पशुपतिका पुजारी र जोर गोरूको ‘ह्वाँका–ह्वाँका’

पशुपतिका पुजारी र जोर गोरूको ‘ह्वाँका–ह्वाँका’

स्थानीय तहको निर्वाचनमा डा. विजयकुमार पौडेललगायतको टोली नेकपा (एकीकृत समाजवादी)को घोषणापत्रसहित आचारसंहिता लेखन गर्दै हुनुहुन्थ्यो । हतारमा घोषणापत्र प्रेसमा गयो । त्यहाँ ‘मदिरासेवन’को प्रसंग थियो । माधवकुमार नेपालको पार्टीमा मदिरा पिउने कसरी हुन सक्छन् ? डा. पौडेलको टोलीले यसलाई घोषणापत्रमै समेट्यो । पछि धेरैले यो अलि ‘बढी’ भयो भनेपछि त्यसलाई हटाउन स्वयं नेपाल नै तयार हुनुभयो । समय र मदिराबारे निकै कडा ढंगले प्रस्तुत हुने नेपालको मन्त्रीहरूलाई उर्दी हुन्थ्यो, ‘साँझ भट्टीमा पिएर बसेको देख्न नपरोस् ।’ पत्रकारहरूको कार्यक्रममा पनि त्यही दोहोर्‍याउनुभयो, ‘पत्रकार भनेपछि मदिरासँग जोडिने गर्छन्, समाजवादी पत्रकारहरू त्यस्ता नपरून् ।’

चुनावका बेला मदिरा नपिउने पार्टी । आफैँमा सबैलाई ‘कासन’ थियो, कोर्ट मार्सल थियो । यसको ११ महिनापछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एउटा भेलामा यस्तै आशयको कुरा गर्नुभएछ । उहाँले रक्सी पिएर खुट्टा लर्खराउँदै घर पुग्ने कसरी एमाले हुन्छ भन्नु भएछ । यसले दुई वटा अर्थ दिन्छ, एउटा कम्युनिष्टले रक्सी पिउनै हुँदैन, दोस्रो रक्सी पिएका दिन घर जानै हुँदैन । घर जाँदा रक्सी गन्हाउन हुँदैन । यही सन्देश हो केपी शर्मा ओलीले दिनु भएको । तर यसलाई सबैभन्दा बढी एमालेजनले हाँसेर टारिदिए । ओली यस्ता भगवान हुन्, उनले बोलेपछि जनता हजार पीडा सहेर पनि हाँसिदिन्छन्, जनता हँसाउन सक्ने एक मात्र नेता हुँ भन्ने भ्रममा रहेका ओलीलाई यसपटकको हाँसोले उडायो कि महान बनायो, उनले भेउ पाएनन् । जे होस् जनता हास्न चैँ हाँसे । एमाले झन हासे । यही कुरा माधव नेपालले भन्दा ‘सिरियस’ हुँदोरहेछ । अनि ओलीले भन्दा ‘सिरियस मजाक’ हुँदोरहेछ ।

जनता हाँसेपछि देशमा केही दुःख छैन भन्ने भ्रम कसैमा छ भने त्यो ओलीमा छ । त्यसैले ओलीले बोल्दा हाँस्नु नै वरपर बस्नेले बुझेको जनताको बहुदलीय जनवादको नयाँ अध्याय हो । ओलीले खिस्याए कि हौस्याए, रिसाए कि हँसाए, जोक भने कि गम्भीर बने, सोच्ने, तथ्य गलत भयो भन्ने, यस्तो भन्दा महिलालाई अपमान हुन्छ भन्ने कुनै सुझावसमेत दिन नसक्ने एउटा गजबको पंक्ति एमालेभित्र तयार भएको छ । राष्ट्रिय सभामा भइरहेका व्यक्तिलाई राजीनामा दिन लगाएर प्रतिनिधि सभामा उठाउने र उम्मेदवारी दिन जाँदा अर्कैले उम्मेदवारी दर्ता गरेकाले भएको पद गुमाउने अवस्था बन्दा पनि पार्टीभित्र, युवा पंक्तिभित्र कुनै छलफल भएन । बस्, उहाँले आज के बोल्नुहुन्छ र कति मीनेट हाँसेपछि आजको राजनीतिक आयु पार हुन्छ भन्ने सोच्नु नै एमाले हुनु हो झैँ गरी राजनीति गुज्रिरहेको छ । युवापुस्ता यसैमा रत्तिरहेका छन् एक दशकदेखि ।

केपी ओलीका कठोर आलोचक हुनुहुन्थ्यो पुरूषोत्तम पौडेल । अहिले मधेस प्रदेशतिर एमाले बनाउने अभियानमा सरिक हुनुहुन्छ । रौतहटको चन्द्रपुर नगरपालिकामा समाजवादीबाट मेयरका प्रत्यासी मित्र बाबुराम दाहालसहित ३१ नेता, कार्यकर्ता ‘माधव नेपालको खुट्टी देखेर पार्टी उँभो नलाग्ने’ भन्दै एमालेमै फर्कनु भएछ । पौडेलको मिहिनेत पनि हो यो । एमालेमै फर्केका थुप्रै साथीलाई अहिले गुमनाम देख्छु । पुन्य गौतम, रामप्रसाद रिजाल, राजेश राई, माधव नेपाललगायत युवा पुस्ताका आशालाग्दा साथीहरू अचेल एमालेको ‘खास भूमिका’मा देख्दिनँ । उसो त ओलीकै लागि अहोरात्र लागेका–जागेकाहरू पनि भूमिकाविहीन देख्छु । गुरू भट्टराई पनि शान्त देख्छु । पार्टीमा अध्यक्ष र महासचिव शंकर पोखरेलको मात्रै बोली र चालचलन मिल्छ । अरूले यी दुईले बोलेपछि थाहा पाउँछन् । सरकारमा जाने विषयमा अध्यक्ष र उपाध्यक्ष विष्णु पौडेलको लय मिल्छ । नहुने चर्चा गर्नुपरे युवराज ज्ञवाली, डोरमणि पौडेल, छविलाल विश्वकर्माहरूको नाममा बेस्सरी हल्ला गरिन्छ । लामो समय नजाने र हार्नुपर्ने अवस्थामा काँध थापेर जुरूक्क बोक्नु परे सुवास नेम्बाङ, अष्टलक्ष्मी शाक्यहरूलाई प्रयोग गरिन्छ । अनि अवसर दिनुपर्छ भन्ने पर्‍यो भने पृथ्वीसुब्बा गुरूङ बनाएर लखेटिन्छ । नहुने–नहुने विषयमा उट्पट्याङ बोल्नुपर्‍यो भने सूर्य थापाहरूलाई लगाइन्छ । उसो त यो आलोचनाको पाटो मात्रै भयो । राम्रो पनि देखिन्छ त्यहाँ । 

जस्तोः प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौला, माओवादी युद्धचेतबाट आएकी ज्वाला साहलाई मधेस संगठन विस्तारमा पुरूषोत्तम पौडेलसरह भूमिका र सरकार बन्दा पनि मन्त्रीमा अवसर । ओलीले युवा पुस्ता एमालेमै बस, मौका छ है भनेर केहीलाई फेरि राम्रो गर्दा चैँ हाँस्न नसक्ने ठूलो जमात त्यहींभित्र मुर्मुरिएर बसेका छन् । ती मुर्मुरिएकाहरू समाजवादीमा भए माधवकुमार नेपालबाट केही हुन्न भन्दै सामाजिक सञ्जाल र आलोकनगरतिरै ‘पशुपतिका पुजारी’ पाराले पार्टी चल्छ पनि भन्थे, तर एमालेमा त्यसो भन्ने छुट पनि छैन । बेलाबखत डराइडराइ समाजवादीका नेताहरूकहाँ चिया पिउन आएर कुरो सुनाउँदा त त्यहाँ बसिसाध्य छैन । तैपनि एमालेमै भविष्य देख्नेहरूको जमात फेरि ठूलो छ । मुकुन्द न्यौपानेका फेसबुक स्ट्याटस, शेयर, अन्तर्वार्ताले त्यही भन्छ । अहिले ओलीसँग कुनै शत्रुता छैन भनेर रामकुमारी झाँक्रीले भनेको पनि १०० दिन कटेको जस्तो लाग्छ । 

मुद्दा स्थायित्वको हो । बेरोजगारी समस्या समाधानको हो । स्थिर सरकारको हो । समाजवादी कल्पनाको मुलुकमा उद्यम, रोजगारी, महँगी नियन्त्रणको हो । बढ्दो वैदेशिक हस्तक्षेप अन्त्यको हो । आयातमुखी व्यापार घाटाले थलिएको अर्थतन्त्रमा नेपाली जीवन सुहाउँदो उपभोग्य सामान मात्र प्रयोगका लागि आह्वान गर्न ढिला भइसकेको छ । ४० प्रतिशत अनुदान रकमले चलिरहेको देशलाई स्वाधीन, प्रगतिशील बनाउनु छ । यसका लागि स्थिर र देश बुझेको सरकार निर्माणको पहल हो । यी सबै विषय एजेण्डामा परेको छैन । र, यो वर्ष हामीले लगभग चुनावका नाममा सकायौँ । यतिले नपुगेर फेरि वैशाख १० गते उपनिर्वाचन थाती नै छ । राष्ट्रपति, उपराष्ट्रपतिको ठाउँमा त चुनाव गर्नु नै थियो । ‘अबको प्रधानमन्त्री मै हुँ’ भन्दै नागरिकतासमेत नलिएर नेपाली कानुनको धज्जी उडाउने ‘महाशय’का खातिर डबल खर्च, डबल सास्तीमा चितवनमा चुनाव हुँदै छ । चुनावकै कारण अरू कतिपय विषय ओझेलमा परेका छन् । जस्तो बागमती प्रदेश सरकारका विकासे योजनामा स्वघोषित आचारसंहिता लागेको छ । कर्मचारीले चुनावपछि भन्न थालेका छन् । मधेस सरकारको समीकरणमा सन्तुलन छैन ।

गण्डकीको पनि तनहुँमा आचारसंहिता लाग्ने नै भयो । जनताले सम्झौता गरेर विकासे काम गर्न पनि पाएका छैनन् । बाहिरबाट हेर्दा त केही देखिन्न । खोज्दा यस्ता तथ्यहरू भेटिन्छन् । प्रेस काउन्सिलको अध्यक्ष हुँदा किशोर श्रेष्ठसहित हामीहरूले पनि मर्यादित पत्रकारितामा सूचना विभागको कार्ड लिनु उत्तम हुने भनेका थियौँ । ‘बरू जुत्ता पालिस गरेर बसिन्छ, सूचना विभागको कार्ड लिन्नँ’ भनेका रवि लामिछाने नागरिकता मुद्दामा एकदिन फस्छन् भनेर हामीले उहिल्यै सजग गराउँदा शत्रु भइयो । जिउँदैमा एउटा हुलको ‘श्रद्धाञ्जली’ खाइयो ।

गाउँमा भेल पनि यस्तो आउँछ कि, पहिलो धमिलो पानीले पाँगो माटो ल्याएर खेतबारीलाई मलिलो बनाइदिन्छ । त्यही पाँगो माटो पनि नल्याउन राजनीतिक भेलमा थरिथरीका नयाँशक्तिहरूले देश र जनतालाई प्रयोगशाला बनाएका छन् । त्यसैको शिकार उपनिर्वाचनसम्म पुगेको छ । अर्कातिर प्रमुख प्रतिपक्षी नेकपा एमाले ‘हाँस्यरस’को ‘वीरता’मा सीमित छ । रक्सी पिएर झ्वाम्म नालीमा हाम्फाल्नुपर्ने दिनहरू कार्यकर्ताका लागि सामुन्ने छन् । किनभने रक्सी खाएपछि गन्हाउँछ, त्यसको हरक के ले हटाउने ? झ्वाम्म नालीमा हाम्फाल्ने, त्यसपछि उत्रँदा नाली गन्हाउने भयो । बरू हाम्फालेपछि उठ्न पो सकिन्छ कि सकिन्न । अहिलेसम्म एमाले उठ्न सकेको देखिन्न । जसपा नेता राजेन्द्र श्रेष्ठ भन्नुहुन्थ्यो, ‘जबजको अन्तिम दुई अध्याय मदन भण्डारीले मलाई लेख्न दिनुभयो । उहाँ बाहिर कता रहनुभयो, पहिलाको अध्याय पढेर यही सारमा दुई अध्याय सिध्याउनुहोस् भनेपछि लेखेँ ।’

यही जबज पढेर अभ्यास गरिरहँदा एमालेसँग अपेक्षा, भविष्य देखेकाहरूको डरलाग्दो मौनताले ठूलै संकटको संकेत गर्दै छ । ३३ सिटमा झरेको कांग्रेस देशको ठूलो पार्टी बनेको छ । ३२ सिटको पार्टीलाई सरकारको जिम्मा छ । कम्युनिष्टहरू खिइएर सकिएका छन् । त्यसको सपाट उत्तर ओलीले यही साता कतै भन्नुभएछ, ‘दुई वटा गाई मिलेर चर्छ, दुई वटा गोरू भेट भए कि ‘ह्वाँका–ह्वाँका’ गर्छ । गोरू जुध्दा त उनीहरूको सिङ मात्र भाँचिने हो । तर राजनीतिमा जुध्दा हजारौँ नेता, लाखौँ कार्यकर्ता र करोडौँ जनताको सपना भाँचिदोरहेछ । अनि दुई वटा गाई मिलेको कथा कतै चितवनमा यसपटक एमालेले अरू बेला राजावादी, कांग्रेसका विद्रोही उतारेर थाकेर ‘गाई’ नै पो उतार्न खोजेको हो कि ? हुन त गाईका असलीधनी कमल थापा त उतार्न सक्ने एमालेलाई गोरूविज्ञानले अरू कुन कुन अध्याय जबजमा थपाउने हो, जनता प्रतीक्षारत छन् ।

टिप्पणीहरू