विदेश पठाइदिने नाममा लाखौँ ठगी, कुकर्ममा महिलाको संलग्नता बढ्दो

विदेश पठाइदिने नाममा लाखौँ ठगी, कुकर्ममा महिलाको संलग्नता बढ्दो

वैदेशिक रोजगारीमा पोर्चुगल र अष्ट्रेलिया पठाइदिने नाममा ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा सर्वसाधारणलाई ठगेका सयना श्रेष्ठ, दुर्गाबहादुर रेग्मी र कमला रेग्मी पक्राउ परेको प्रहरीले जनाएको छ । 

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आज उनीहरुलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको बताइएको छ । सुनसरीको धरान उपमहानगरपालिका घर भई हाल काठमाडौँको लाजिम्पाट बस्दै आएकी २५ वर्षीया सयनाले वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिने प्रलोभनमा सर्वसाधारणलाई फसाएको खुल्न आएको छ । 

अष्ट्रेलिया जान प्रतिव्यक्ति ३० लाख लाग्ने र मासिक तीन लाखभन्दा बढीको तलब हुने प्रलोभन दिइएको थियो । पीडितहरुबाट ३० लाख रुपैयाँ उठाएपछि उनी सम्पर्कविहीन भएकी थिइन् ।  यता गोरखा घर भएका र हाल ललितपुरको गोदावरी बस्ने ५१ वर्षीय दुर्गाबहादुर रेग्मी र ४५ वर्षीया कमला रेग्मीले पनि वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने प्रलोभनमा लाखौँ ठगेको प्रहरीले जनाएको छ । 

वैदेशिक रोजगारीका लागि पोर्चुगल जान प्रतिव्यक्ति १३ लाख लाग्ने र मासिक दुई लाखभन्दा बढी तलब हुने प्रलोभनमा पीडितहरुबाट पटक पटक गरी २१ लाख रुपैयाँ उठाएपछि उनीहरु पनि सम्पर्कविहीन भएका थिए ।

पीडितहरुले वैदेशिक रोजगार विभाग गुहारेपछि प्रहरीले खोजतलास अघि बढाएको हो । सोही क्रममा आज पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको निम्ति विभाग पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू