ललितपुरमा छापिएका नक्कली नोट राजधानीका पसलमा छ्याप्छ्याप्ती

ललितपुरमा छापिएका नक्कली नोट राजधानीका पसलमा छ्याप्छ्याप्ती

जाली नोट दिएर सामान किन्दा नक्कली धन्दा गर्नेहरु समातिएका छन् । ललितपुरको गोदावरी नगरपालिका–१३, झरूवाराशीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ । 

जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहका अनुसार पक्राउ पर्नेमा ओखलढुंगा सिद्धिचरण नगरपालिका–११ घर भई झरूवाराशी बस्ने ३६ वर्षीय जीवन भन्ने सुरेश तामाङ र कास्की मादी गाउँपालिका–१ का २१ वर्षीय भुपाल विक छन् । 

गत आइतबार किराना पसलमा सामान किन्न गएका जीवनले ५ किलो मैदा र दुई लिटर खाने तेल लिएपछि एक हजार रुपैयाँको नोट पसले दिनेश तिमल्सिनालाई दिएका थिए । तर, तिमल्सिनाले उक्त नोट जाली रहेको थाहा पाएपछि प्रहरीलाई तत्काल खबर गरे ।  

त्यसपछि खटिएको डिएसपीसहितको टोलीले जीवनलाई पक्राउ गरेको जनाइएको छ । प्रहरीले जीवनको साथबाट एक हजार, पाँच सय र एक सय दरका एक–एक वटा जाली नोट बरामद गरेको जानकारी दिएको छ । 

उनीमाथि जाली मुद्रासम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतबाट ५ दिन म्याद थपेर अनुसन्धान हुँदा भुपालको पनि संलग्नता खुलेको हो । त्यसैले उनलाई आज गोदावरी–११ बज्रबाराहीबाट प्रहरीले पक्राउ गरेको हो । उनीबाट पनि पाँच सय र एक सय दरका एक एक वटा जाली नोट फेला परेको प्रहरीको भनाई छ ।  
प्रहरीले भुपालको डेराबाट प्रिन्टरसहित थप एक हजार, पाँच सय र एक सय दरका नोट बनाउन फोटोकपी गरिएका कागजहरू पनि फेला पारेको छ । उनीमाथि पनि थप अनुसन्धान भइरहेको डिएसपी साहले बताए । उनीहरूले कहिलेदेखि यो काम गरिरहेका थिए भन्ने खुलिसकेको छैन ।

प्रहरीले नक्कली नोट बनाउँदै बजारमा पठाइएकाले थप नक्कली नोट सर्वसाधारणले अञ्जानमा प्रयोग गरिरहेको हुनसक्ने आशंका गरेको छ । केही दिनअघि प्रहरीले धनुषामा पनि ठूलो परिमाणमा नक्कली नोट फेला पारेको थियो ।

अस्ति ७ लाख ७१ हजार ५ सय बराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका ६ की अनुकुमारी साह प्रहरी हिरासतमा पुगेकी हुन् । उनको साथबाट एक हजार दरको नक्कली नोट ४ सय ९२ थान र ५ सय दरको नक्कली नोट ५ सय ५९ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको थियो । 

अनुले उक्त नक्कली नोट एक लाख रुपैयाँमा किनेर ल्याएको बताउनुले पनि बजारमा नक्कली नोटको बिगबिगी रहेको सहजै अनुमान गर्न सकिन्छ ।

टिप्पणीहरू