सशस्त्र प्रहरीको कब्जामा लाखौंका अवैध कपडा

सशस्त्र प्रहरीको कब्जामा लाखौंका अवैध कपडा

सशस्त्र प्रहरी बल नेपालले सुनसरीका विभिन्न स्थानमा भारतबाट ल्याइएका अवैध कपडा बरामद गरेको छ ।

भोक्राहा नरसिंह गाउँपालिका ८ स्थित सीमा इलाकाबाट हिजो ३ लाख ८ हजार ५ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको जनाइएको छ । साइकलमा राखेर ल्याउँदै गरिएको उक्त लत्ताकपडा सशस्त्रको बिओपी उल्टीले बरामद गरेको हो । सशस्त्र प्रहरीको टोली देख्ने बितिक्कै सामान छाडेर ती व्यक्ति भारततर्फ भागेको बताइएको छ ।

यस्तै देवानगञ्ज गाउँपालिका ६ स्थित राजगञ्ज सिनवारीबाट पनि हिजो सशस्त्रले १ लाख १६ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले मोटरसाइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरिएको उक्त सामान प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगञ्ज (बिओपी कप्तानगञ्ज) ले बरामद गरेको हो । त्यसक्रममा पनि मोटरसाइकल चालक सशस्त्र टोलीलाई देखेपछि कपडा छाडेर भागेका थिए । 

कोशी गाउँपालिका ८ स्थित पूर्व–पश्चिम राजमार्गबाट अस्ति २ लाख ३ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरिएको छ ।  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको यात्रुवाहक बसमा राखेर ल्याउँदै गरिएको सामानको बिल फेला नपरेपछि प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर (बिओपी हरिपुर) ले बरामद गरेको हो । बरामद गरिएका सबै सामान भन्सार कार्यालय सेतुबन्ध सुनसरीमा बुझाइएको छ ।

टिप्पणीहरू