खुट्टी मडायन परियोजना : भ्रष्टाचारको अनुपम नमूना

खुट्टी मडायन परियोजना : भ्रष्टाचारको अनुपम नमूना

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बर्सेनी सार्वजनिक गर्ने प्रतिवेदनमा सिरहा जिल्ला भ्रष्टाचारमा अगाडि रहँदै आएको छ । जिल्लामा हुने खुल्लमखुल्ला भ्रष्टाचार नियन्त्रण गर्न सरोकारवाला निकायले खासै चासो नदिएपछि उक्त अवस्था आएको बताइन्छ । 

सोही क्रममा सिरहाको धनगढीमाई नगरपालिका १२ को खुट्टी मडायन सिँचाई आयोजना भ्रष्टाचारको ज्वलन्त उदाहरण बनेको स्थानीयको भनाइ छ । उनीहरुका अनुसार डिभिजनल सिँचाई कार्यालयले २०७३ मा ३ करोड ८५ लाख रुपैयाँमा ठेक्का लगाएको उक्त आयोजना सञ्चालनमा आएकै वर्ष बाढीले क्षतविक्षत बनाएको थियो । 

आयोजना सम्पन्न पार्ने ठेक्का र जिम्मेवारी रौता कन्ट्रक्सन, उदयपुरले लिएको थियो । उक्त आयोजनाबाट १ सय २० बिघा जग्गामा सिँचाई गर्ने लक्ष्य राखिएको छ ।

स्थानीय नागरिक अगुवा प्रल्हाद हमालले ठेकेदार र डिभिजनल सिँचाई कार्यालय, सिरहाका तत्कालिन डिई रामबाबु यादव, कार्यालयका साइट इञ्चार्जहरू रामएकवाल साह र दिपेन्द्र यादवको मिलोमतोमा कम गुणस्तरको निर्माणकार्य गरिएकाले  सञ्चालनमा आएकै वर्ष बाढीले बगाएको बताइन्छ । 

हमालले भने, ‘नापजाँच गर्दा उक्त सिँचाई आयोजनामा करिब ५० लाखको मात्र काम भएको देखिन्छ, तर ठेकेदार र सिँचाई डिभिजनल कार्यालयका कर्मचारीको मिलोमतोमा ३ करोड ८५ लाख रूपैयाँ निकासा गरेर ठाडै भ्रष्टाचार गरिएको छ ।’

 

टिप्पणीहरू