यसरी लिएकाे थियाे भारतीय समूहले नेपाली नागरिकता

यसरी लिएकाे थियाे भारतीय समूहले नेपाली नागरिकता

प्रहरीले झुठ्ठा विवरणको आधारमा नेपाली नागरिकता लिएको  एउटा भारतीय समूहलाई नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अवैध तवरले नेपाली नागरिकता लिएका १० जना भारतीयलाई पक्रेको छ ।

पक्राउ परेकामा बिहारका भरतप्रसाद गुप्ता, राहुल गुप्ता, ज्ञानमति देवी गुप्ता, गोपाल गुप्ता, रामसुन्दर गुप्ता, रामप्रवेश गुप्ता, भरत गुप्ता, स्नेहलता गुप्ता, मिनादेवी गुप्ता र राजेशकुमार गुप्ता हुन् ।

काठमाडौंमा बस्दै आएका उनीहरुले सिराहा, बारा, पर्सा, रुपन्देहीलगायत जिल्लाबाट नेपाली नागरिकता लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरुले जिल्ला प्रशासन कार्यालयको टोली स्थलगत रुपमा खटिएको मौकामा नेपाली नागरिकता बनाएको खुल्न आएको छ । 

नक्कली नागरिकता लिएपछि उनीहरुले निर्वाधसँग मतदानदेखि नेपालमा व्यापार व्यवसायसमेत गरेका हुन् । गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई शंखमुल, कलंकी, बागबजारलगायत विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो । 

भरतप्रसादले सिराहाको रामनगर मिर्चैया नगरपालिका वडा नम्बर २ बस्ने शंकरप्रसाद गुप्ताको छोरा उल्लेख गरेर नेपाली नागरिकता लिएका हुन् । त्यस्तै, राहुलले भरतप्रसादको छोरा र ज्ञानमतीले श्रीमती उल्लेख गरेर नागरिकता लिएको पाइएको छ । 

भरतले जन्मको आधारमा जिल्ला प्रशासन कार्यालय, बाराबाट नागरिकता लिएको देखिएको छ । स्नेहले भरतकी श्रीमती र रामेश्वरप्रसाद गुप्ताको छोरीको रुपमा वंशजको नागरिकता लिएको पाइएको छ । गोपालले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीबाट नागरिकता झिकेका हुन् । राजेशकुमारले बाराको जीतपुर नगरपालिका वडा नम्बर ३ बस्ने दिनेशप्रसाद गुप्ताको छोराको हैसियतमा नागरिकता लिएका छन् । 

त्यस्तै, मिनादेवीले वंशज, रामप्रवेश र रामसुन्दरले जन्मको आधारमा लिएको प्रहरीले बताएको छ । पक्राउ परेका सबै जनाको सन् २०२१ देखि हालसम्म पनि भारतीय मतदाता नामावलीमा विवरण अद्यावधिक भएको देखिन आएको छ ।

प्रहरीले अभियुक्तहरुको साथबाट सात थान नेपाली नागरिकता, पाँच थान मतदाता परिचय पत्र र नौ थान मोबाइल बरामद गरेको छ । बरामद भएका ती सामग्रीसहित उनीहरुलाई नागरिकता ऐन तथा लिखितसम्बन्धी कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकू पठाइएको छ ।

टिप्पणीहरू