घाटाको व्यापार गरिँदैन : नेपाल आयल निगम
अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य पछिल्लो समय २० दशमलव तीन प्रतिशतले घटेको छ । रुस–युक्रेन युद्धका कारण गत वर्ष अन्तर्राष्ट्रिय बजारमा ह्वात्तै बढेको कच्चा पेट्रोलियमको मूल्य यो वर्षको शुरुदेखि बिस्तारै ओरालो लाग्दैछ ।
कच्चा तेलको भाउ २०७८ चैत मसान्तसम्म प्रतिब्यारेल १०८.४९ अमेरिकी डलर रहेकोमा २०७९ चैतमा घटेर ८६.५१ अमेरिकी डलरमा झरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत एक वर्षमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा २० प्रतिशतले कमी आएको छ ।
विश्वबजारमा इन्धनको मूल्य घटेपछि इण्डियन आयल कर्पोरेसन (आइओसी) ले सोही आधारमा मूल्य समायोजन गरेर नेपाल आयल निगमलाई पठाउने गरेको छ । आइओसीले पटकपटक इन्धनको मूल्य घटाएर पठाइसकेको छ । तर, निगमले मूल्य घटाउने सोच हालसम्म बनाएको छैन ।
भारतबाट मूल्य बढेर आउनेबित्तिकै यहाँ पनि मूल्य बढाउन कस्सिने निगमले घटाउनतर्फ चासो नदेखाएपछि सर्वसाधारणहरुले गुनासो गर्न थालेका छन् । आईओसीले प्रशोधन खर्च र कच्चा तेलको मूल्यअनुसार नेपाललाई प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।
गत चैत १८ गते ओइओसीले नयाँ मूल्यसूची पठाएको थियो । निगमले चैत २० गते राति १२ बजेबाट लागु हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ, डिजेल र मट्टितेलमा १० रुपैयाँ, हवाई इन्धन (आन्तरिकतर्फ) १० रुपैयाँ घटाएको थियो ।
वैशाख १९ गते आईओसीले फेरि मूल्य घटाएर पठाएको थियो । नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ३७ पैसा, डिजेलमा प्रतिलिटर चार रुपैयाँ १६ पैसा, मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ ४८ पैसा, हवाई इन्धनमा दुई रुपैयाँ ९५ पैसा र ग्याँसमा प्रतिसिलिन्डर ३०९ रुपैयाँ ५१ पैसा रुपैयाँ घटेर आएको छ ।
तर, पेट्रोलियम पदार्थको मूल्यसूची आएको एक साता बितिसक्दा पनि निगमले मूल्य समायोजन गरेको छैन । निगम अझैपनि घाटामा रहेकाले मूल्य घटाउन सम्भव नभएको प्रवक्ता मनोजकुमार ठाकुरले बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा निगमले ४९ अर्ब रुपैयाँ घाटा खेप्नुपरेको थियो । सोही कारण मूल्य समायोजन गर्न नसकिएको उनको भनाइ छ ।
त्यस्तै, आइओसीको ६ अर्ब ४० करोड रुपैयाँ बक्यौता बाँकी रहेको र भारतीय कर्पोरेसनले त्यसको ब्याजसमेत जोडेकाले निगम थप मर्कामा परेको उनको गुनासो छ । सरकारसँग लिएको सात अर्ब ऋणमध्ये ७० करोड रुपैयाँ चुक्ता गरिसकेको उल्लेख गर्दै उनले भने, ‘अझै ६ अर्ब ३० करोड तिर्न बाँकी छ । मासिक ७ प्रतिशतका दरले ब्याज तिर्नुपर्छ । यस्तो अवस्थामा कसरी मूल्य समायोजन गर्ने ?’
आइओसीले अघिल्लो पटक पेट्रोलियम पदार्थमा मूल्य घटाएर पठाए पनि निगम घाटामा रहेकाले मूल्य घटाउन नसकिएको प्रवक्ता ठाकुरको जिकिर छ । पेट्रोल र डिजेलमा चार रुपैयाँका दरले घटेर आए पनि ग्यासमा प्रतिसिलिण्डर २२० रुपैयाँ घाटा रहेको निगमबाट सदाबहार जवाफ प्राप्त हुन्छ ।
‘अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा निगमले घटाएन भनेर सबैले प्रश्न गर्नुहुन्छ । तर, निगमले विश्वबजारअनुसार मूल्य लिने गरेको छैन । यसअघि कच्चा इन्धनको मूल्य कति धेरै बढेको थियो । तर पनि हामीले घाटा खाएर बेच्यौं । त्यतिबेला अन्तर्राष्ट्रिय बजारअनुसार इन्धनको मूल्य नतोकिएकोमा कसैले सोधेनन्’, उनले भने, ‘त्यही भएर हामीले धेरै घाटा व्यहोर्नुपर्यो । त्यतिबेला ऋण लिँदै इन्धन बेच्यौं । अहिले त्यही ऋणले हामीलाई थिचेको छ । आइओसी र सरकारलाई तिर्नुपर्ने बक्यौता बाँकी छ । त्यसैले मूल्य घटाउन सम्भव छैन ।’
विद्युतको खपत बढाउन निगमको आग्रह
प्रवक्ता ठाकुरले जतिसक्दो धेरै विद्युत खपत बढाउन आग्रह गरेका छन् । इन्धनमा भएको घाटाका कारण निगम शिथिल हुँदै गएकाले विद्युतलाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ । विद्युत खपत बढाउन पटकपटक आग्रह गरेपनि खासै प्रभाव पर्न नसकेको उनको भनाइ छ । उनका अनुसार यसबीचमा डिजेल र पेट्रोलको खपत १० र ११ प्रतिशतले घटेको छ । निर्माणका कार्य बढेपछि उक्त खपत पुनः बढ्ने उनको ठहर छ ।
‘बजारमा आर्थिक मन्दी भएकाले अहिले पेट्रोलियम पदार्थको खपत केही हदसम्म भए पनि घटेको छ । बजेट आउन लागेको छ । विकासको काम शुरु भएसँगै फेरि बढ्छ । ग्यासको प्रयोग खासै घटेको छैन’, उनले भने, ‘विद्युत आफ्नै मुलुकमा उत्पादन हुने भएकाले सबैले त्यही उपयोग गरिदिनुभयो भने घाटा कम हुन्छ । अब हामीले घाटा खाएर पेट्रोलियम पदार्थ बेच्न सक्ने अवस्था छैन । मुनाफा कमाउनुपर्ने व्यापारिक कम्पनी घाटामा चुर्लुम्मै डुबेको छ ।’
टिप्पणीहरू