आकर्षक वैदेशिक रोजगारीको प्रलोभनमा सर्वसाधारण ठगिने क्रम जारी, दुई जना पक्राउ

आकर्षक वैदेशिक रोजगारीको प्रलोभनमा सर्वसाधारण ठगिने क्रम जारी, दुई जना पक्राउ

वैदेशिक रोजगारीमा अष्ट्रेलिया र दुबई पठाइदिने नाममा ठग्दै आएका दुई युवक पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा सर्वसाधारणलाई ठग्दै आएका सञ्जय रेग्मी र मनबहादुर कुमाल प्रहरी नियन्त्रणमा पुगेका हुन् । 

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

चितवन घर भई हाल काठमाडौँको लाजिम्पाट बस्दै आएका २७ वर्षीय सञ्जय रेग्मीले वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिने भन्दै प्रतिव्यक्ति ३० लाख रुपैयाँ तोकेका थिए । मासिक तीन लाखभन्दा बढी तलब हुने प्रलोभनमा पीडितबाट पटक पटक गरेर ३० लाख रुपैयाँ उठाएपछि उनी सम्पर्कविहीन भएका थिए । 

सोही प्रलोभन देखाउँदै तनहुँ घर भई हाल काठमाडौँको सामाखुशी बस्दै आएका मनबहादुर कुमालले पनि साढे तीन लाख ठगेको खुल्न आएको छ ।

वैदेशिक रोजगारीको क्रममा दुबई पठाइदिने र त्यहाँ पुगेपछि सेक्युरिटी गार्डको काम लगाइदिने भन्दै पीडितबाट पटक पटक गरी साढे ३ लाख उठाएपछि कुमाल फरार भएको प्रहरीले जनाएको छ । पीडितहरुले वैदेशिक रोजगार विभाग गुहारेपछि प्रहरीले खोजतलास अघि बढाएको हो । 

सोही क्रममा आज पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको निम्ति विभाग पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू