मेयर बालेनविरुद्ध अदालतमा मुद्दा

मेयर बालेनविरुद्ध अदालतमा मुद्दा

सिंहदबार, राष्ट्रपति कार्यालय शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर नउठाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको सार्वजनिक उद्घोषविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । 

अधिवक्ता पदमबहादुर श्रेष्ठले फोहोर उठाउन आदेश माग गर्दै आज सर्वोच्चमा रिट हालेका हुन् । सिंहदरबारभित्रको फोहोर नउठाएका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेकाले महानगर आफ्नो दायित्वबाट पन्छिन नमिल्ने रिटमा जिकिर गरिएको छ । 

महानगरपालिका र मेयर साहसमेतलाई विपक्षी बनाइएको रिटमा फोहोर धेरै समय थुप्रिँदा रोग र दुर्गन्ध फैलने भएकाले अन्तरिम आदेश जारीको माग गरिएको छ । स्थानीय सरकार र संघीय सरकारबीच समन्वय हुनुपर्ने तथा मिलेर काम गर्नुपर्ने रिटकर्ताको दाबी छ ।

सुकुम्बासी बस्ति हटाउन गृह मन्त्रालयले सहयोग नगरेकोमा रुष्ट भएका मेयर साहले केही दिनदेखि सिंहदरबार, शीतल निवास र बालुवाटारको फोहोर संकलन नगर्न निर्देशन दिएपछि फोहोर उठेको छैन । 

उनले नेताहरुलाई सिसडोलमा डम्पिङ नगरी काठमाडौँ सफा नहुने अराजक अभिव्यक्तिसमेत दिएका थिए । त्यसको प्रतिवाद गर्दै संघीय सरकारले उनलाई सचेत गराउने निर्णय गरेको थियो ।

टिप्पणीहरू