सेनाले यो वर्ष पनि हिमालको फोहोर उठाउने

सेनाले यो वर्ष पनि हिमालको फोहोर उठाउने

नेपाली सेनाले यो वर्ष पनि उच्च हिमाली क्षेत्रमा रहेका फोहोर उठाउने भएको छ । जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले सेनाले सफा हिमाल अभियान, २०२३ को थालनी गरेको छ । 

अभियानको थालनी आज प्रधान सेनापति प्रभुराम शर्माले गर्नुभएको हो । जंगी अड्डामा आयोजित विशेष समारोहमा उहाँले सन् २०२३ मा हिमाल सफा गर्न जानेहरुलाई झण्डा हस्तान्तरण गरेर उक्त कार्यको थालनी गर्नुभएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । आजै प्रधान सेनापतिले अघिल्लो वर्ष उक्त कार्यमा योगदान पुर्याएकाहरुलाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गर्नुभएको हो । 

नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत नेपाली सेनाको अगुवाइमा हिमाल सफाई अभियान सञ्चालन हुँदै आएको छ । यसमा वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, कोकाकोला फाउण्डेशन, सूर्य नेपाल प्रा.लि., युनिलिभर नेपाल, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, विश्व वन्यजन्तु कोष, नेपालको आर्थिक र नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार संघलगायतको प्राविधिक सहयोग रहेको बताइएको छ । 

अभियानअन्तर्गत यो वर्ष सगरमाथा, ल्होत्से, अन्नपूर्णलगायत हिमालबाट करिब ३५ टन फोहोर संकलन गर्ने लक्ष्य लिइएको छ । सेनाले सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ । यो अभियान आगामी विश्व वातावरण दिवसका दिन समापन हुनेछ ।

टिप्पणीहरू