उपेन्द्रकाे काम मैले गर्न सक्छु र !

उपेन्द्रकाे काम मैले गर्न सक्छु र !

-रामकिशोर प्रसाद यादव, केन्द्रीय सदस्य जसपा 

वैशाख १० गते चितवन २, तनहुँ १, बारा क्षेत्र नम्बर २ मा उपचुनाव हुँदै छ । जनता समाजवादी पार्टी (जसपा) का सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि बाराबाट उपेन्द्र यादवले संसदमा छिर्न चाहेको प्रष्टै छ । सोही क्षेत्रबाट टिकट नपाएपछि प्रतिनिधि सभा निर्वाचनमा आफ्नै महासचिव रामसहाय यादवविरुद्ध मैदानमा होमिएका रामकिशोर यादवले ११ हजार ४३ मत प्राप्त गरेका थिए । उनका भाइ सरोज अहिले मधेस प्रदेशका मुख्यमन्त्री छन् । अध्यक्ष उपेन्द्रलाई त्यहीँबाट निर्वाचित गराउन सके आफ्नो क्षेत्रमा ठूलो उपलब्धि हुने भएका कारण छात्ती चौडा पारेर पार्टीमा पर्किएको रामकिशोरको कथन छ ।

हरि गजुरेल 

पुरानै घर फर्किनुभयो । पुरानो तिक्तता सिद्धिएर हो वा अध्यक्ष उपेन्द्र यादवबाट केही आश्वासन पाएर ? 

– गत निर्वाचनमा टिकट नपाएकै कारण स्वतन्त्र भएर लडेँ । मेरो सदाचार छवि, निरन्तर कलैयामा बसेर जनताको सेवा गरिरहेका कारण एघार हजार मत पाएँ । त्यसरी बागी उठ्दा अध्यक्ष उपेन्द्र यादव र महासचिव तथा संगठन विभाग प्रमुख रामसहाय यादव दुबैले मलार्ई कारबाही गर्नुभएन । अहिले ५१ वर्षको भएँ, टिकट नपाएको कारण नौजवानको झैँ झोंक चलेर स्वतन्त्र लड्न गएकोमा अहिले केही आश्वासन पाएर पार्टीमा फर्किएको हुँ । 
रामसहाय यादवसँगको सहयात्राबारे बताइदिनोस् न ? 

 

– रामसहाय यादव र म ४० वर्षदेखि साथी हौँ । कक्षा चारदेखि एसएलसी र स्नातकसम्म सँगै पढ्यौं । उहाँ शिक्षण पेशातिर लाग्नुभयो । म राजनीतितिर । मेरो राजनीति सद्भावनाबाट शुरु भयो । मधेसी जनाधिकार फोरम स्थापना भएपछि उहाँ पनि जोडिएर त्यस यता निरन्तर सक्रिय हुनुहुन्छ । यो अवधिमा कसैसँग नमीठो बोलेको, कसैलाई बिझाएको मलार्ई थाहा छैन । उहाँ जतिको सज्जन आजको दिनसम्म अरुलाई देखेको छैन । 

रामसहायले झण्डै १३ हजार हाराहारी मत ल्याएर विजयी हुनुभयो, ११ हजार मतसहित तपाईं तेस्रो हुनुभयो । स्वतन्त्रहरूको बहार आएको समयमा तपाईंले नै किन हार्नु परेको ? 

– हामीले जहाँबाट निर्वाचन लडेका थियौं त्यहाँ बहुसंख्यक यादवहरूको बस्ती छ । र, त्यहाँ लड्ने ५ जना यादव, बाँकी गैर यादव थिए । मैले निर्वाचनमा ११ हजार ४३ मत प्राप्त गर्दा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहाले १३ हजार ४६८ र रामसहाय यादव १३ हजार ८२२ मत प्राप्त भयो । मैले मेहनत गरेर संगठन बनाएको ठाउँ हो त्यो । इमानकै राजनीति गरेका कारण मेरो जित पक्कापक्कीजस्तै थियो । तर त्यहाँ यस्तो हल्ला चल्यो कि रामसहाय यादव र रामकिशोर दुबै जना हार्दै छन् । यही हल्लाले यस्तो प्रभाव पा¥यो कि मेरा मतदाताहरू उतापट्टी लागे । म त स्वतन्त्र रूपमा उठेको, पार्टीको केन्द्रीय सदस्य मात्रै  । आज पनि यो क्षेत्रमा हाम्रा मतदाता २५ हजार कायमै छन् । 

 उपेन्द्र यादवलाई संघीय संसदमा ल्याउनकै लागि ‘गौ प्राणी’ का रूपमा चिनिएका रामसहायलाई उपराष्ट्रपति बनाइएको ठहरमा कत्तिको दम छ ? 

– संविधानमा स्पष्ट लेखिएकै छ– उपराष्ट्रपतिमा फरक लिंग वा फरक समुदायको व्यक्ति हुनुपर्छ भनेर । रामचन्द्र र रामसहाय फरक समुदायका व्यक्ति हुन्, यो कुनै लुकेको वा छिपेको तथ्य त होइन । संविधानमै किन मधेसी लेखियो ? मधेस प्रदेश किन राखियो ? राज्य संविधानले नै स्विकारेको हो मधेसी समुदाय । हामी तीन पटक पार्टी छाडेर बाहिर लाग्यौं, फेरि यही पार्टीमा फर्कियौं तर रामसहायजी अविचलित यसैमा सक्रिय हुनुहुन्छ । त्यसका अलावा अध्यक्षज्यूको विश्वासिलो मान्छे पनि । कम सिट भएको व्यक्तिलाई उपराष्ट्रपति दिनु गठबन्धनको इमान्दारी पनि हो । यसका लागि प्रचण्ड, देउवा, माधव नेपाललाई बधाई दिनुपर्छ । यसबीच दुई÷दुई पटकसम्म अगाडि बढाइएको नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता पठाइएको छ । नागरिकतादेखि कैयौं पेचिला मुद्दामा जुन ढंगबाट उपेन्द्र यादवजीले काम गर्न सक्नुहुन्छ त्यो त रामकिशोर यादवले गर्न सक्दैन । 

उसो भए उपनिर्वाचनमा तपाईं लड्नुहुन्न, अध्यक्षकै लागि मैदान खाली गरिदिनुहुन्छ, हैन त ? 

– अहिले उपेन्द्र यादवलाई सदनमा पु¥याउन जरुरी छ । यस्तो गठबन्धन छ कि दुई महिनामै भत्किने, बन्ने । सबै दलसँग मिलेर शान्ति, विकास, स्थायित्वका निम्ति लड्ने तागत हामीसँग कम छ । यसर्थ शीर्षस्थ नेताहरूसँग घनिष्ठ सम्बन्ध भएको, कानुनबारे बुझेको राष्ट्रियस्तरको नेता भएका कारण प्रचण्ड, देउवा, नेपालसँग बसेर वार्ता गरी निकास निकाल्न सक्ने बौद्धिक व्यक्तिको अहिले सदनलाई खाँचो छ । टिकट पाए र मौका मिले त म पनि लड्छु तर सदनलाई उहाँको खाँचो बढी छ । 

प्रतिनिधि सभामा पराजित भएसँगै उपेन्द्र यादवले शीर्षस्थ नेताहरूसँग दक्षिणको एउटा टोली लागेर मलाई हराई र सिके राउतलाई जिताइएको अभिव्यक्ति दिनुभएको थियो । फेरि त्यस्तै परिस्थिति सिर्जना नहोला र ? 

– किन दक्षिण र उत्तरलाई दोष दिने ? सिकेलाई मतदाताले दक्षिण वा उत्तर कताको प्रभावले मत दिए त्यतातिर जानका लागि मसँग प्रमाण छैन । अध्यक्षज्यूले त्यसरी बोल्नुभएको मैले सुनेको कुरा पनि होइन । अहिले बारा क्षेत्र नम्बर २ ले उपराष्ट्रपति र मधेस प्रदेशको मुख्यमन्त्री पाएको छ । यति ठूलो कुरा बारा जिल्लालाई दिनुभएको छ भने उहाँ पार्टीका नेता, अध्यक्ष नै सौभाग्यवश, मेरो जिल्लामा आउनुहुन्छ भने म जिताउन सक्दो मेहनत गर्नेछु । 

कतिपय विश्लेषक सिके पनि उपेन्द्र–राजेन्द्रहरूकै पदचाप पछ्याउँदै छ भन्दै छन्, कस्तो लाग्छ ? 

– कसैको विरुद्धमा कसैले नबोल्नका लागि अहिले राजतन्त्र छैन । एमाले अध्यक्ष केपी ओली मधेस झर्नु मात्र भएन सिके राउतको क्षेत्रमा जानुभयो । त्यहाँबाट एमालेले आफ्नो उम्मेदवारी दिएन । त्यही बेला हाम्रो गठबन्धन एमालेसँग हुन पुग्यो । सिकेको उदय जसरी भयो यो सबै त्यसैको प्रभाव हो । 

मधेसी दलहरूसँग तालमेल हुँदा तपाईंहरूले भरपुर लाभ उठाउनुभएको थियो । अहिलेभन्दा बढी सिट पनि ल्याउनुभएकै हो । एमालेसँगको तालमेल नफापेको हो, उसो हो भए ? 

– एमालेले दुई पटकसम्म नागरिकता विधेयकमा धोखा दियो । एमाले नेताहरूको संविधान निर्माणदेखिका अभिव्यक्ति, कार्यक्रम सदैव मधेस र मधेसीप्रति नकारात्मक छ । मधेसी दलको एउटै मोर्चा र गठबन्धन बनाएर लड्न सकेको भए परिणाम धेरै राम्रो आँउथ्यो । तर नेताहरूको एउटै मुद्दा, एउटै एजेण्डा हुँदा पनि गठबन्धन किन गर्दैनन् ? योचाहिँ बुझ्न नसकिएको विषय हो । मधेसीकै लागि राजनीति गर्नु छ फेरि एकले अर्काेलाई जातीय कुण्ठा, संकीर्णता पोख्दै एकअर्काेलाई सदैव गाली गरेर देश सुध्रन्छ र ? 

७० को चुनावमा राजकिशोरको पार्टीबाट लड्नुभयो । ०७४ मा राजपा हुँदै अहिले स्वतन्त्र रूपमा चुनाव उठेर पराजयपछि पुरानै पार्टीमा फर्कनुभयो । यसरी पार्टी परिवर्तन गरिँरहदा व्यक्तिगत जीवनमा कत्तिको असर पर्दाेरहेछ ? 

– ०६४ मा फोरमबाट रामबाबुले हार्नुभयो । मेरो भाइ सरोज यादव, जो अहिले मधेस प्रदेशको मुख्यमन्त्री छ, उसले जित्यो । त्यही अभियोगमा पार्टीले निश्कासन ग¥यो । खाएको विष लागेसम्म सहनुपर्छ, नखाएकै विष लाग्यो । ०६८ मा फोरम गणतान्त्रिक गठन गर्नुभयो जेपी गुप्ताले । उहाँ जेल पर्नुभएपछि राजकिशोर यादव अध्यक्ष बन्नुभयो । जेपीकै आग्रहमा म जिल्ला अध्यक्ष बनेँ । पछि राजकिशोरजीले तपाईंको प्रभाव राम्रो छ, चुनाव लड्नु भन्नुभयो । ७ हजार बढी मत ल्याएँ ०७४ सालमा क्षेत्र नम्बर २ बाट लड्नका लागि तयार थिएँ । त्यही बेला राजपा र संघीय समाजवादीको एकीकरण भएको थियो । स्थानीय तहको निर्वाचनमा झण्डै ४० हजार बढी मत पाइयो । महासचिव रामसहाय यादवले त्यही क्षेत्रबाट चुनाव लड्ने रहर गर्नुभयो । रामकिशोरलाई अन्यन्त्र दिए हुन्छ भनियो तर मलार्ई पठाउने भनिएको ठाउँबाट रामबाबुले टिकट पाउनुभयो र मलार्ई क्षेत्र नम्बर १ तिर पठाइयो त्यहाँ गठबन्धन थियो उमाकान्तजीले जित्नुभयो । जब राजपा र जसपा एक भयो । त्यसपछि फेरि उपेन्द्र यादवको नजिकमा आएँ । यही कारण पार्टी अदल बदल भएजस्तो देखिन्छ तर यसपटक मैले अध्यक्षज्यूलाई आफैँ बोलाएर मेरो क्षेत्रबाट निर्वाचन लड््नुहोस् भनिरहेको छु । काम गर्नुपर्छ, क्यारेक्टर राम्रो हुनुपर्छ । दल अदल बदल गरेर केही फरक पर्दैन । 
 

टिप्पणीहरू