शिक्षकले परीक्षा हलबाट निकालेपछि विद्यार्थीद्वारा आत्महत्या

शिक्षकले परीक्षा हलबाट निकालेपछि विद्यार्थीद्वारा आत्महत्या

चितवन मेडिकल कलेजमा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी छन् । बीडीएस चौथो वर्षमा अध्ययनरत छात्रा सिम्रन थापाले आफ्नै कोठामा प्राण त्यागेकी हुन् । 

कलेजमा आन्तरिक परीक्षा दिइरहेको बेला शिक्षकले परीक्षा हलबाट निकालेपछि मानसिक तनावमा परेकी उनले आत्महत्या गरेको बताइएको छ । 

आज विद्यार्थी संघर्ष समितिद्धारा जारी विज्ञप्तिमा शिक्षकले जबरजस्ती परीक्षा हलबाट निकालेर मानसिक तनाव दिएपछि सिम्रनले प्राण त्यागेको जनाइएको छ । 

साथै, तत्काल घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गर्दै समितिले पीडितले न्याय नपाएसम्म कलेजको सम्पूर्ण ओपीडी सेवा अनिश्चितकालको लागि बन्द गर्ने चेतावनी दिएको छ । 

‘चितवन मेडिकल कलेजमा बीडीएस चौथो वर्षकी विद्यार्थी सिम्रन थापाले आन्तरिक परीक्षा दिइरहेको बेला परीक्षा हलबाट सो परीक्षामा सम्मिलित शिक्षकले जबरजस्ती मानसिक तनाव दिई निकालेको र त्यसपश्चात् उनले आफ्नै कोठामा गई आत्महत्या गरेको हुँदा दोषीलाई छानबिन गरी कडाभन्दा कडा कारबाहीको माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, दोषीलाई कारबाही र पीडितले न्याय नपाएसम्म कलेजको सम्पूर्ण ओपीडी सेवा अनिश्चितकालको लागि बन्द रहेको जानकारी सबैमा सूचित गरिन्छ ।’
 

टिप्पणीहरू