सक्कली १ लाख तिरेर ७ लाख नक्कली रुपैयाँ किनेकी युवती पक्राउ

धनुषा जिल्ला प्रहरी कार्यालयले ७ लाख रुपैयाँभन्दा बढीको नक्कली नोटसहित पक्राउ परेकी युवतीलाई सार्वजनिक गरेको छ । 

७ लाख ७१ हजार ५ सय बराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका ६ की अनुकुमारी साह प्रहरी हिरासतमा पुगेकी हुन् । उनको साथबाट एक हजार दरको नक्कली नोट ४ सय ९२ थान र ५ सय दरको नक्कली नोट ५ सय ५९ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

जनकपुरधामस्थित जिरो माइल क्षेत्रमा खटिएको टोलीले २५ वर्षीया साहको झोला चेकजाँच गर्ने क्रममा ती नक्कली नोटहरु बरामद भएको हो । कालो रङको झोला बोकेर शंकास्पद तरिकाले हिँडडुल गरेपछि प्रहरीले जाँच गर्ने क्रममा युवती नक्कली नोटसहित पक्राउ परेकी हुन ।

उनको साथबाट नेपाली रुपैयाँ १० हजार ५ सय र भारतीय १ सय ६० समेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए । उनले बिक्रीको निम्ति नक्कली नोट ल्याएको प्रारम्भिक बयानको क्रममा उल्लेख गरेकी छन् । 

एक लाख नेपाली रुपैयाँमा सात लाख नक्कली नोट सटही गरेर  ल्याएको युवतीले जानकारी दिएकी छन् । तर, त्यसबारे विस्तृत जानकारी प्राप्त नभइसकेको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू