मार्सी र रविका सांसदबीच मन्त्रीका लागि करोडौंको बार्गेनिङ भएको अडियो छताछुल्ल

सुशासनको पक्षमा चर्को वकालत गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक सांसदले मन्त्रीका लागि सभापति रवि लामिछानेलाई मोटो रकम बुझाउनुपर्ने अवस्था रहेको खुलासा गरेका छन् । 

सांसद ढाकाकुमार श्रेष्ठले मार्सी उपनामले चिनिने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ, जसमा उक्त रकम लामिछानेलाई बुझाउनुपर्ने बताइएको छ । 

समानुपातिक सांसद श्रेष्ठले स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्न पार्टीलाई दुई करोड बुझाउनुपर्ने भन्दै प्रसाईंसँग गरेको कुराकानीको अडियोमा सो रकम सभापति लामिछानेका मान्छेलाई बुझाउनुपर्ने बताएका छन् । रकम आफूले पाएर स्वास्थ्यमन्त्री भएपछि व्यवसायी प्रसाईंका पक्षमा काम गर्ने उनले वचनसमेत दिएका छन् । 

‘दुई तीनजना सुरुवाति क्षणबाटै रवि सरलाई सहयोग गर्नेहरु छन्, त्यो टिमबाट मलाई कुरा आएको छ, आज पैसा फिक्स गर्नुपर्छ उधारो हुँदैन भनेका छन् । साढे दुई करोड मागेका छन् तर, एक करोड दिए पनि मान्छन् होला’, अडियो कुराकानीमा सांसद श्रेष्ठले यसो भन्दै गर्दा मार्सीले सोध्छन् ’यो पैसा तपाईंले रविलाई नै त बुझाउनुपर्ने होला नि !’ 

जवाफमा सांसद श्रेष्ठले लामिछानेका मान्छेलाई दिनुपर्ने र सो पैसा पार्टीमा जाने बताउँछन् । ‘रवि सर देखा पर्नुभएको छैन, उहाँका मान्छेले मागेका हुन् । पार्टीलाई जान्छ भनेका छन् केरे’, उनले भनेका छन् । 

त्यसपछि मार्सीले दुई करोड दिने कन्फर्म गर्दै अडियोमा भनेको सुनिन्छ, ’ल ठिक छ मैले दुई करोड दिने ग्यारेन्टी गरें ,चिन्ता नगर्नु । उनीहरुसँग समय माग्नु ।’ 

मार्सीले पैसा बुझेपछि पनि मन्त्री नहुने हो कि भन्ने आशंका गरेपछि सांसद श्रेष्ठले त्यस्तो नहुने विश्वास दिलाएको पनि अडियोमा सुनिन्छ । ‘यसमा तोसिमा कार्कीले लडाईं त गर्दिनन् नि !’, मार्सीको प्रश्नमा सांसद श्रेष्ठ विश्वस्त पार्दै भन्छन्’ हैन गर्दिनन्, रवि सरले भनेपछि भइहाल्छ । तिनी मन्त्री भइन भने पनि काम छैन ।’ 

उक्त अडियोका विषयमा रास्वपाले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । सांसद श्रेष्ठसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।

टिप्पणीहरू