प्रचण्ड क्याबिनेटमा समाजवादीबाट भुसाल र ज्वाला

प्रचण्ड क्याबिनेटमा समाजवादीबाट भुसाल र ज्वाला

नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा जाने दुई जनाको नाम टुंगो लगाएको छ । उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा दुई मन्त्रालय लिएर आज भोलि नै सरकारमा जाने गरी समाजवादीले नाम 'फाइनल' गरेको हो । 

प्रधानमन्त्रीले आजै नाम मागेपछि आकस्मिक रुपमा बसेको सो पार्टीको सचिवालय बैठकले भुसाल र प्रकाश ज्वालाको नाम सिफारिस गर्ने निर्णय गरेको बताइएको छ । तर,तीन वटा मन्त्रालय दावी गरिरहेको समाजवादीले पाउने मन्त्रालयको अझै टुंगो लागेको छैन । सो पार्टीका एक नेताका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउने निधो भैसकेको छ । उक्त मन्त्रालयमा ज्वालालाई पठाउने निर्णय भएको पनि उनले  जानकारी दिए ।

सरकारमा पार्टीको नेतृत्व गर्ने उपाध्यक्ष भुसालले श्रम मन्त्रालय पाउने सम्भावना रहेको बताइन्छ । 

मन्त्रालयको भागबण्डा टुंग्याएर सरकार विस्तारबारे निर्णय गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । आज सबै दलबाट कम्तिमा एक-एक जना मन्त्रीको नाम लिएर भोलि क्याबिनेट विस्तार गर्ने तयारीका साथ नेताहरु आज बिहानैदेखि विभिन्न पक्षीय भेटघाट तथा बैठकमा व्यस्त छन् ।
 

टिप्पणीहरू