पोर्चुगलको नाममा १४ लाख ठगी

पोर्चुगलको नाममा १४ लाख ठगी

वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिने नाममा ठगी गर्दै आएका एकजना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा पारेर सर्वसाधारणलाई ठग्दै आएका कृतकबहादुर साउदलाई प्रहरीले पक्रेको नियन्त्रणमा लिएको बताइएको छ । 

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हिजो उनलाई काठमाडौंको सिनामंगलबाट नियन्त्रणमा लिएको हो । 

कैलाली घर भई हाल ललितपुरको महालक्ष्मी बस्दै आएका ४० वर्षीय उनले वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने प्रलोभनमा सर्वसाधारणलाई फसाएका थिए । 

मासिक दुई लाख रुपैयाँभन्दा बढी तलबको प्रलोभन देखाउँदै पीडितहरुबाट १३ लाख ९२ हजार उठाएपछि उनी सम्पर्कविहीन भएका हुन् ।

पीडितहरुले वैदेशिक रोजगार विभाग गुहारेपछि प्रहरीले खोजतलास अघि बढाएको हो । सोही क्रममा हिजो पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको निम्ति विभाग पठाइएको छ ।

टिप्पणीहरू