘मन्की स्कुल’ बन्यो आठ सयबढी जनावरको आश्रयस्थल

भिडियाे :  सिन्ह्वा

इजरायलको प्राइमेट सेन्चुरी फाउण्डेसन (आइपीएसएफ) ले बाँदर संरक्षणका लागि झण्डै तीन दशकदेखि ‘मन्की स्कुल’ सञ्चालनमा ल्याएको छ । विभिन्न घटनामा गम्भीर घाइते भएका बाँदरको स्याहारसुसार गर्न फाउण्डेसनले ‘मन्की स्कुल’ को स्थापना गरेको बताइएको छ । 

थुनेर राखिएका, खान नपाएका, घाउचोट लागेका बाँदरलाई ल्याएर फाउण्डेसनले आवश्यक हेरचाह गर्दै आएको छ । त्यसैगरी बाँदरलाई प्रशिक्षणको व्यवस्थासमेत गरिएको छ । इजरायलमा रहेको सबैभन्दा ठूलो पुनर्वास केन्द्रमा जनावरलाई आवश्यक हरेक चिजको व्यवस्थापन मिलाइएको छ । 

यसले गम्भीर अवस्थाका जनावरलाई सामान्य जीवनमा फर्किन मद्दत पुर्याउँदै आएको बताइन्छ । पुनर्वास त्यस्ता जनावरको निम्ति उद्धारको पहिलो चरण हो । त्यसपछि ती जनावरलाई प्रशिक्षित चिकित्सकले उपचार गर्ने गर्छन् । 

तीनको स्वास्थ्यमा सुधार आएपछि आवश्य प्रशिक्षण गराइन्छ । विभिन्न क्रियाकलाप पनि सिकाइन्छ । फाउण्डेसनले जनावरलाई प्रशिक्षित तुल्याउन भौतिक पूर्वाधारको निर्माण गरेको छ । सन् १९९६ मा स्थापना भएको संस्थामा २० भन्दा बढी प्रजातिका जनावर छन् । 

चिनियाँ समाचार समितिका अनुसार यो अहिले ८५० जनावरको आश्रयस्थल बनेको छ । संस्थाले जनावरका बारेमा आगन्तुकहरुलाई आवश्यक शिक्षासमेत दिँदै आएको छ । त्यस्तै, यसले घरपालुवा जनावरको व्यापारमा रोक लगाउने विश्वास पनि लिइएको छ । 

फाउण्डेसनकी निर्देशक टामार फ्रेडम्यान बाँदर निकै भावुक र बाठो हुने आफ्नो अनुभव सुनाउछिन् । उनका अनुसार बाँदर जन्मेको दुई सातामै अवैध तरिकाले बिक्रीवितरण हुने गरेको पाइन्छ । 

उनका अनुसार मानिस र बाँदरबीच धेरै कुरामा समानता पाइन्छ । इजरायलका चिडियाघरमा बाँदरको मासु अन्य जनावरलाई खुवाउने गरिएको थियो । तर फाउण्डेसनको जोडबलमा हाल उक्त कार्यमा रोक लगाइएको छ ।
                                             

टिप्पणीहरू