काठमाडौंमा पक्राउ पुर्जी जारी गरिएका एमाले सचिव अर्घाखाँचीमा !

काठमाडौंमा पक्राउ पुर्जी जारी गरिएका एमाले सचिव अर्घाखाँचीमा !

सर्वसाधारण नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा मुछिएका तत्कालीन ऊर्जामन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतबाट जारी पुजीको आधारमा काठमाडौं प्रहरी परिसरले बाबुछोराविरुद्ध खोजी कार्य अघि बढाएको बताइएको छ । 

यसबीचमा एमाले उपाध्यक्ष तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोराविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । हिजो साँझ काठमाडौंबाट भैरहवा पुगेका रायमाझी अहिले अर्घाखाँचीमा रहेको जानकारी दिइएको छ ।

खोजीको क्रममा प्रहरीले रायमाझी अर्घाखाँचीको महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हीरक महोत्सव कार्यक्रममा सहभागी भइरहेको सूचना प्राप्त गरेको हो । यता, नक्कली शरणार्थी काण्डमा मुछिएकाहरुमध्ये तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई हिजो र तत्कालीन गृह मन्त्रालय तथा हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे आज बिहान पक्राउ परेका हुन् । 

हिजो राई पक्राउ परेपछि पाण्डे आफ्नो निवास छाडेर अन्यत्रै बसेको स्रोतको दाबी छ । सोही क्रममा कोटेश्वर नजिकैको जटिबुटीबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

टिप्पणीहरू