कर्फ्यु नै हो त कोरोनाको समाधान ?
संघीय राजधानी काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न भागमा कोरोना महामारी पुनः फैलन थालेपछि आवश्यक निर्णय गर्न सरकारले आज विज्ञहरूसँग छलफल गरेको छ । छलफलमा विज्ञहरूले पीसीआर परीक्षणको संख्या बढाएकोमा सरकारको राम्रो मूल्याङ्कन गरेको बताइएको छ । उनीहरूले संक्रमण फैलन नदिन थप कडाई गर्नुपर्ने सुझाव समेत दिएका छन् ।
कतिपयले थप तीन हप्तासम्म निषेधाज्ञा (कर्फ्यु) जारी गर्नुपर्ने,कसैले लकडाउन कडा बनाउनुपर्ने र कसैले राजधानी छिर्नेको मापदण्ड कडा बनाउनुपर्ने बताएका छन् । त्यसैगरी संक्रमण धेरै फैलिएका जिल्लालाई सिल गरेर जनजीवन सामान्य तुल्याउनुपर्ने सुझाव प्राप्त भएको बुझिएको छ । आजको छलफलमा प्रमुख प्रतिपक्षीलगायत कतिपय विपक्षी दलका नेताको समेत उपस्थिति थियो ।
स्रोतका अनुसार आज प्राप्त सुझावलाई स्वास्थ्य मन्त्रालयले लिपिबद्ध गरेपछि आवश्यक विश्लेषणसहितको प्रतिवेदन सीसीएमसीसमक्ष प्रस्तुत हुनेछ । सीसीएमसीको छलफल र सिफारिसपछि क्याबिनेट बैठकले आवश्यक निर्णय गर्ने भएकाले कम्तिमा यो साता लाग्ने बताइएको छ । सरकारले संक्रमण रोकथामको लागि लकडाउन र अन्य कडाईको माध्यमलाई मात्र रोज्नुभन्दा आमनागरिकले मास्क लगाउने,भीड नगर्ने लगायत थप जिम्मेवार भएर स्वास्थ्य सचेतना अपनाउनुपर्नेमा पनि जोड दिने बुझिएको छ ।
टिप्पणीहरू