श्रीमती मारेर भारत भाग्दै गरेका श्रीमान समातिए

श्रीमती मारेर भारत भाग्दै गरेका श्रीमान समातिए

पत्नीको हत्या गरेर भारततिर भागिरहेको अवस्थामा पति पक्राउ परेका छन् । दाङको घोराही उपमहानगरपालिका–१२, रतनपुरका ४१ वर्षीय मेघराज केसीलाई श्रीमती हत्याको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो ।  

केसीलाई अस्ति राति साढे ९ बजेतिर घोराही उपमहानगरपालिका–३, भवानपुरनजिकै लुकिछिपी हिँड्दै गरेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर ओलीले जानकारी दिए ।

पक्राउ केसीले नयाँ वर्षको पहिलो दिन राति करिब १० बजे आफ्नी ४० वर्षीया पत्नी शारदाकुमारी केसीको हत्या गरी घरनजिकै बारीमा लगेर पुरेका थिए । बुधबार दिउँसो १ बजेतिर केसीको घरअगाडि महिलाको लाश गाडेको अवस्थामा (खुट्टाको पैताला र अलिकति कपडा) देखिएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डिएसपी राजनकुमार गौतमसहित अनुसन्धान टोली खटेको थियो । घटनापछि उनी फरार थिए ।

सोधपुछका क्रममा केसीले पत्नीसँग विवाद हुँदा आफूले मुक्का र अन्य बस्तु प्रहार गरी हत्या गरेर बारीमा गाडेको स्वीकार गरेको प्रमुख एसपी ओलीले बताए ।

उनीमाथि दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू